ad ad

खेल


साख फर्काउँदै ब्राजिललाई छैटौं विश्वकप जिताउने दाउमा नेयमार

साख फर्काउँदै ब्राजिललाई छैटौं विश्वकप जिताउने दाउमा नेयमार

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १२:२६, काठमाडौँ

ब्राजिल विश्वकप फुटबलको इतिहासमा सबैभन्दा सफल मुलुक हो। उसले अहिलेसम्म पाँचपटक विश्वकपको उपाधि उचालिसकेको छ। तर, पछिल्लो २० वर्षयता उसले उपाधि जित्न भने सकेको छैन। यसपटकको विश्वकपमा उक्त खडेरी तोड्ने लक्ष्यका साथ ब्राजिलको टोली कतार पुगेको छ। 

ब्राजिलका फरवार्ड नेयमारको लागि टोलीलाई विश्वकपको उपाधि जिताउने यो अन्तिम मौका हुन सक्छ। सन् २०१४ को विश्वकप नेयमारको लागि बिर्सनलायक बनेको थियो। उक्त विश्वकपको क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा नेयमार घाइते भए। ढाडमा गम्भीर चोट लागेका उनी उक्त खेलमा मैदानबाट बाहिरिए। क्वार्टरफाइनलमा कोलम्बियासँग ब्राजिलले जितेपछि सेमिफाइनलमा उसलाई जर्मनीको सामना गर्नुथियो। यस्तोमा नेयमारबारे भने विभिन्न किसिमका समाचारहरु आइरहेका थिए। 

उनी सेमिफाइनलमा खेल्न सक्ने अवस्थामा छन् कि छैनन् भन्ने धेरैको चासोको विषय थियो। त्यतिबेला चिकित्सकले एउटा राम्रो र एउटा नराम्रो समाचार सुनाए। जसमा राम्रो समाचार भविष्यमा नेयमार पहिलाजस्तै हिँडडुल गर्न सक्ने थियो भने नराम्रो समाचार उक्त चोट निको हुन लामो समय लाग्ने थियो। दुर्भाग्यवश ब्राजिल सेमिफाइनलमा फराकिलो अन्तरले जर्मनीसँग पराजित भयो। यससँगै आफ्नै भूमिमा ब्राजिललाई विश्वकप जिताउने नेयमारको सपना समाप्त भयो। 

त्यसको चार वर्षपछि रुसमा भएको विश्वकप पनि ब्राजिलको लागि सुखद भएन। रुस विश्वकपको क्वार्टरफाइनलमा ब्राजिल बेल्जियमसँग पराजित भयो। उक्त खेलमा २–१ गोल अन्तरले पराजित भएपछि नेयमार झन् दुखिभ भए। उनले समाजिक सञ्जालमा लेखेका थिए, ‘यो मेरो करियरको सबैभन्दा दुःखदायी क्षण हो भन्न सक्छु। यसको पीडा निकै ठूलो छ किनकी हामीलाई थाहा थियो कि हामी जित्न सक्छौं।’ 

उनले थपेका थिए, ‘हामीलाई  इतिहास बनाउने मौका थिए तर यसपटक त्यो पूरा हुन सकेन।’

त्यसको चार वर्षपछि अहिले कतारमा विश्वकप चलिरहेको छ र बिहीबार ब्राजिलले यो विश्वकपको पहिलो खेल खेल्दै छ। यस्तोमा नेयमार तेस्रोपटक ब्राजिललाई उपाधि जिताउने लक्ष्यमा अघि बढेका छन्। यो उनको लागि अन्तिम विश्वकप पनि हुन सक्छ। उनी आफैंले यसको पुष्टि गरेका छन्। 

नेयमारको लागि यो विश्वकप इतिहास बनाउने मात्र होइन, आफ्नो गुमेको शाख पनि फिर्ता ल्याउने अवसर हो। सन् २०१८ को विश्वकपमा नेयमारले मैदानमा फाउल पाउन अनावश्यक नाटक गरेको र सही अवसरको लाभ उठाउन नसकेको आरोप लागेको थियो।  यद्यपि नेयमारले भने मैदानमा आफूलाई खेल्न असहज नै भएको र यो पीडा भोग्नेलाई मात्र थाहा हुने भन्दै आफ्नो बचाउ गर्दै आएका छन्।

कतारमा यसपटक ब्राजिल आफूलाई साबित गर्दै उपाधि उचाल्ने योजनामा छ। उसले पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन पनि गर्दै आएको छ। तर, महत्वपूर्ण खेलमा पछि पर्ने नियति भने अझै पनि कायमै छ। त्यसको पछिल्लो उदाहरण कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनासँग हार्नु हो। सोही कमजोरी हटाउँदै टोलीलाई उपाधि उचाल्नुका साथै आफ्नो विरुद्धमा भइरहेका विभिन्न किसिमका आलोचनालाई बलियो उत्तर फर्काउने नेयमारको यो अन्तिम अवसर हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .