कास्की प्रहरीले १६ गतेको रात बितेर दिन सुरु हुनैलाग्दा पोखरा १८ सेदीको जंगलछेउको घरमा भइरहेको ट्रान्सपार्टीमा हस्तक्षेप गर्यो। जंगल नजिक रहेको खालि घरमा चलेको सो पार्टीमा चर्को संगीत बजिरहेको थियो । प्रहरी पुग्दा सहभागीहरु नसाको तालमा उफ्रँदै र नाच्दै थिए । तीमध्ये कोही अंगालोमा अनि केही जोडी एकआपसमा चुम्बन गर्दै थिए । गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले झ्याम्पै भित्र पस्नसक्ने अवस्था नै थिएन।
तीमध्ये एकजना युवा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका हालका पदाधिकारीका छोरा पनि थिए । यसै पनि नसाको रमझम,त्यसमाथि पुख्र्यौली सत्ता र शक्तिको दम्भ, उनले सादा पोशाकका प्रहरीलाई टेरेनन्। प्रतिवादमा उत्रिए। प्रहरी स्रोतका अनुसार प्रहरीको दोस्रो टोली पुगेपछिमात्र ती युवा शान्त भएका थिए।
सो पार्टीमा ब्राजिलदेखि इटली,भारत,जर्मनीसम्मका विदेशी र नेपालको स्रभान्त र मध्यम वर्गका युवाहरु सहभागी भएको प्रहरीको भनाइ छ । ‘त्यो पार्टी नै यस्तो रहेछ कि सहभागिताको लागि मोवाइलमा एप्स डाउनलोड गरेर फर्मजस्तै भर्नुपर्ने रहेछ । प्रवेश शुल्क ६ हजार ५ सय रहेछ र त्यहाँ हामीले पनि नामै नसुनेका लागुऔषध निर्वाध उपलब्ध हुँदो रहेछ,’ वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले भने,‘ ड्रग्स युजरहरु (लागुपदार्थ प्रयोगकर्ता) जाने खालको पार्टी आयोजकले यो व्यक्ति पार्टीमा सुहाउने हो कि हैन भनेपछिमात्र उसले त्यहाँ इन्ट्री पाउँदो रहेछ ।’
रक्सी,गाँजा,चरेस र नामै नसुनिएका लागुऔषधहरु प्रयोग भएको सो पार्टीमा सहभागीमध्ये ८ जनाको साथबाट प्रहरीले सेन्थेटिक लागुपदार्थ एमडीएमए चरेश जस्तो देखिने कालो पदार्थ, कोकिन जस्तो देखिने सेतो धूलो, खात, आइस एम्फेटामाइनजस्तो देखिने पोल्याण्ड, म्याजिक मसरुम,पेपर र झोलमा एलएसडी,लेसर्जिक एसीड डाइटीलेमाइड (एलएसडी) बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
लागुऔषध प्रयोगकर्ताहरुको लागि एलएसडी महंगो नसा हो । यसको एक डोजको नै ८ देखि १० हजार रुपैयाँ पर्ने ट्रान्स पार्टीमा सहभागीहरु बताउँछन्। ७२ घण्टासम्म चल्ने पार्टीमा खाने–बस्ने,सुत्ने–नाच्ने सबै व्यवस्था गरिएको थियो । पोखराकै एक क्याटरिङबाट खाना मगाइएको थियो। प्रहरीले छापा हान्ने क्रममा पार्टीबाट ३८ जना पक्राउ गरेको प्रहरी प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
पक्राउ परेका मध्ये ८ जनालाई लागुऔषध तथा प्रहरीको प्रतिकार गर्ने ४ जनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ।
Shares

प्रतिक्रिया