खेल


रुकुम पश्चिम र पुलिस बने एनभीए लिग च्याम्पियन

रुकुम पश्चिम र पुलिस बने एनभीए लिग च्याम्पियन

नेपालखबर
बैशाख १९, २०८३ शनिबार २१:९, काठमाडौँ

रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दशौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभीए लिगमा च्याम्पियन बनेका छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा रुकुम पश्चिम पुरुषतर्फ र पुलिस महिलातर्फ च्याम्पियन भएका हुन्। महिलामा नेपाल पुलिसले न्यु डायमन्ड क्लबमाथि ३-१ को सेटमा रोमाञ्चक जितसँगै उपाधि उचाल्यो। 

त्यस्तै, पुरुषतर्फ फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा हरायो। पुलिस र रुकुम पश्चिम दुवैले लिग चरणमा बेहोरेको हारको बदला लिएका हुन्। 

लिगको अन्तिम खेलमा शुक्रबार न्यु डायमन्डले पुलिसमाथि ३-२ को सेटमा जितसँगै अपराजित हुँदै उपाधि भिडन्त गरेको थियो। रुकुम पश्चिम भने लिगमा हेल्प नेपालसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। 

महिलाको फाइनलमा मिडल ब्लक सुमित्रा रेग्मी र ओपन स्पाइकर जेनिसा विश्वकर्मा पनि चल्न सकेनन्। रिसिभ पनि राम्रो गर्न नसक्दा च्याम्पियन भएर काभा महिला क्लब च्याम्पियनसिप खेल्ने न्यु डायमन्डको लक्ष्य पूरा भएन। 

च्याम्पियन पुलिसले तेस्रो पल्ट च्याम्पियन हुने लक्ष्यसहित काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट भएको छ। पुनम चन्दको स्थानमा अवसर पाएकी लक्ष्मी चन्दले उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले सफलता पायो। रिसिभमा पनि धेरै सुधार गरेपछि पुलिसले न्यु डायमन्डमाथि बदला लियो। पुलिसले पहिलो सेट २५-२१ ले आफ्नो बनायो। तर न्यु डायमण्डले दोस्रो सेट २५-१६ ले जित्दै पुनरागमन गरेको थियो। 

तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो। यो सेट अन्तत् पुलिसले २५-२३ ले जित्दै फेरि अग्रता लियो। चौथो सेटमा १८-१८ स्थितिसम्म पुलिसले चुनौती दियो। तर, न्यु डायमन्ड समालिन सकेन र यो सेट २५-१९ ले गुमाउँदै उपाधिबाट पनि वञ्चित भयो। पुलिस चौथो पल्ट च्याम्पियन भएको हो।

पुरुषतर्फको फाइनल पनि रोमाञ्चक बन्यो। रुकुम पश्चिम र हेल्प नेपाल दुवैले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेका थिए। लिगमा रुकुम पश्चिमले राम्रो गर्न सकेन। तर फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो र पहिलोपल्ट च्याम्पियन पनि भयो। रुकुम पश्चिम भलिबल केन्द्रले हेल्प नेपाल स्पोर्टस् क्लबलाई पहिलो सेट २९-२७, दोस्रो सेट २५-२१ र तेस्रो सेट ३२-३० को रोमाञ्चक रूपमा हरायो।

महिलामा विजेता पुलिसले र पुरुषमा विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गरे। महिलामा उपविजेता न्यु डायमन्ड र पुरुषमा उपविजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समान पाँच लाख रुपैयाँ पाए। 

एभरेस्ट महिला भलिबल क्लब र पुरुषमा नेपाल पुलिस क्लब तेस्रो भए। दुवैले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे।

नेपाल भलिबल संघ (एनभीए) को आयोजना भएको एनभीए लिगमा महिलातर्फ ६ र पुरुषतर्फ आठ टोलीले प्रतिष्पर्धा गरेका थिए। गत पुसमा सम्पन्न एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले यस लिगमा प्रतिस्पर्धा गरेका हुन्। 

पुरुषतर्फ हेल्प नेपाल, आर्मी क्लब, लुम्बिनीको खिल्जीसँगै नेपाल पुलिस क्लब, एपीएफ, पश्चिम रुकुम भलिबल टिम, कोसी प्रदेश र बुढानीलकण्ठले प्रतिस्पर्धा गरेका थिए। महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, पुलिस, एपीएफ, सुदूरपश्चिम प्रदेश, एभरेस्ट र आर्मी क्लबको प्रतिष्पर्धा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad