फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग जितेपछि समर्थकले उत्सव मनाउने क्रममा प्रहरीसँग झमेला भएको छ।
फाइनलमा इंग्लिस प्रिमियर लिग क्लब आर्सनललाई टाइब्रेकरमा हराएपछि हजारौँ समर्थकले उत्सव मनाउने क्रममा झडप भएको बीबीसीले जनाएको छ।
सो क्रममा फ्रान्समा ४०० बढी समर्थक प्रहरीको नियन्त्रणमा परेको बताइएको छ।
उत्सव मनाउने क्रममा भीडले पटाकाजन्य सामान्य विस्फोटक पदार्थहरुको अत्यधिक प्रयोग गरेपछि हजारौँ प्रहरी परिचालन गरिएको थियो। पहिले नै तयारी गरेर उत्तेजित भीडले उत्सव मनाउने क्रममा धेरै प्रहरी अधिकृतहरु समेत घाइते भएका छन्।
गत वर्ष पनि पीएसजीले जित्दा यस्तै हुलदंगा भएको थियो। यसपालि नै सोही घटना दोहोरिनसक्ने आकलनसहित प्रहरीले तयारी गरेको फ्रान्सेली गृहमन्त्री लाउरेन्ट नुनेजले बताए।

समर्थकहरुले पीएसजीको पेनाल्टी सुटआउटपछि जितलगत्तै पेरिसकै चर्चित च्याम्प्स–एलिसीलाई घेरिसकेका थिए। भीड अनियन्त्रित हुँदै सडकमा सवारीका साधनहरुमा आगजनी समेत भएको थियो भने पसलका सिसाहरु फुटाइएका थिए।
खेलअघि नै पीएसजीको पार्क दिस प्रिन्सेजको ठूलो स्क्रिनमा खेल हेर्न आउने समर्थक र प्रहरीबीच केही स्थानमा झडप भइसकेको थियो।
फ्रान्स प्रहरीका अनुसार ६ सवारीसाधन, दुईवटा व्यवसाय र एउटा बस शेल्टरमा क्षति पुगेको छ। सो क्रममा ४१६ जनालाई प्रहरीले पक्राउ गरेको छ। यसमा २८० जना पेरिसमा पक्राउ परेको बताइएको छ।
फ्रान्सेली नेतृ मरिन लि पेनले एक्समा एउटा फुटबल क्लबको विजयले भीड र प्रदर्शन जन्माउने कुरा केवल फ्रान्समा मात्रै भएको लेखेकी छिन्।

भीड, हुलदंगा र झडपका बीच विजेता खेलाडीहरुले आइफल टावरनजिकैको च्याम्प डि मार्समा ¥याली गर्दै छन्। त्यसपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनीहरुलाई रिसेप्सन दिने कार्यक्रम छ।
Shares

प्रतिक्रिया