जेनजी आन्दोलनपछि सुदूरपश्चिममा लागु गरिएको निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।
आन्दोलनको मागबमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा शुक्रबार राति अन्तरिम सरकार गठन गरिएसँगै यहाँ निषेधाज्ञा र कर्फ्यु हटाइएको हो।
योसँगै सुदूरपश्चिमका ९ वटै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ।
तर कञ्चनपुरमा कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने आइतबार बिहान ५ बजेसम्मका लागि यथावत् राखिएको छ।
कर्फ्यु हटाइएपछि कञ्चनपुरमा छोटो दुरीमा चल्न सार्वजनिक सवारीसाधन सञ्चालन भएका छन्।
कैलालीमा पनि कर्फ्यु हटाइएको छ भने निषेधाज्ञा जारी छ। कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार अर्को सूचना नआउँदासम्म निषेधाज्ञा जारी रहने छ।
बझाङ, अछाम, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र बाजुरामा भने शनिबार बिहानदेखि कर्फ्यु र निषेधाज्ञा दुवै हटाइको स्थानीय प्रशासनले जनाएका छन्।
यसैबीच आन्दोलनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्क आउन र लुटिएका हातहतियार फिर्ता गर्न स्थानीय प्रशासनले अनुरोध गरेका छन्।
जेनजी आन्दोलनको मौकामा सुदूरपश्चिमका विभिन्न जिल्ला कारागारबाट एक हजार ४ सयभन्दा बढी कैन्दीबन्दी ताला तोडेर भागेका थिए।
तीमध्ये कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरिसकेको छ भने बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
आन्दोलनका क्रममा प्रदेशभर थुप्रै सरकारी कार्यालय, पार्टी कार्यालय, जनप्रतिनिधि र नेताका घरस, व्यापारिक केन्द्रमा तोडफोड, आगजनी र लुटपाट गरिएका थिए।
Shares

प्रतिक्रिया