ad ad

सुदूरपश्चिम


नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

नेपालखबर
माघ २०, २०७९ शुक्रबार ११:३८, कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन्। नदी तर्न उनले अस्थायी काठको पुल बनाएकी छन्। पुलमार्फत ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुल्क लिन्छिन्। 

पुलमार्फत नदी वारपार गर्ने मोटरसाइकल सवारले रु ४० र साइकल सवारले रु ६ बुझाउँछन्। रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो। 

नदी छेउमै उनले काठको वेरियर छेउ सानो पसल पनि राखेकी छन्। पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले  उनी घर खर्च चलाउँछिन्। पुल प्रयोग गर्नेहरुबाट उनले दैनिक रु हजारदेखि २ हजार ५ सयसम्म रकम उठाउँछिन्।    श्रीमान्‌को निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखेकी हुन्। 

‘रोजगारी छैन। खेती गर्न जग्गा छैन। नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ’, उनले भनिन्, ‘हरेक वर्ष बर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु।’ उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्छिन्। नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ। 

रानाले अस्थायी रुपमा  काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठड्याइएका छन्। तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले मूर्तरुप कहिले लिने हो टुङ्गो छैन। 

स्थानीय बोटसिंह राना भन्छन्, ‘कृष्णपुर नगरपालिकाको वाणी हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो। निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुल्क तिरेर तर्न बाध्य छौं।’

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ। नदी तर्नेबाट त्यस ठाउँमा समेत शुल्क लिइने गरिएको छ। नदीमा निर्माण गरिएको झोलुङ्गे पुल गत भदौ अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुल्क तिरेर काठको अस्थायी पुल तर्ने गरेका छन्। 

नदीमा काठको अस्थायी पुल राखेर शुल्क उठाइरहेका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए। पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उनले सुनाए। 

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ। ‘अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भए पनि सुविधा पुगेको छ’, स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .