बझाङको बित्थडचिर गाउँपालिका-४, डुंग्रीका ५२ वर्षीय हर्क ढाँट आइतबार बिहान घरमै थिए। उनीसँग सानो मोबाइल छ। त्यसमा इन्टरनेट चल्दैन।
गाउँकै युवाहरूले उनलाई छोरा रवीन्द्रको भिडिओ देखाए, भारतमा म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेटको उपाधि जितेको।
शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई हराउँदै रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेको समाचारले देश-दुनिया तहल्का पिटिरहेको सुन्दा हर्कको खुसीको सीमा रहेन।

‘मलाई गेमबारे थाहै थिएन। गाउँकै केटाहरूले अर्को दिन मोबाइलमा देखाए,’ हर्कले नेपालखबरसँग भने, ‘छोराको खेल हेर्दा उसले पिटाइ खाँदा मन दुखिरहेको थियो। जितेर देशलाई चिनाउँदा पछि निकै खुसी लाग्यो।’
रवीन्द्रको कीर्तिमानी जितपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई बधाई दिएका छन्। दुर्गम सुदूर पहाडको बस्तीबाट उठेका फाइटर रवीन्द्रको यात्रा निकै संघर्षपूर्ण छ।
रवीन्द्रको परिवारको आर्थिक अवस्था कमजोर छ। घरमा उनका बुवा आमा र भतिजा बस्छन्। रवीन्द्रका दाइ चन्द्रबहादुर परिवारसहित काम गर्न भारतको बेङ्लोरमा छन्। भाइ लक्ष्मण र दुई बहिनी काठमाडौँमा छन्।
उनका बुवा ‘ख’ वर्गमा सूचीकृत अपांगता भएका व्यक्ति हुन। रवीन्द्रले ०७१ सालमा देउलेकको स्थानीय देवेश्वरी माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिए। घर खर्च चलाउन मुस्किल पर्न थालेपछि उनी मजदुरी गर्न भारत हानिए।
उनको गाउँका मानिस मजदुरी गर्न उत्तराखण्ड जाने गर्छन्। उनीहरूसँगै गएका रवीन्द्रले पनि उत्तराखण्डको पिथौरागढमा ३ वर्षसम्म मजदुरी गरे।
‘ढुंगा, सिमेन्ट, भारी बोक्ने काम गर्थ्यो। पिढौरागढ काम गरेर केही हुँदैन। घर खर्च र भाइबहिनीको पढाइ खर्च जोहो गर्नुछ भनेर उसलाई दिल्ली पठाए,’ बुवा हर्क भन्छन्, ‘त्यहीँ खेल पनि सिकेको रहेछ।’
मिक्स मार्सल आर्ट्स (एमएमए) सिकिरहेको परिवारलाई थाहै थिएन। घरमा उनले काम मात्रै गरिरहेको बताइरहेका थिए। ९ महिनापछि मात्रै एमएमए खेलिरहेको थाहा पाएको बुवा हर्क बताउँछन्।
‘लडाइँ पिटाइवाला खेल खेल्छ भन्ने त कल्पनै गरेका थिएनौँ। सिके पनि क्रिकेट फुटबल सिक्ला सोचेका थियौँ, हामीलाई त्यसले केही हुँदैन। खर्च चल्दैन। केही सिप सिक्नु भनेको थिएँ,’ उनले भने, ‘कामसँगै दिल्लीमा त्यो खेल्ने रहेछ।’
दिल्लीमा काम सुरु गरेको २/३ महिनापछि रवीन्द्र जिम जान थाले। कराते सिक्ने भनेर गएका उनी त्यहाँ अभ्यास गर्दा गर्दै एमएमएमा लागिसकेका थिए।
एक वर्षपछि उनी फाइट खेल्न थाले र जित्दै पनि गए। दिल्ली कोचले एमएमए भारतको नेसनल खेल खेल्नुपर्छ भनेपछि रवीन्द्र त्यहाँ सामेल भए। त्यो जित्दै उनी वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भए। तर नेपाली कागजपत्र हुनाले उनी भारतबाट सामेल हुन पाएनन्।
अर्कोपटक पनि भारतको नेसनल भिडेका उनी गोल्ड जित्दै वर्ल्ड च्याम्पियसनसिपका लागि छनोट भए पनि सामेल हुन रोकिए।
त्यसपछि रवीन्द्र भारतमा प्रोफेसनल खेल्न थाले। तर कोरोना महामारीपछि भएको लकडाउनमा उनी गाउँ फर्किए। गाउँमा पनि रवीन्द्रले सकेजति अभ्यास जारी नै राखे। परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनलाई केही गर्नुपर्ने दबाब थियो।
विदेश जाने सोचले काठमाडौँ हानिएका उनी कामसँगै एमएमए अभ्यास गर्न सकिने अवस्था खोज्छन्। तर त्यस्तो अवसर पाइँदैन। विदेशको सोच त्यागेर रवीन्द्र त्यसपछि काठमाडौँमा अभ्यास गर्ने ठाउँ खोज्दै जाँदा डिविज लामाको सम्पर्कमा पुगे।
त्यहाँ अभ्यास गर्दागर्दै उनलाई भारतमा फाइट खेल्ने अवसर आइरहेको थियो। काठमाडौँ-भारत आउजाउ चलिरहेको थियो। नेपालमा पहिलोपटक आयोजित प्रोफेसनल एमएमएमा उनी सामेल भए।
रवीन्द्रका लागि विदेशी प्रतियोगितामा बाटो खुल्दै गए। थाइल्यान्ड हानिएका रवीन्द्रले त्यहाँ वान च्यापियनसिपमा फाइट जित्ने पहिलो नेपाली फाइटरका रूपमा नाम दर्ज गरे।
‘ऊ हेर्दाखेरि फाइटर होलाजस्तो लाग्दैन। काममा निकै लगनशील छ। कम बोल्छ काममा लागिरहन्छ,’ रवीन्द्रका काका मानबहादुरले भने, ‘परिवारको अवस्थामा कमजोर हो। खेतीकिसानी गरेर घरखर्च चल्छ।’
रवीन्द्र गाउँ डुंग्रीमा जमिन थोरै छ। वर्षभरि खानलाई पनि पुग्दैन। पैसा नकमाए पनि छोराले नाम कमाएको छ। देशलाई चिनाएको छ,’ बुवा हर्क भन्छन्, ‘सबैको साथ सहयोगले यहाँसम्म पुग्दा निकै खुसी लागेको छ।’
Shares

प्रतिक्रिया