आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सन झाले ५ विकेट लिए।
एक दिवसीय क्रिकेटमा शानदार प्रदर्शन गर्दा गुल्सनले लिएको ५ विकेटको कीर्तिमान ओमानविरुद्ध नै रह्यो। ओमानविरुद्ध गुल्सनले ५ विकेट लिएको खेलमा नेपालले एक खेलमा हार भोग्दा एक खेलमा भने जित दर्ता गरेको छ।
घरेलु मैदानमा भएको युएई सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा गुल्सन झाले ५ विकेट आफ्नो नाममा गरे। सिरिजको अन्तिम खेलमा ओमानलाई १ रनले हराउँदा गुल्सनले शानदार प्रदर्शन गरे।
ब्याटिङतर्फ २३ बलमा २ चौका सहयोगमा १७ रन बनाएका गुल्सन आर्यन विष्टको बलमा एलबीडब्लु धरापमा गरे।
बलिङतर्फ गुल्सनको उत्कृष्ट प्रर्दशनमा नेपालले ओमानलाई हराउँदै पहिलो खेलमा भोगेको हारको बदला समेत लियो। बलिङमा गुल्सनले ९ ओभरमा ३ रन खर्चेर ५ विकेट आफ्नो नाममा गरे। उनको इकोनोमी ३.३९ रह्यो।

ओमानविरुद्ध नै पाँच विकेट लिएपछि गुल्सन जसले प्रदर्शन गरे पनि जित टोलीको हुनुपर्ने बताउँछन्।
‘खुसी लागेको छ, टिमको लागि योगदान दिन पाएँ’, यसअघि उतारचढावपूर्ण प्रदर्शन गर्दै आएका गुल्सनले भने, ‘विश्वकप आएपछि घुँडामा केही समस्या देखिएको थियो। पीएम कपमा आराम लिएर रिकभरीका लागि काम गरेको थिएँ।’
ओमान र युएईसम्मिलित सिरिजमा नेपालले तीन खेलमा जित र एक खेलमा हार भोग्दै ६ अंक जोड्न सफल भयो। सिरिजमा चार खेल नै जित्ने योजना भएपनि ओमानविरुद्धको पहिलो खेल राम्रो हुन नसकेको गुल्सन सुनाउँछन्।
सिरिजका चारमध्ये तीन खेलमा प्लेइङ ११ मा स्थान बनाएका गुल्सन युएईविरुद्धको पहिलो खेलमा बेन्चमा थिए। सो खेल नेपालले ३७ रनले जितेको थियो।
‘टोलीमा पर्दा ब्याटिङ, बलिङ र फिल्डिङ जुन भुमिकामा हुन्छु त्यसलाई न्याय दिने प्रयास गरिरहेको हुन्छु’, उनी भन्छन्।
यसअघि सन् २०२४ मा क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा गुल्सनले ५ विकेट लिएका थिए। गुल्सनले अर्धशतकसहित ५ विकेट लिएको सो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो।
सो खेलमा गुल्सनले ब्याटिङतर्फ ३५ बलमा ३ चौका र ५ छक्का सहयोगमा ५३ रनको योगदान दिएका थिए। बलिङतर्फ १० ओभरमा २ मेडन राख्दै ४७ रन दिएर उनले ५ विकेट लिएका थिए। उनको इकोनोमी ४.७० थियो।

नेपाली क्रिकेटमा गुल्सनलाई संकटमोचकको रुपमा मान्ने गरिन्छ। घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने गुल्सन नेपाली टोलीको संकटपूर्ण यात्रामा विपक्षीमाथि हावी हुने गरेका छन्। त्यसैले नेपालले संकटपुर्ण यात्रा गर्दा गुल्सनको प्रर्दशनको चर्चा स्वाभाविक रुपमा हुने गर्छ।
नेपालले अर्को सातादेखि घरेलु मैदानमा स्कटल्यान्ड र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दैछ। सो सिरजमा पनि नेपाली टोलीको आँखा ८ अंकमा छ। ८ अंक नसके तालिकामा ६ अंक जोड्ने रणनितिमा नेपाली टोली रहेको छ।
गुल्सन भन्छन्, ‘आउने सिरिज एकदम महत्वपुर्ण छ। घरेलु मैदानमा राम्रो गर्ने रणनीति छ, चारमा चार नसके तीन खेल जित्ने हो।’
Shares

प्रतिक्रिया