खेल


अविनाश र भगवतीले बनाए जुनियर राष्ट्रिय कीर्तिमान

अविनाश र भगवतीले बनाए जुनियर राष्ट्रिय कीर्तिमान

नेपालखबर
जेठ २०, २०८३ बुधबार १८:५६, काठमाडौँ

अविनाश सुनार र भगवती खड्काले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। 

बुधबार अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा चार सय मिटर दौडमा कीर्तिमान रचेका हुन्। दुवै बागमती प्रदेशका खेलाडी हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरे। १.८२ मिटरको कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए। कोशी प्रदेशका टंक यादव दोस्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेस्रो भए। 

यो स्पर्धाको छात्रामा गण्डकी प्रदेशकी आराध्य चालिसे तथा सुदूरपश्चिम प्रदेशकी सुनिता पार्की संयुक्त रुपमा पहिलो भए। दुवै १.४३ मिटर उचाइ नाघे। कोशी प्रदेशकी सुस्मिता बस्नेत तेस्रो भइन्।

छात्रा चार सय मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्। यसअघि एक मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो। फाइनलमा भने भगवतीले निर्धारित दूरी ५९.११ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन्। बागमतीकै अनिशा थारू दोस्रो तथा लुम्बिनी प्रदेशकी रोशनी कामी तेस्रो बनिन्। 

यस स्पर्धाको छात्रमा बागमतीका निरज शाह पहिलो भए। उनले निर्धारित दूरी ५०.९४ सेकेन्डमा पार गरे। गण्डकीका अतित थापा दोस्रो तथा गण्डकीकै अंकित रानाभाट तेस्रो भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र इक सय मिटर दौडमा बागमतीका प्रविन रानाले स्वर्ण जिते। उनले दूरी तय गर्न १०.४६ सेकेन्ड समय खर्चे। सुदूरपश्चिमका सुरेश चौधरीले रजत तथा लुम्बिनीका भगवानदास लोहारले कांस्य जिते। 

त्यसै स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरी १३.५० सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। लुम्बिनीकै आशिका चौधरी दोस्रो तथा बागमतीकी सुरुची मोक्तान तेस्रो भए।

छात्र एक हजार पाँच सय मिटर दौड चार मिनेट १३.७ सेकेन्डमा पूरा गर्दै बागमतीका हस्त सुनार पहिलो भए। लुम्बिनीका अरविन्द्रकुमार यादव दोस्रो तथा कर्णालीका अनिल शाही तेस्रो बने। 

यो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी अस्मिता धानुक पहिलो भइन्। अस्मिताले दौड पूरा गर्न पाँच मिनेट १३.९ सेकेन्ड समय लगाइन्। लुम्बिनीकी अञ्जुली मल्ल दोस्रो तथा बागमतीकी शर्मिला विक तेस्रो भइन्। 

सटपुटको छात्रमा बागमतीका महेन्द्र केसी प्रथम भए। उनले १३.४० मिटर थ्रो गरे। लुम्बिनीका राजन भण्डारी द्वितीय तथा कर्णालीका अनन्त विक तृतीय स्थानमा रहे। 

यस स्पर्धाको छात्रामा ९.६० मिटर थ्रो गरेकी सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन्। बागमतीका मनमाया थिङ दोस्रो तथा अप्सरा श्रेष्ठ तेस्रो भइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad