सुदूरपश्चिम


डोटीमा आलेको ह्याट्रिक माओवादी-कांग्रेसमा निर्भर

एमाले र पूर्वएमाले भिडन्तमा ‘बागी’को डर!
डोटीमा आलेको ह्याट्रिक माओवादी-कांग्रेसमा निर्भर

गोकुल जोशी
कात्तिक १, २०७९ मंगलबार १४:२८, कञ्चनपुर

एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमको डोटीमा आसन्न चुनावमा नेकपा एमाले र पूर्व–एमाले नेताबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। 

सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का नेता पूर्वमन्त्री प्रेमबहादुर आले प्रतिनिधि सभाका उम्मेदवार छन्। आलेसँग प्रतिस्पर्धा गर्न एमालेले डोटी इन्चार्ज गौरीकुमारी ओलीलाई मैदान उतारेको छ। 

यस्तै, नेपाली कांग्रेसका नेता नरेन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएपछि डोटीको चुनावी माहोल थप रोचक बनेको छ।

सत्तागठबन्धनबाट प्रतिनिधिसभा एकीकृत समाजवादी र प्रदेशसभाका एक/एक क्षेत्र कांग्रेस र माओवादी केन्द्रको भागमा परेको छ।

प्रदेश सभा(१) मा कांग्रेसका नरेन्द्रबहादुर सिंह र प्रदेश सभा (२) मा माओवादी केन्द्रका शिवसिंह ओली उम्मेदवार छन्। यस्तै, नेकपा एमालेबाट प्रदेश सभा (१) मा चक्र मल्ल र प्रदेश सभा (२) मा टेकबहादुर बम उम्मेदवार छन्।

टिकटको रस्साकस्सी
सत्तारुढ गठबन्धनमा डोटीको प्रतिनिधि सभामा कांग्रेस सुदूरपश्चिमका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र माओवादीका नेता समेत रहेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको दाबी थियो।

०७४ मा एमालेमा हुँदा आलेसँग हारेका कांग्रेसका बलायर यसपटक डोटी नछोड्ने अडानमा थिए। स्थानीय तह निर्वाचनमा एक्लै लडेर कांग्रेसले उत्कृष्ट नतिजा ल्याएकोले कांग्रेसले डोटी नछाड्ने अडान लिएको थियो।

त्यसैले कांग्रेस डोटीले गठबन्धन नगरेर एक्लै चुनावमा होमिने, गठबन्धन भएमा ‘भोट होल्ड’ गर्नेसम्मको निर्णयसमेत गरेको थियो। ०७४ मा एमाले हुँदा जितेका आले र मुख्यमन्त्री भट्ट पनि टिकट तानातानमा थिए।

अन्ततः भट्ट र बलायरमाथि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका आले हाबी बने। उनी सत्तागठबन्धनबाट डोटीमा साझा उम्मेदवार बनेका छन्। 

बलायर डोटी छोडेर कैलाली ४ बाट चुनाव लड्दैछन्। प्रतिनिधि सभामा दाबी गरेका मुख्यमन्त्री भट्ट अन्तिममा प्रदेश सभामै लड्न तयार भएपनि उनको टिकट स्वकीय सचिव शिवसिंह ओलीले खोसिदिए पछि भट्ट यसपटक बिचल्लीमा परेका छन्।

‘ह्याट्रिक’को दाउमा आले 
डोटीमा गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री आले तेस्रोपटक संसद छिर्ने प्रयासमा छन्। वि.सं. २०५४ अघि आले नेपाली कांग्रेसमा आबद्ध थिए। पछि नेकपा एमालेमा प्रवेश गरेका उनी ०५४ मा जिल्ला विकास समितिको सदस्य बने। 

अनि डोटी क्षेत्र नम्बर २ मा एमालेबाट ०६४ को पहिलो संविधान सभा चुनाव लड्ने मौका पाए।  त्यसबेला उनी माओवादी केन्द्रका खेम बमसँग हारे। 

त्यसपछि आले दोस्रो संविधान सभा चुनावमा पनि डोटी–२ मा एमालेबाट उम्मेदवार बने। उनले नेपाली कांग्रेसका योगेन्द्र शाहीलाई हराउँदै पहिलोपटक संसदको यात्रा तय गरे। 

०७४ को चुनावमा डोटीमा एउटै निर्वाचन क्षेत्र कायम रह्यो। त्यसपछि आले र कांग्रेसका बलायर प्रतिस्पर्धी बनेका थिए। वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका आलेले तत्कालीन सरकारमा यातायातमन्त्री रहेका कांग्रेसका बलायरलाई हराएर संसद छिरे। यो संसद यात्रा आलेका लागि महत्वपूर्ण रह्यो। 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाए। यस क्रममा उनी आफ्ना अभिव्यक्तिका कारण विवाद र आलोचनाका पात्र बने। 

सरकारमा हुँदा ओलीको प्रशंसा गरेर नथाक्ने आले एमाले विभाजनमा भने एक्कासि माधव कुमार नेपालको पक्षमा खुले। कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमा उनी पनि एक थिए।

ओलीले दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि बनेको वर्तमान सरकारमा नेकपा एकीकृत समाजवादीका तर्फबाट आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने।

उनलाई करिब ८ महिनापछि गत जेठमा पार्टीले सरकारबाट फिर्ता बोलायो। ओली सरकारका पालामा ‘भाइरल मन्त्री’को उपमा पाएका आलेले यसपटक केही कामले चर्चा बटुले। यस दौरानमा पनि अभिव्यक्तिका कारण उनी विवादबाट बच्न सकेनन्। उनै आले ‘ह्याट्रिक’सहित संसद पस्ने दाउमा छन्। 

बागीले सकस
डोटी प्रतिनिधि सभामा बागी उम्मेदवारी दिएका कांग्रेसका नेता नरेन्द्रबहादुर खड्काले आलेलाई चुनौती थपेको छ। खड्कालाई कांग्रेसले कारबाही गरिसकेको छ।

खड्काले कांग्रेसको मत काट्दा आलेलाई गाह्रो पर्न सक्ने एकीकृत समाजवादीका एक नेताको विश्लेषण छ।

‘बलायर जीले डोटीबाट टिकट नपाउँदा गठबन्धनभित्र कांग्रेसमा सुरुदेखि नै असन्तुष्टि छ, कांग्रेस गठबन्धनको विपक्षमा थियो, त्यसले गर्दा कांग्रेसको मत स्वतन्त्र (खड्का) तिर जान्छ कि भन्ने डर छ,’ ती नेताले भने, ‘गठबन्धनमा इमान्दारिता देखिएमा जित निश्चित छ।’

कांग्रेसका असन्तुष्ट नेताहरुलाई साथमा लिएर गठबन्धन मजबुद बनाउनका लागि प्रयासहरु भइरहेको उनको दाबी छ। 

‘कांग्रेस र हामीबीचको असमझदारीलाई चिर्दै लगेका छौँ,  इमान्दारिताका साथ गठबन्धनलाई जिताउन लाग्नुहुन्छ भन्ने विश्वास छ,’ ती नेताले भने।

कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर सहमतिमै कैलाली गएपछि कांग्रेसभित्रको असन्तुष्टि कम हुँदै गएको सचिव नारायण बलायरको दाबी छ।

‘अहिले माहोल सुध्रिदै गएको छ, गठबन्धनलाई बलियो बनाउन हामी लागिरहेका छौँ, चुनावसम्म सबै ठिक हुन्छ,’ उनले भने, ‘डोटीमा वाम लोकतान्त्रिक गठबन्धनले जित्छ।’

आलेको पार्टी एकीकृत समाजावदी डोटीमा सांगठनिक रुपमा कमजोर छ। आलेको यसपटकको संसद यात्रा गठबन्धनका दलहरु कांग्रेस र माओवादी केन्द्रको भरमा छ।

‘हेभिवेट’नेताहरुबीच टिकट रस्साकस्सीमा सत्तागठबन्धनबाट टिकट फुत्काउन सफल आलेलाई जित निकाल्न चुनौती छ।

उदाउँदी गौरी
नेकपा एमालेले डोटीमा यसपटक गठबन्धनविरुद्ध महिलालाई अघि सारेको छ। डोटी इन्चार्जसमेत रहेकी गौरीकुमारी ओली एमालेको पोलिटब्यूरो सदस्य पनि हुन्।

उनी प्रत्यक्षबाट पहिलो पटक संसदीय चुनावको सामना गर्दैछन्। यसअघि ०७० सालको चुनावमा ओली समानुपातिक सांसद भएकी थिइन्।

गठबन्धनविरुद्ध जित निकाल्दै दोस्रो पटक संसद छिर्ने योजनामा छन्, ओली। त्यसका लागि पूर्व एमालेकै नेता आलेसँग ओलीले प्रतिस्पर्धा गर्नुपर्ने छ।

गठबन्धनको असन्तुष्टि र स्वतन्त्र उम्मेदवारको फाइदा उठाउँदै ०७४ को जित दोहर्याउने रणनीतिमा एमाले छ। डोटीमा एमालेको जित सुनिश्चित रहेको सचिव शेरबहादुर मल्लको दाबी छ। 

‘गठबन्धनमा तीब्र असन्तुष्टि छ, त्यसले हामीलाई फाइदा नै हुन्छ,’ उनले भने, ‘एमालेलाई जिताउन जनता आतुर छन्, स्वार्थका लागि गठबन्धन गरेको जनताले बुझिसकेका छन्।’

अंक गणित
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार डोटीमा सत्ता गठबन्धन बलियो छ। नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रका प्रमुखहरुले पाएको कूल मत ४५ हजार २८१ छ। 

जसमा कांग्रेसका प्रमुख/अध्यक्ष पदका उम्मेदवारहरूको ३५ हजार ८०१ मत, माओवादी केन्द्रको ६ हजार ११८ र एकीकृत समाजवादीकोे ३ हजार ३६२ मत छ।

नेकपा एमालेका प्रमुख/अध्यक्षका उम्मेदवारहरूले २४ हजार ३५ मत ल्याएका छन्। गठबन्धनका मत आफ्नो पोल्टामा पार्न सके आलेको जित सुनिश्चित छ।

यस्तै, वडाध्यक्षका उम्मेदवारको मतअनुसार कांग्रेसको ३४ हजार ४७, माओवादी केन्द्रको ७ हजार ७८९ र एकीकृत समाजवादीको ३ हजार २०५ गरेर गठबन्धनको कूल ४५ हजार ४१ मत छ । एमालेका वडाध्यक्षका उम्मेदवारले २४ हजार ९१६ मत पाएका छन्।

कूल ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जितेको छ। ९ पालिकामध्ये ७ वटामा प्रमुख पद कांग्रेसले जितेको छ।

शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका, केआई सिंह, पूर्वीचौकी, बढिकेदार र सायल गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको हो।

यस्तै, माओवादी केन्द्रले प्रमुख पद जितेको बोगटान फुड्सिल गाउँपालिकामा कांग्रेसले उपप्रमुख पद जितेको छ। 

नेकपा एमालेले एक पालिकामा प्रमुख र १८ वडामा वडाध्यक्ष पद जितेको छ। एमालेले जोरायल गाउँपालिकाको प्रमुख–उपप्रमुख दुवै पद जित्यो। 

मुख्यमन्त्री भट्टको पार्टी माओवादी केन्द्रले एक पालिका प्रमुख र ५ वटा वडामा मात्रै अध्यक्ष पद जितेको छ।

आले आबद्ध एकीकृत समाजवादीले एउटा वडामा मात्रै जितेको छ। डोटीमा स्थानीय तहको निर्वाचनमा राप्रपा र स्वतन्त्र उम्मेदवार एक/एक वडामा विजयी भएका छन्।

०७४ को हिसाब
०७४ सालको प्रतिनिधि सभा चुनाव डोटीमा एमालेले जितेको थियो। एमालेमा हुँदा माओवादीको समर्थनमा वाम गठबन्धनको उम्मेदवार बनेका प्रेम आले ३२ हजार ५१० मत सहित विजयी भएका थिए। 

उनका प्रतिस्पर्धी कांग्रेसका वीरबहादुर बलायरले ३० हजार ८७८ मत ल्याएका थिए। प्रदेश सभा (१) मा कांग्रेसका भरतबहादुर खड्का १७ हजार ४०६ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी एमालेका चक्रबहादुर मल्लले १६ हजार ७९२ मत ल्याएका  थिए।

यस्तै, प्रदेश सभा (२) मा हालका मुख्यमन्त्री वाम गठबन्धनका साझा उम्मेदवार त्रिलोचन भट्टले १६ हजार ९१ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका योगेन्द्र बहादुर शाहीले १३ हजार ४९५ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .