अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको निलम्बन निःशर्त फिर्ता भएपछि नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय निलम्बनको खतरा हटेको छ।
निलम्बन फुकुवापछि काठमाडौंमा उपलब्ध सदस्यहरुबीच अबको रोडम्यापको विषयमा एन्फाले छलफल समेत गरिसकेको छ।
नेपालमा राखेपको नियम माने पनि अन्तर्राष्ट्रियमा फिफा र एएफसीको नियम मान्नुपर्ने हुन्छ। अहिले कतिपय अवस्थामा फिफा, एएफसी र राखेपको नियम बाझिने भएकाले त्यसमा पनि छलफल गरेर अघि बढ्ने तयारी एन्फाले गरेको छ।
एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘अब नेपाली फुटबलसँग सरोकार राख्ने सबै पक्षसँग छलफल गरेर अघि बढ्ने तयारी भएको छ। निलम्बन फुकुवापछि हाम्रो पहिलो प्राथमिकता भनेको आउदै गरेको साफ महिला च्याम्पियनसिप र युथ कार्यक्रमहरु हो। त्यसमा ध्यान दिन्छौँ। आवश्यक परेको अवस्थामा राखेप, एन्फा, फिफा र एएफसीबीच छलफल गछौँ। छलफलबाट सहमतिमा जे आउँछ सोही अनुसार गछौँ।’
निलम्बन फुकुवाका लागि एन्फाले राखेपमा निवेदन दिएको थियो। यस्तै विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फामाथिको निलम्बन फुकुवा गर्न वैशाख २१ गतेसम्मको समय तोकेका थिए।
राखेपले निःशर्त फुकुवा गर्यो एन्फामाथिको निलम्बन
एन्फाले दिएको निवेदनअनु्सार छलफल गरेर मन्त्रीस्तरिय निर्णय गरेर एन्फामाथिको निलम्बन फुकुवा गरेको राखेप प्रवक्ता खुसराज दाहालले जानकारी दिए।
गत चैत ११ गते राखेपको निर्देशनविपरीत निर्वाचन गर्न लागेको भन्दै एन्फाको कार्यसमितिलाई ३ महिनाका लागि निलम्बन गरेको थियो।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा २ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको थियो। राखेपले तहगत निर्वाचन गरेर मात्र केन्द्रिय समितिको निर्वाचन गर्न दिएको निर्देशन बेवास्ता गर्दै एन्फाले चैत १३ गते झापामा चुनावी साधारणसभा बोलाएको थियो। तर त्यसअघि नै राखेपले निलम्बन गरेपछि एन्फाले निर्वाचन स्थगित गरेको थियो।
Shares

प्रतिक्रिया