खेल


नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

लक्ष्मी जि.सी
बैशाख २९, २०८३ मंगलबार १८:३, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा स्कटल्यान्डसँग पहिलो हार बेहोरेको छ। 

मंगलबार भएको लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाली टोली स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको हो। नेपालले घरेलु मैदानमा स्कटल्यान्डसँग पहिलो हार भोगेको हो। 

स्कटल्यान्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरे पनि वर्षाले खेल प्रभावित हुँदा नेपालले २२१ रनको नयाँ लक्ष्य पाएको थियो। नेपालले दोस्रो इनिङ्समा ब्याटिङ सुरु गर्नुअघि नै पानी परेपछि खेलमा ११ ओभर घटाइएको थियो। ११ ओभर घट्दा नेपालले ३९ ओभरमा २२१ रन बनाउनुपर्ने थियो। 

नेपालले ३९ ओभरमा सात विकेट गुमाएर २१८ रन बनाएको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले अर्धशतक प्रहार गरे। 

गुल्सनले सर्वाधिक ६१ रन बनाए। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। 

त्यस्तै, दीपेन्द्रले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतले ५५ रन बनाए। उनले ४३ बलमा ५ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। ओडीआईमा दीपेन्द्रको यो आठौँ अर्धशतक हो। 

कप्तान रोहित पौडेलले ३२ रन बनाए। ओपनर आशिफ शेखले २१, करण केसीले १८, विनोद भण्डारीले १० र आरिफ शेखले ३ रन बनाउँदा अर्जुन कुमाल शून्यमा नै पेभेलियन फर्के। 

स्कटल्यान्डका लागि ब्राड करी र मार्क वाटले समान दुई विकेट लिए। ओलिभर डेविटसन र ज्याक जार्भिसले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए। उनले आफ्नो स्पेलमा एक मेडन राख्दै ४१ रन खर्चिए।

नन्दन यादवले अन्तिम ओभरमा दुई विकेट झारे। उनले आठ ओभरमा ३३ रन खर्चिए। करण केसीले ८ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए। 

स्कटल्यान्डविरुद्ध घातक बलिङ गरेका सन्दीपले ओपनर जर्ज मुन्सेलाई ७५ रनमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच आउट गराए। ६२ बलमा १२ चौका र २ छक्का हानेका जर्जलाई २०.३ ओभरमा पेभेलियनको बाटो देखाए। 

सोही ओभरको अन्तिम बलमा अर्का ओपनर फिन्ले म्याकक्रेथ ३५ रन बनाउँदा सन्दीपकै बलमा एलबीडब्लू धरापमा परे। 

ब्रान्डोन म्यकमुलेन सात रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। कप्तान रिची बेरिङटोन पाँच रनमा सन्दीपकै बलमा एलबीडब्लू आउट भए। 

मार्क वाट २४ रन बनाउँदा करण केसीको बलमा विकेट किपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। म्याथु क्रसले १८ रन बनाउँदा करणकै बलमा आशिफ शेखको बलमा क्याच आउट भए। 

माइकल लिस्क २९ रन बनाउँदा नन्दन यादवको बलमा बोल्ड आउट भए। ज्याक जार्भिस शून्यै आउट भए। माइकल इलिंस ३४ रनमा अविजित रहे।

सिरिजको दोस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार स्कटल्यान्ड र अमेरिका खेल्नेछन्। 

कस्तो छ अंक तालिका? 

लिग–२ अन्तर्गत घरेलु मैदानमा अन्तिम सिरिज खेलिरहेको नेपाली टोलीलाई अंक तालिका सुधारमा लागि उत्कृष्ट मौका भए पनि त्यसलाई सुधार गर्न सकेन। स्कटल्यान्डसँग पराजित भएपछि नेपालले तालिकामा २० अंक बनाउने मौका गुमायो।

नेपालले २५ खेलमा आठ खेलमा जित, १५ खेलमा हार र दुई खेलमा अंक बाँड्दै १८ अंकमा तालिकाको सातौँ स्थानमा यथावत छ। 

एक दिवसीय वरीयता कायम राख्न नेपाललाई शीर्ष ६ मा रहन आवश्यक छ। त्यस्तै, शीर्ष चारमा पुग्न सके नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ। 

घरेलु मैदानमा नेपाललाई पराजित गरेपछि स्कटल्यान्ड पनि अंक तालिकाको दोस्रो स्थानमा यथावत छ। स्कटल्यान्ड र अमेरिकाको समान ३६ अंक छ। तर स्कटल्यान्डले अमेरिकाले भन्दा पाँच खेल बढी खेलेको छ। 

२९ खेलबाट स्कटल्यान्डले १५ खेलमा जित निकाल्दै ३६ अंक बनाएको छ। २४ खेलबाट ३६ अंक भएको अमेरिका भने नेट रनरेटमा अघि रहँदै तालिकाको शीर्ष स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad