आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा मंगलबार नेपाल र ओमान भिड्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
घरेलु मैदानमा जारी संयुक्त अरब एमिरेट्स (यूएई) र ओमानसम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले अन्तिम खेलमा जित निकाल्दै ६ अंक जोड्ने प्रयासमा छ। जारी सिरिजमा नेपालले ४ अंक बटुलेको छ।
अन्तिम खेलमा ओमानलाई हराउँदै नेपाली टोली २ अंक जोड्न चाहन्छ।
जारी सिरिजमा शीर्षक्रमका ब्याटर क्रिजमा संघर्ष गरिरहँदा नेपालले यूएईसँगको दोस्रो खेलमा भने चार खेलाडी परिवर्तन गरेको थियो। मुख्य प्रशिक्षक स्टुआर्ट लले ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई बेन्चमा राख्दै विनोद भण्डारी र अर्जुन कुमाललाई मौका दिएका थिए। ओपनर विनोद र अर्जुनले आफ्नो भुमिकालाई न्याय दिए।
सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको थियो भने पहिलो खेलमा युएईमाथि डीएलएस मेथडमा ६ रनको जित निकालेको थियो।
दोस्रो खेलमा भने यूएईलाई ३७ रनले हराएको थियो। जारी सिरिजमा नेपालले २ खेलमा जित र एक खेलमा हार भोगेको छ। नेपालले सिरिजमा यूएईलाई २ खेलमा पराजित गर्दै अंक तालिकामा चार अंक जोडेको छ।
सिरिजमा घरेलु टोली नेपाललाई हराएको ओमान भने यूएईसँग दुई खेलमा पराजित भएको थियो।
नेपाललाई एक खेलमा हराएको ओमानले २ अंक बनाएको छ। यूएईले भने जारी सिरिजमा ४ अंक जोड्दै नेपाल यात्रा सकाएको छ।
ओमान भने यूएईसँग पहिलो खेलमा ५४ तथा दोस्रो खेलमा २५ रनले पराजित भएको थियो।

एक दिवसीय वरीयता जोगाउने चुनौती
नेपाली टोलीलाई एक दिवसीय वरीयता जोगाउन लिग–२ को शीर्ष ६ मा रहनुपर्ने हुन्छ। अहिले नेपाली टोलीमाथि शीर्ष ६ मा रहेर वरीयता जोगाउनुपर्ने कठिन चुनौती छ।
त्यसो त यसअघि पनि नेपाली टोली वरीयता जोगाउनका लागि लिग–२ को अन्तिम खेलहरुमा रोमाञ्चक प्रदर्शन गर्दै वरीयता जोगाएको थियो। यो पटक पनि नेपाली टोलीसामु त्यही चुनौती छ।
अंक तालिकामा नेपाली टोली १६ अंकमा सातौँ स्थानमा छ। २३ खेलबाट ७ खेलमा जित र १४ खेलमा हार भोगेको नेपाली टोलीले दुई खेलमा भने अंक बाँडेको छ। नेपालभन्दा एक खेल बढी खेलेको यूएई १४ अंकमा तालिकाको पुछारमा छ।
२७ खेलबाट १४ खेलमा जित र १० खेलमा हार भोगेको ओमान भने ३१ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया