सुदूरपश्चिम


सुदूरपश्चिममा ४ सय ८१ मतदानस्थल अति संवेदनशील, यस्तो छ सुरक्षा तयारी

सुदूरपश्चिममा ४ सय ८१ मतदानस्थल अति संवेदनशील, यस्तो छ सुरक्षा तयारी

नेपालखबर
फागुन १८, २०८२ सोमबार २०:७, कञ्चनपुर

आउँदो बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहित सुरक्षा टोली खटिएको छ।

निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुदूरपश्चिम प्रदेशमा करिब २९ हजार सुरक्षाकर्मी खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार ७ हजार ९८ जना जनपद प्रहरी, १३ हजार ६४८ निर्वाचन  प्रहरी परिचालन भएका छन्। त्यतिकै संख्यामा सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिने छन्।

‘तीन घेरामा सुरक्षा प्रवद्र्धन मिलाइएको छ, पहिलो घेरामा जनपद प्रहरी र निर्वाचन प्रहरी रहनेछन्,’ एसएसपी विष्टले भने, ‘सबै मतदानस्थलमा सुरक्षाकर्मी खटिएका छन्। गस्ती र जाँचमा कडाइ गरिएको छ।’

प्रत्येक पालिकामा २ गरेर प्रदेशभर १७६ वटा मोबाइल टोली र २० वटा ‘रिजर्भ फोर्स’ तयारी अवस्थामा राखिएको छ। यस्तै, सशस्त्रको पनि मोबाइल टोलीका साथै बेस पनि छ।

प्रदेशका १ हजार १ सय ७६ वटा मतदानस्थलमध्ये प्रहरीले सुरक्षाको दृष्टिकोणले ती मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार तीमध्ये ३ सय मतदानस्थल सामान्य, ३९५ संवेदनशील र ४८१ मतदानस्थल अति संवेदनशीलका रुपमा राखेर सोही अनुसार सुरक्षाकर्मी खटिएका छन्।

जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीलाई मुख्य सुरक्षा चुनौतीका रुपमा हेरिएको छ। विगतका चुनावमा भएका विवाद, सीमा लगायतलाई मध्यनजर गर्दै सोही अनुसार सुरक्षकर्मीको खटनपटन भएको प्रहरीले जनाएको छ। 

विगतको निर्वाचनको अनुभव, अहिले सुरक्षा अवस्था र भौगोलिक विकटताले प्रदेशको पहाडी क्षेत्रका जिल्ला बझाङ, बाजुरा, बैतडी र दार्चुलाका केही स्थानलाई अतिसंवेदनशील सूचीमा राखिएको छ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार निर्वाचनको तयारी पूरा भएको छ। 

कर्मचारी खटनपटनका साथै मतदान सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गर्ने लगायतका व्यवस्थापकीय काम पूरा भइसकेको उनले बताए। 

सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ क्षेत्रमा कूल १७ लाख १६ हजार ६६० मतदाता छन्।

निर्वाचनमा १५ हजार कर्मचारी परिचालन भएका छन्। पहाडी क्षेत्रका अछाममा २, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला र डडेलधुरामा एक/एक निर्वाचन क्षेत्र छन्। एक मतदान केन्द्रमा स्वयम्सेवकसहित १० देखि १२ कर्मचारी खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad