खेल


त्रिवि क्रिकेट मैदानको सम्झौता नवीकरण प्रक्रिया अघि बढ्यो

राखेपको पत्रपछि शिक्षा मन्त्रालयसँग छलफल गरिँदै
त्रिवि क्रिकेट मैदानको सम्झौता नवीकरण प्रक्रिया अघि बढ्यो

लक्ष्मी जि.सी
बैशाख ३०, २०८३ बुधबार १७:३४, काठमाडौँ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढेको छ।

खेलकुद मन्त्रालयले त्रिवि मैदानको सम्झौता नवीकरणका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएको हो। 

मैदानको सम्झौता नवीकरणको विषय नेपाल क्रिकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालयको रहेकाले यो प्रक्रियामा नै रहेको खेलकुद मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठले नेपालखबरलाई जानकारी दिइन्। 

श्रेष्ठले भनिन्, ‘मैदानको सम्झौता नवीकरणका लागि निवेदन आएको छ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट पत्र आएकाले अहिले छलफलको चरणमा छ। १,२ दिन भयो राखेपबाट पत्र आएको। यसबारेमा शिक्षा मन्त्रालयसँग छलफल गरेर अघि बढ्नुपर्छ।’ 

टीयू मैदानको सम्झौता वैशाख मसान्तसम्म मात्र छ। यसअघि क्यान र टीयूबीच मात्र सम्झौता हुँदै आए पनि अब राखेपमार्फत क्यानले सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढाएको हो।

सम्झौता नवीकरणका लागि क्यान, राखेप, शिक्षा र खेलकुद मन्त्रालयमार्फत त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नवीकरण गर्ने तयारी भइरहेको छ। 

यद्यपि यसबारेमा औपचारिक निर्णय हुन भने बाँकी छ। मन्त्रालयका अनुसार प्राप्त निवेदनका आधारमा छलफल अघि बढाएर निर्णय गर्ने तयारी भइरहेको छ। टीयू क्रिकेट मैदान सम्झौता नवीकरणको विषय आपसी सहमतिमा अघि बढाउने कि मन्त्रीस्तरीय निर्णय गरेर अघि बढ्ने भन्ने योजनामा खेलकुद मन्त्रालय छ। 

सम्झौता सकिने समय केही दिन मात्र बाँकी हुँदा त्रिभुवन विश्वविद्यालय भने नवीकरण नगर्ने पक्षमा देखिँदै आएको छ। कीर्तिपुर मैदानमा खेल हुँदा पढाइमा बाधा पुगेको भन्दै विश्वविद्यालयले सुरुमा सम्झौता नवीकरणको पूरै विपक्षमा देखिएको थियो।

तत्कालीन खेलकुदमन्त्री विराजभक्त श्रेष्ठकै पालामा सम्झौता नवीकरणको प्रक्रिया अघि बढाइएको थियो। तर पछिल्लो समय विश्वविद्यालय यसमा केही नरम बनेको छ। 

सम्झौता नवीकरणका लागि युवा तथा खेलकुद मन्त्रालयले २०८१ सालमा नै प्रक्रिया अघि बढाएको थियो। त्रिवि क्रिकेट मैदान लिज (भाडा) का लागि क्यानसँग विश्वविद्यालयसँग सिधै सम्झौता गर्न नमिल्ने भएकाले सरकारले सम्झौता गरेर क्यानलाई दिँदै आएको छ।

त्रिवि क्रिकेट मैदानका लागि वि.सं. २०५९ वैशाख १ देखि २०८३ को वैशाखसम्मका लागि सम्झौता भएको थियो। सम्झौतामा दुई पक्षबीच पाँच वर्षमा भाडा वृद्धि गर्ने उल्लेख भए पनि सम्झौताअनुसार काम हुन सकेन।

सुरुवातको ३ वर्ष क्यानले वार्षिक ३ लाख रुपैयाँ भाडा दिँदै आएको थियो। तर तेस्रो वर्षपछि भने क्यानले वार्षिक ९ लाख रुपैयाँ भाडा त्रिविलाई दिँदै आएको छ।

मैदानमा पहिलो चरणको काम सम्पन्न हुँदा १० हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान भइसकेको छ।

सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँको बजेट समेत सुनिश्चित गरिसकेको छ। आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सक्ने लक्ष्यमा सहरी विकास मन्त्रालय रहेको छ। 

सम्झौता नवीकरणको प्रक्रिया अघि बढ्न नसक्दा दोस्रो चरणको काम अन्यौलमा छ। 

क्यानले टीयू मैदान उपभोग गरिरहँदा रंगशालाको नाममा ७६ रोपनी ४ आना ३ दाम जग्गा मिचेको छ। टीयूले सो जमिन फिर्ता गर्न क्यानलाई केही दिनअघि पत्र काटिसकेको छ। 

टीयू मैदानको जग्गा फिर्ता मागेपछि सामाजिक सञ्जालमा त्रिविको विरोध भएको थियो। चौतर्फी विरोधपछि टीयूले सम्झौता नवीकरण गर्न सकिने बताएको हो।

यो पनि–

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad