कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटेनामा लोपोन्मुख राउटे समुदायको बसोबास छ। त्यहीँ समुदायकी दुर्गादेवीलाई धान काट्ने चटारो छ।
काम नपाएको बेला जीविकोपार्जन गर्नै हम्मेहम्मे परेकोे उनी सुनाउँछिन्। ‘जंगलतिर जान पाइदैन। गाउँमा काम पाइदैन,’ दुर्गादेवीले भनिन्, ‘खेतीपाती गर्न जमिन छैन। मागेर गुजारा चलाउनु परेको छ।’ 
करिब डेढ दशक अघि मटेनामा दुर्गादेवीको परिवारलाई गरिरएको हो। टिनले छाएका सानो झाप्रोमा उनी परिवारसंगै रात काट्छिन्। छोराहरुले अन्य ३ घर बनाएका छन्। तर आर्थिक अभावले अपूरै छन्। ‘झ्याल ढोका राख्न सकेका छैनौं। प्लाष्टर पनि गर्न सकिएको छैन,’ दुर्गादेवी भन्छिन्, ‘जसोतसो दुःखकष्ट काटिरहेका छौं।’
चाडबाड आउँदा दुर्गादेवीलाई झनै खल्लो लाग्छ। बालबच्चाले नयाँ लुगाफाटो र मिठोमसिनो खान खोज्छन्। तर दुर्गादेवीलाई त्यो कहाँबाट जोहो गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ।
‘नातिनातिनाले नयाँ कपडा खोजिरहेका छन्। छरछिमेकमा मिठोमसिनो पाकेको देखेर त्यो पनि खोजिहाल्छन्,’ उनीले भनिन्, ‘दसैं त जसोतसो मनायौं। तिहार कसरी मनाउने ?’
दुर्गादेवीका ६ छोराछोरी हुन। जेठा छोरा करवीर बुहारीसंगै पहाडमा बस्छन्। अर्को छोरा मानसिंह कामको खोजीमा भारतमा छन्। छोरी बिष्ना नेपाली सेनामा छिन्।छोराहरु पदम र मोहन घरमै बेरोजगार छन्। कान्छी छोरी धाना अहिले विद्यालय पढिरहेकी छन्। ‘४ महिनामा भत्ता आउँछ। त्यतिञ्जेल गाउँबाट ऋण काढेर खानुपर्छ,’ उनले भनिन्, ‘भत्ता जसै हातमा पर्छ त्यसै गाउँमा तिरोतारे गर्नैमा सकिन्छ।’
छोराहरु पदम र मोहन गाउँमा रोजगारी नपाएपछि विदेश पलायन हुने मनस्थिपितमा पुगेका छन्। भत्ताभन्दा गाउँमै रोजगारी पाए जीविकोपार्जन गर्न सहज हुने पदम बताउँछन्।
‘बस्नलाई घर बनाउनै छ। भत्ता रासनलगायत किन्न निकालेको ऋण तिर्नैमै सकिन्छ,’ उनले भने, ‘गाउँमै सानै भएपनि काम पाइयो भने खाली बस्नुपर्थेन।’
कुनै समय जंगलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरू यति बेला अन्य जातिसँगै समाजमा घुलमिल भइसकेका छन्। काठका सामग्री बनाउन नपाएपछि सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गर्नु परेको उनीहरुको गुनासो छ।
समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण राउटे समुदाय भारत गइरहेका छन्।
Shares

प्रतिक्रिया