मलेसियासँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सहजै एसियन गेम्समा सहभागी हुनै पहिलो मौका गुमाएको छ।
शनिबार एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग दुई विकेटले पराजित भएपछि नेपाली टोलीले फाइनल पुग्दै एसियाली खेलकुदमा स्थान बनाउने मौका गुमाएको हो। नेपालले अब एसियाली खेलकुदमा स्थान बनाउन तेस्रो हुनुपर्नेछ।
प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै मलेसिया र थाइल्यान्ड एसियन गेम्सका लागि छनोट भइसकेका छन्। नेपालले अब तेस्रो स्थानका लागि आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ। एसियन गेम्समा सहभागी हुन नेपालले यो खेल जित्नैपर्ने हुन्छ।
आजै भएको पहिलो सेमिफाइनलमा चीन थाइल्यान्डसँग ८३ रनले पराजित भएको थियो। यसअघि समूह चरणमा भएको भेटमा नेपालले चीनलाई १९ रनले हराएको थियो।
शनिबार नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले आठ बल अगावै आठ विकेटको क्षतिमा भेट्टायो। नेपालकी रिया शर्माले तीन विकेट लिइन्। मनिषा उपाध्याय र रुविना क्षेत्रीले समान दुई तथा सिता राना मगरले एक विकेट लिइन्।
त्यसअघि बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनको योगफल तयार पारेको थियो। नेपालकी कप्तान इन्दु बर्मा ४६ रनमा अविजित रहिन्। कविता कुवँरले ३३ रन बनाइन्। रुवि पोडारले १७ र पूजा महतोले १५ रन बनाए।
Shares

प्रतिक्रिया