सुदूरपश्चिम


सुदूरपश्चिम र उत्तराखण्डका धार्मिकस्थलबीच ‘कनेक्टिभिटी’को प्रयासमा छौँ : मन्त्री साउद

सुदूरपश्चिम र उत्तराखण्डका धार्मिकस्थलबीच ‘कनेक्टिभिटी’को प्रयासमा छौँ : मन्त्री साउद

नेपालखबर
बैशाख १७, २०८० आइतबार १८:५६, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले स्थलमार्गबाट सुदूरपश्चिम र भारतको उत्तराखण्डका धार्मिक स्थलहरुको ‘कनेक्टिभिटी’ का लागि छलफल भइरहेको बताएका छन्।

नेपाली कांग्रेस कैलालीले आइतबार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सुदूरपश्चिम र सीमावर्ती उत्ताराखण्डको धार्मिक स्थलहरुको ‘कनेक्टिभिटी’ का लागि छलफल भइरहेको बताएका हुन्।

‘मानसखण्ड पीठले एउटा कनेक्टिभिटी दिएर विशेष गरेर महाकाली नदीमा दुईतीन ठाउँमा पुल हालेर धार्मिक ठाउँहरुमा जान सक्ने परिस्थितिको विकास गर्न सक्छौँ,’ साउदले भने, ‘२५–२६ धार्मिक स्थलहरु इन्डियाको कुमाउतिर छन्। २८ वटा धार्मिक स्थलहरु सुदूरपश्चिममा छन्। यी ठाउँहरुलाई कनेक्टिभिटी बनाउने गरेर अगाडि बढ्नु पर्छ भनेर हामी छलफल गरिरहेका छौँ। भारतसँग पनि संवादमा छौँ।’

उनले सुदूरपश्चिमको प्रस्तावित राजधानी गोदावरीलाई मानसखण्ड क्षेत्रको धार्मिक, सांस्कृति पर्यटनको बढावा दिने प्रस्थान विन्दुका रुपमा अगाडि बढाइने पनि बताए।

‘मानसखण्ड क्षेत्रको धार्मिक, सांस्कृति पर्यटनको बढावा दिने प्रस्थान विन्दु हामी गोदावरीलाई अगाडि बढाउन सक्छौँ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘गोदावरीबाट छिरेर सबै मन्दिरहरु दर्शन गरेर आफ्नो गाउँमा ठाउँमा जाने प्रवन्धको वयवस्था गर्न सक्छौँ। यो काममा हामी लागि राखेका छौँ। यो कामलाई हामी अगाडि बढाउँछौँ।’

आगामी जेठ महिनामा खप्तडमा आयोजना हुन लागेको सम्मेलनले सुदूरपश्चिमका धार्मिक सम्पदाहरु मुखरित गरेर पर्यटन प्रवर्द्धधनमा टेवा पुग्ने उनको भनाइ थियो।

‘एक/सवाएक महिना पछि एउटा महत्वपूर्ण सम्मेलन खप्तडमा हुँदैछ। प्रधानमन्त्रीजी पनि आउँदै हुनुहुन्छ। भारतबाट पनि रामदेवजीलाई आमन्त्रण गरिएको छ,’ साउदले भने, ‘केही राजदूतहरुलाई त्यहाँ आउन हामीले आग्रह गरिरहेका छौँ। त्यो सम्मेलनले हाम्रा लुकेका सम्पदाहरु मुखरित गरेर पर्यटकीय काममा उपयोग गर्ने गरेर हामी अगाडि बढ्न सक्दछौँ।’

उनले महाकाली नदीको पश्चिममा पर्ने उत्तराखण्डलाई भारतले देवभूमि भनेको र त्यहाँका धार्मिक पीठहरुमा उपासनाका लागि विभिन्न देशमा छरिएर रहेको हिन्दुधर्मावलम्बीहरु आउने गरेको स्मरण गरे। साउदले प्रचारप्रसार र अवागनको सुविधा नभएका कारण सुदूरपश्चिमका शक्तिपीठहरु ओझेलमा परेका पनि बताए।   

‘भारतको उत्तराखण्डलाई भारतले देवभूमि भनेको छ। महाकाली पारीलाई देवभूमि भनिएको हुनाले सारा संसार भरीका हिन्दुहरु त्यहाँका जति पनि धार्मिक पीठहरुमा धार्मिक उपासनाका लागि आउने गरेका छन्,’ उनले भने, ‘महकाली वारीको ज्यादा प्रचारप्रसार छैन। प्राचिनकालदेखि भएका हाम्रा शक्तिपीठहरुका बारेमा प्रचारप्रसार नभएको हुनाले, आवागमनको सुविधा पनि नभएको हुनाले हामीले यी कुराहरुलाई बाहिर ल्याउन सकेका छैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .