प्रवास


जापानमा कामसँगै पढाइ : खानबस्न ठिक्क, कहिले गर्ने कमाइ?

जापानमा कामसँगै पढाइ : खानबस्न ठिक्क, कहिले गर्ने कमाइ?

एआईद्वारा निर्मित तस्बिर


विपेन्द्र घिमिरे
चैत ४, २०८१ सोमबार ६:३८, काठमाडौँ

पूर्वी चितवनको पिप्लेकी सिर्जना गौतम जापान छिरेको ७ वर्ष भयो। डिपेन्डेन्ट भिसामा यहाँ आएकी उनी एक सुपरमार्केटमा काम गर्छिन्।

धेरै नेपाली मोटो रकम खर्चेर विद्यार्थी भिसामा जापान आइरहेको देखेकी उनी आफूलाई भाग्यमानी सम्झिन्छिन्। किनकि, उनी जापान जाँदाको खर्च लगभग १ लाख रुपैयाँ मात्र हो। यो पनि भिसा प्रक्रियाका क्रममा भएका खुद्रे खर्च जोडेर।
---
चितवनकै रत्ननगरका सुशील घिमिरे पनि जापान छिरेको १० वर्ष भयो। तर, उनीचाहिँ विद्यार्थी भिसामा यहाँ गएका हुन्। उनले ४ वर्षे पढाइ पूरा गरेपछि आफ्नो भिसालाई ‘वर्किङ’मा परिणत गरे।

पढाइ सकेपछि सुरुमा सेफ्टी सिस्टमसम्बन्धी एक कम्पनीमा काम गरे। त्यहाँ तीन वर्ष बिताएपछि पछिल्लो तीन वर्षदेखि भने टोयोटा ग्रुपको सिगास्थित एक कार्यालयमा कार्यरत छन्। कमाइ राम्रै छ। यसबीचमा विवाह गरेर श्रीमती पनि उतै लगिसकेका छन्।
---

लमजुङका जगुन थापा पनि विद्यार्थी भिसामै जापान छिरेका हुन्। ८ वर्षअघि जापान प्रवेश गरेका उनले पनि ४ वर्ष पढाइमा लगाए।

ग्राजुएसनपछि अहिले सिजुओकास्थित एक खाद्य कम्पनीमा कार्यरत छन्। सिजुओका प्रसिद्ध माउन्ट फुजी हिमाल भएको जिल्ला पनि हो।

यी त प्रतिनिधि उदाहरण मात्रै हुन्। जापानमा नेपालीहरू जान थालेको धेरै भइसक्यो। पछिल्लो समय पढ्दै र कमाउँदै गर्न सकिने भन्दै जापान छिरेका नेपालीहरूको अनुभवले भन्छ, ‘सुरुमै धेरै महत्त्वाकांक्षा नराख्नुस्।’

त्यसो त अहिले जापानले कामदार भिसामा पनि नेपालीहरू लैजान थालेको छ। यद्यपि, अधिकांश भने विद्यार्थी भिसामै गएका छन् र उनीहरूका हैरानी अनेकौँ छन्।

सुरुमा चर्चा गरौँ भिसाका प्रकारको।

विद्यार्थी भिसा। जापानमा अप्रिल महिनाबाट शैक्षिक सत्र सुरु हुन्छ। अप्रिलबाहेक जुलाई र अक्टोबरमा पनि भर्ना लिइन्छ।

जुलाई र अक्टोबरबाट पढाइ सुरु गर्ने गरी जाँदाचाहिँ केही घाटा छ। किनकि, यतिबेला भर्ना भए पनि ग्राजुएसनलाई गणना हुने समय भने अप्रिल नै हो।

दुई वर्षमा हुने ग्राजुएसनका लागि जुलाईबाट कक्षा लिनेले ४ महिना र अक्टोबरबाट लिनले ६ महिना कम पढ्न पाउँछन्। यसो हुँदा छिटोछिटो कोर्स अगाडि बढाएर पढाइए पनि अन्तत: सिकाइमा असर पर्न सक्ने धारणा राख्छन् थापा।

विद्यार्थी भिसामा जानुका आफ्नै खालका अप्ठ्यारा छन्। जाँदैमा मोटो रकम खर्च हुन्छ। मध्यमवर्गीय परिवारबाट जाने अधिकांश ऋण गरेरै गएका हुन्छन्।

जानेबित्तिकै काम पाइहाल्न पनि सकिन्छ, नपाउन पनि सकिन्छ।

काम पाएपछि पनि विद्यार्थीलाई केही सीमितता छन्। हप्तामा २८ घण्टाभन्दा बढी काम गर्न पाइँदैन। स्कुलको समय र काम गर्ने समयको तालमेल मिलाउनै पर्ने हुन्छ।

पढाइको प्रेसर र कामको थकानलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छँदै छ। ऋण गरेर जानेहरूलाई कमाएर छिटो तिर्नुपर्ने बाध्यता अर्कोतिर हुन्छ। तर, के आफूले चाहेजसरी काम गर्ने अनि ऋण तिरिहाल्ने अवस्थामा हुन्छन् त उनीहरू?

अनुभवीहरूको भनाइले हुन्छ भन्ने देखाउँदैन। 

‘हाम्रो स्तरका मानिसलाई २८ घण्टा काम भनेको रुम सेयरिङमा बसेर, सेयरिङमै खाना खाएर, मितव्ययी ढंगले बस्नलाई पुग्ने कमाइ हो,’ थापा भन्छन्।

थापाकै अनुभवमा उनी ८ वर्ष पहिले १२ लाख खर्चेर जापान छिरेका हुन्। विद्यार्थी कालभरि गाह्रै हुने उनको भोगाइ छ।

यो समस्याबाट मुक्ति पाउन कतिपयले ‘ह्यान्ड क्यास’मा पनि काम गरेको पाइन्छ। तर, यो काम अति नै जोखिमपूर्ण हुने उनी बताउँछन्।

यसमा धेरथोर दोष नेपालका कन्सल्टेन्सीमा पनि देख्छन् थापा।

‘कन्सल्टेन्सीले ओभरटाइम काम गर्न सकिन्छ भनेर दिमाग भरिदिँदा मानिसहरू कमाइहालिन्छ, ऋण तिरिहालिन्छ भन्ने सोचेर आउँछन्, अनि फसादमा पर्छन्,’ थापा सुनाउँछन्।

कानुनी रूपमा काम गर्न पाउनेभन्दा बढी समय काम गर्दा चिनेका २/३ जना नेपाल फर्कनुपरेको स्मरण उनीसँग छ।

जापान आउने नै हो भने भाषा अनिवार्य रूपमा सिक्न र सम्भव भएसम्म ऋण नकाढीकन आउन उनी सुझाव दिन्छन्। ऋण नकाढी सम्भव छैन भने सकेसम्म आधामा सीमित राख्न र यो पनि सम्भव छैन भने ४ वर्षलाई ऋण तिर्ने तनाव लिनु नपर्ने गरी व्यवस्थापन गर्न उनी सुझाउँछन्।

आप्रवासीले जापानमा खेप्ने समस्यामध्ये भाषा पनि प्रमुखमध्ये एक हो। भाषा नजान्दा एक त काम पाउनै गाह्रो, पाएर पनि टिक्न गाह्रो।

चितवनकी सिर्जनाले एउटा रोचक प्रसंग सुनाइन्- सँगैसँगै काम गरिरहेकाबीच एकले काम बिगार्दा भाषा नजान्नेलाई दोष थुपारिदिने गरेको।

‘जापान गएर पनि भाषा कक्षा नै पढ्ने हो। त्यहीँ पुगेपछि भाषा सिक्दै जाने, काम पनि गर्दै जाने भन्ने एक किसिमको भाष्य निर्माण गरिएको पाइन्छ,’ थापाको खबरदारी छ, ‘यो एकदम गलत हो। यसले अन्तत: भड्खालोमै पुर्‍याउँछ।’

घिमिरे पनि जापानी भाषा नजान्नेलाई काम पाउन निकै मुस्किल हुने बताउँछन्। विश्वव्यापी मानिएको अंग्रेजीले मात्र टिक्न सकिँदैन।

यी तीनै जना प्रतिनिधि पात्रको एकै स्वर छ– नेपालमै जापानी भाषा सिकेर आइएन भने त्यो ठूलो भूल हुन्छ।

हामी चर्चा गर्दैथियौँ विद्यार्थी भिसाको।

यस भिसामा आउनेले सुरुका दुई वर्ष भाषा कक्षा पढ्नुपर्छ। यो तह पास गरेपछि दुई विकल्प अगाडि आउँछन्। एक, विश्वविद्यालय छिर्ने र अर्को प्राविधिक धार समात्ने।

विश्वविद्यालयको पढाइ सामान्यतः ४ वर्षको हुन्छ। कुनै २ वा ३ वर्षमा सकिने खालका पनि हुन्छन्।

विद्यार्थी भिसामा गएका अधिकांशको रोजाइमा पर्नेचाहिँ प्राविधिक धार हो।

‘भाषाको ज्ञान राम्रो भएका, छात्रवृत्तिमा आएका, नेपालमै शैक्षिकस्तर राम्रो बनाएर आएकाहरूले केहीले मात्र युनिभर्सिटी रोजेको पाइन्छ,’ थापा सुनाउँछन्, ‘नत्र भने विद्यार्थी भिसामा आएका अधिकांशले रोज्ने प्राविधिक धार नै हो।’

किन त?

‘कुरा नलुकाइकन भन्नु पर्दा मध्यम वर्गीय अधिकांश जो विद्यार्थी भिसामा छिरेका हुन्छन्। उनीहरूको उद्देश्य यहाँ आएर कमाइ गर्नु नै हुन्छ,’ थापा थप्छन्, ‘चाँडो पैसा कमाउने उपायको लागि उत्तम विकल्प नै यही हो। जसलाई यहाँको भाषामा सेनमन गाको भनिन्छ।’

भाषा स्कुल दुई वर्ष र सेनमन गाको दुई वर्ष पढेपछि भने अब वर्किङ भिसाका लागि बाटो खुला हुन्छ।

वर्किङ भिसा कसरी प्राप्त हुन्छ भन्नअघि चर्चा गरौँ डिपेन्डेन्ट भिसा’को।

जापान छिर्नको लागि अर्को प्रचलित र मितव्ययी माध्यम हो यो।

बाबुआमा वा श्रीमान्/श्रीमतीको आश्रयमा यसरी जापान पुग्ने नेपाली मनग्गे छन्। सिर्जना पनि डिपेन्डेन्ट भिसामा जापान पुगेकी हुन्।

उनी मात्र होइन, उनको परिवार नै जापानमा छ। १२ वर्षअघि जापान गएका बुवाको डिपेन्डेन्टमा सर्वप्रथम आमा र दिदी आठ वर्षअघि जापान गए। त्यसपछि दाइ सात वर्षअघि पुगे भने उनी पनि ६ वर्षअघि छिरिन्।

डिपेन्डेन्टमा जानेहरू विद्यार्थी भिसामा जानेभन्दा कम आर्थिक भारमा पुग्छन्। जाने प्रक्रियामा भिन्नता छ। यद्यपि, पुगेपछिका केही कुरा भने समान छन्।

जस्तै, काम गर्न पाउने समय विद्यार्थी भिसाकै सरह हो- हप्ताको २८ घण्टा। अर्को महत्त्वपूर्ण कुरा, वर्किङ भिसा प्राप्तिका लागि उनीहरूले पनि दुई वर्षे भाषा कक्षा र त्यसपछिको ग्राजुएसन (सेनमन गाको) पूरा गर्नुपर्ने हुन्छ।

अब चर्चा गरौँ ‘वर्किङ भिसा’को।

विद्यार्थी भिसा वा डिपेन्डेन्ट भिसालाई वर्किङ भिसामा कसरी बदल्ने त?

ग्राजुएसनपछि कामको लागि कम्पनीमा निवेदन दिन सकिन्छ। जहाँ लिखितदेखि मौखिकसम्मका परीक्षा लिइन्छन्।

सुरुमा त लिखित परीक्षा पास गर्नैपर्छ। यसपछि पालो आउँछ मौखिक (अन्तर्वार्ता)को। कम्पनीहरूले ड्रेस कोड, भाषा, व्यक्तिको स्वभाव, आत्मविश्वास लगायतका कुरासमेत हेर्ने गरेको अनुभव सुशीलसँग छ। ग्राजुएसनपछिको पहिलो छनोटमा आफूलाई तीन पटकसम्म अन्तर्वार्ता लिइएको उनले सुनाए।

श्रीमतीसँग सुशील घिमिरे

यी परीक्षामा पास भएर कुनै कम्पनीमा काम गर्न थालेपछि कलेजले दिएको ग्राजुएसन प्रमाणपत्र, छनोट भएको कम्पनीले दिएको नियुक्तिपत्र (जापानी भाषामा नाइतेइ) लगायत कागजात अध्यागमन कार्यालयमा आवेदन दिनुपर्छ।

कागजातहरू, व्यक्तिको जापानमा रहँदाको इतिहास आदि हेरेर इमिग्रेसनले यहाँ काम गर्नका लागि दिने अनुमतिको प्रमाणपत्र नै ‘वर्किङ भिसा’ हो।

यी प्रक्रिया पूरा गर्नुको अर्थ इमिग्रेसनले प्रमाणपत्र दिन्छ नै भन्नेचाहिँ होइन। कहिलेकाहीँ नदिन पनि सक्छ। वा कसैलाई थोरै समयको र कसैलाई अलि बढी समयको पनि दिन सक्छ। इमिग्रेसनले अनुमति नै नदिनेदेखि एक वर्ष, तीन वर्ष वा पाँच वर्षको भिसा दिन सक्छ।

अनुमति नदिने वा कति वर्षको दिने भन्ने व्यक्तिको विगतको इतिहास, उसले पढेको विषय र काम गर्न लागेको कम्पनीको प्रकृति आदि कुरामा निर्भर रहन्छन्।

‘पढाइअनुसार काम रहनेछ भने इमिग्रेसनले नो भन्न पनि सक्छ,’ सुशील भन्छन्, ‘यस्तो अवस्थामा अर्को कम्पनी छनोट गरेर फेरि आवेदन दिन पाइन्छ।’

ह्यान्ड क्यासमा काम गर्ने कुरा यहाँनेर पनि जोडिन आउने बताउँछन् जगुन। यदि कोही व्यक्तिले विद्यार्थी कालमा नियम विपरीतका गतिविधि गरेको छ भने भिसा नपाउने वा थोरै समयका लागि पाउने खतरा रहने उनी प्रस्ट्याउँछन्।

भिसा आवेदन गर्दा होस् वा नवीकरणका लागि, अध्यागमनमा बुझाउनुपर्ने एउटा कागजात बैंक स्टेटमेन्ट पनि हो। विद्यार्थी भिसामा रहेको व्यक्तिले तोकिएको समयभन्दा धेरै काम गरेको स्टेटमेन्टबाट खुल्न गएमा भिसा प्राप्तिमा समस्या पर्छ।

यही छल्नको लागि ह्यान्ड क्यासमा काम गर्नेलाई पनि कहीँ न कहीँ चाहिँ अप्ठेरो पर्ने सुशीलको बुझाइ छ। ह्यान्ड क्यासमा काम लगाउन कम्पनी मालिकलाई पनि सजिलो हुँदैन। लुकीछिपी हुने यस्ता गैरकानुनी कार्यमा नलाग्न उनी सुझाव दिन्छन्।

जापानमा स्थायी बसोबास (पीआर)को आवेदन भने १० वर्षपछि मात्र दिन पाइन्छ।

आप्रवासीलाई हेर्ने दृष्टिकोण
जापानमा आप्रवासीलाई हेर्ने दृष्टिकोण पछिल्ला समय अन्य देशमा सुनिएजस्तो चाहिँ छैन। १० वर्ष यहाँ बिताएका सुशील आफूले विभेदको अनुभव नगरेको बताउँछन्।

सुरुसुरुमा स्थानीयसँग त्यति बातचित नभए पनि अहिले भने राम्रैसँग कुराकानी हुने उनी सुनाउँछन्। धेरै वर्ष यहाँ बिताइसक्दा आफूमा भाषाको सहजताले पनि काम गरेको उनलाई लाग्छ।

उसो त उनी आफ्नो विभागमा काम गर्नेमध्ये एक्ला विदेशी हुन्। हरक्षण स्थानीयसँगै काम गर्ने उनले विभेद महसुस गरेका छैनन्।

उनी टोयोटा ग्रुपको दाइहात्सु नामक कम्पनीमा काम गर्छन्। जहाँ उनको काम भनेको नवनिर्मित गाडीको सुरक्षा स्थिति जाँच गर्नु हो।

सुशीलले काम गर्ने कम्पनीमा यसरी गाडीको सुरक्षा दुर्घटना परीक्षण गरिन्छ (हटकार्स)

जगुनको बुझाइचाहिँ अलिक फरक छ।

उनी आप्रवासीलाई हेर्ने नजरमा केही न केही फरक त परिहाल्ने बताउँछन्। उनले एउटा अनुभव सुनाए, ‘मेरो एक दिदी नाता पर्ने आफन्त यहाँ पीआर लिएरै बस्नुभएको छ। उहाँले केही समयअघि आफ्नी १६ वर्षीया छोरीलाई डिपेन्डेन्टमा ल्याउन खोज्नुभएको थियो। तर, इमिग्रेसनले १६ वर्ष भइसकेपछि किन डिपेन्डेन्ट भन्ने तर्क गरेर भिसा दिएन।’

स्थायी बसाेबास (पीआर) भइसकेकाहरूका श्रीमान्‌/श्रीमती र छोराछोरीलाई डिपेन्डेन्टमा ल्याउन सजिलै हुन्छ भन्ने लागेको थियो उनलाई। तर, माथि उल्लेखित घटनाप्रति इंगित गर्दै जगुन भन्छन्- जापानले आप्रवासी नीति कडा पार्दै लगेको हो कि!

यस्तै, पीआरधारीले आफ्ना बाबुआमालाई भ्रमण भिसामा मात्र ल्याउन पाउने प्रावधानले पनि आप्रवासीलाई सहज छ भनेर भन्न नसकिने उनी बताउँछन्।

जापानकै राहदानी लिनेहरूलाई भने अलि सहज छ।

‘रातो पासपोर्ट भनिने यहीँको पासपोर्ट लिएपछि भने व्यापार व्यवसाय गर्न, यहाँबाट अन्य देश घुम्न जान सहज छ। साथै, यस्तो पासपोर्ट लिनेलाई मतदानको अधिकार पनि छ,’ जगुन सुनाउँछन्।

त्यस्तै, सिर्जनाले अर्को गजब कुरा सुनाइन्। जापानका मानिसहरू बाटोमा जम्काभेट हुँदा चिनेको होस् वा नचिनेको, नमस्कार भन्न छुटाउँदैनन्।

‘जस्तै, हामी भर्‍याङबाट झरिरहेका छौँ, कुनै जापानिज त्यहीँबाट उक्लिरहेको छ र आँखा जुध्यो भने ओहायो गोजाइमास भन्छ,’ सिर्जना भन्छिन्, ‘चिनजान भएकासँग त अभिवादन आदानप्रदान हुनु स्वाभाविकै भयो। नचिनेकोले पनि यसरी परिचितझैँ व्यवहार गर्नु यहाँको राम्रो संस्कार लाग्यो।’

जापानमा ओहायो गोजाइमास भनेको नेपालमा नमस्ते भनेजस्तै अभिवादन हो। अंग्रेजी भाषामा जस्तै जापानीमा पनि यस्तो अभिवादन समयअनुसार फरकफरक हुन्छ।

‘बिहान भेट हुँदा ओहायो गोजाइमास भनिन्छ भने दिउँसो भेट हुँदा कोनिचिवा र साँझमा कोन्वाबा भन्ने चलन छ,’ सिर्जना बेलिबिस्तार लगाउँछिन्।

काम गर्ने समयमा पनि यहाँ निकै अनुशासित हुनुपर्छ। चर्को बोल्ने, होहल्ला गर्ने, जिस्किने, छिल्लिने कुनै पनि कुरा कार्यस्थलमा चल्दैन। कामको दौरान आवश्यक परेका कुरामा मात्र बोल्न पाइन्छ, त्यो पनि नम्र र शान्तसँग।

सिर्जना गौतम

‘मोबाइल चलाउने, कुराकानी गर्नेजस्ता कुरा कि ब्रेकको समय हो कि त ड्युटी सकिएपछि। कामको समयमा काममै दत्तचित्त हुन्छन् सबै।’ सिर्जना सुनाउँछिन्।

वैदेशिक रोजगारी र बसाइका सर्त
नेपालमा रहनेहरूलाई वैदेशिक रोजगारीप्रति जुन आकर्षण देखिन्छ, त्यो यहाँको कमाइलाई मात्र हेरेर धारणा बनाउन नहुने माथिका तीनै जना प्रतिनिधि पात्रको धारणा छ।

महँगी, लगनशीलता, कार्यशैलीलगायत सबै कुरालाई ध्यान दिनुपर्ने उनीहरूको कथन छ।

जापानको ओसाकामा परिवारसँग बस्ने गौतमलाई आफू आएको बखतभन्दा अहिले ह्वात्तै बढेको महँगी देख्दा अचम्म लागेको छ।

त्यतिबेला लगभग तीन हजार येनमा पाइने १० किलो चामल अहिले बढेर आठ हजार येनभन्दा बढी पुगेको उनी सुनाउँछिन्।

चामलको भाउ यसरी अकासिनुमा जगुन घट्दो उत्पादन र बढ्दो विदेशीको संख्याले भएको हुन सक्ने अनुमान लगाउँछन्। उनले पनि आफू सन् २०१८ मा आउँदा ९ हजार येनमा किनेको ३० केजी चामलको सोही गुणस्तरलाई अहिले प्रति ३० केजी १८ हजार येन पुगेको छ।

महँगो मात्र होइन, केही समयअघि बजारमा चामलको अभाव नै भयो। चामल मात्र होइन, अहिले फलफूल, तरकारी आदिको पनि भाउ बढेको छ।

‘५/६ दाना भएको मध्यम साइजका स्याउको प्याकेटलाई अहिले ८ सयदेखि हजारसम्म पर्छ,’ सिर्जना भन्छिन्, ‘पहिले त्यही स्याउ ३/४ सयमै पाइन्थ्यो।’

जगुनका अनुसार महँगीकै कारण धेरै आप्रवासीले तरकारीभन्दा मासु बढी किन्ने गरेको पाइन्छ। तरकारी र मासुको मूल्य उस्तै पर्न आएपछि धेरैले यसो गरेको उनको बुझाइ छ।

तरकारी नै किने पनि फ्रोजन किन्ने गरेको उनी सुनाउँछन्। ‘फ्रेस तरकारीको तुलनामा फ्रोजन गरेको सस्तोमा पाइन्छ,’ जगुन भन्छन्, ‘ताजा तरकारी पनि खानुपर्ने हो तर खर्च पनि हेर्नुपर्‍यो।’

सिर्जनाले काम गर्ने सुपरमार्केटमा नेपालीहरू प्रशस्तै छन्। उनको संगतमा प्राय: पोखरा, बागलुङ, पर्वत, म्याग्दीतिरका साथीहरू छन्। उनीहरू श्रीमान्‌को डिपेन्डेन्टमा जापान छिरेका हुन्।

‘कोही साथी त मैले यस्ता पनि भेटेको छु, जो यहाँ आएकोमा पश्चाताप गर्ने,’ उनी सुनाउँछिन्, ‘यत्तिको दु:ख गर्‍यो भने त नेपालमै पनि राम्रो हुन्छ नि भनेर गुनासो गरेको पाएँ।’

तर, काम गर्दै जाँदा यहाँको सुविधा र आम्दानीपछि ती साथीमा बानी पर्दै गयो।

‘शैक्षिकस्तर माथिल्लै तहमा भएको, नेपालमा राम्रै जागिर गरेका व्यक्तिलाई सुरुसुरुमा त्यस्तो अनुभव हुँदो रहेछ,’ सिर्जना थप्छिन्, ‘उहाँ त्यति राम्रो काम थियो, यहाँ उभिएर काम गर्नुपरेको छ भन्ने ती साथी अहिले सन्तुष्ट नै देखिन्छिन्।’

जापानका अधिकांश कार्यस्थलमा उभिएर काम गर्ने अभ्यास छ। कतिपय सरकारी कार्यालय, कुर्सीमा बस्नैपर्ने कामबाहेक अरूमा उभिएरै काम गर्ने हो।

‘यहाँ त काम गर्दा बसेर काम गर्ने भन्ने नै हुँदैन। पसल, सुपरमार्केट, फ्याक्ट्रीजस्ता ठाउँमा कुर्सी नै राखिएको हुँदैन,’ जगुन भन्छन्, ‘यस्ता ठाउँमा बसेर काम गरेको त यहाँ राम्रो पनि मान्दैनन्।’

सुरुसुरुमा त आफूलाई पूरै समय उठेर काम गर्न गाह्रो लागे पनि अहिले भने बानी पर्दै गएको उनी सुनाउँछन्।

नेपालखबरसँग फोनमा कुरा गरिरहेका उनी हाँसो मिसाउँदै भन्छन्, ‘अहिले त यति धेरै बानी परेछ कि तपाईँसँग कुरा गर्दा पनि म त उभिइरहेको छु।’

जापानमा काम गरिरहेकाहरूलाई यो अनौठो नै लाग्दैन। ‘बैंक, सरकारी कार्यालयतिर कुर्सीमा बसेर काम गरेको देखेको छु, नत्र यहाँ त उठेरै काम गर्ने हो। हामीलाई त बानी परिसक्यो, केही जस्तै लाग्दैन,’ सिर्जना सहजरूपमा भन्छिन्।

जापान बसाइको अर्को महत्त्वपूर्ण पाटो भनेको घरभाडा हो। यहाँ कोठा पाउन त्यति सजिलो छैन। र, नेपालमा जसरी कोठा खोज्दै हिँड्ने र खाली भेटियो भने घरबेटीसँग कुराकानी गर्ने भन्ने हुँदैन।

यसका केही मापदण्ड छन्। कोठा खोजिदिने कम्पनी हुन्छन्। ‘यदि आफूलाई कोठा चाहिएको छ भने सुरुमा यिनै कम्पनीको सम्पर्कमा जाने हो। जसलाई जापानी भाषामा फुदोसान भनिन्छ,’ जगुन भन्छन्, ‘यही फुदोसानमा गएर आफूलाई चाहिने विवरणसहितको कोठाका लागि बायोडाटासहित निवेदन हो।’

यो एजेन्ट कम्पनीले घरबेटीसँग करारमा घर लिएको हुन्छ। आफूले खोजेअनुसारको कोठा उपलब्ध रहेछ भने फुदोसानसँगको सम्झौतामा बल्ल कोठा वा घर भाडामा लिन पाइन्छ। जसलाई आफ्नो नाममा दर्ता गर्ने भनिन्छ।

यस दर्ता प्रक्रियाको लागि मात्र फुदोसानलाई एकदेखि दुई लाख (कम्पनीको शुल्कअनुसार) येन बुझाउनुपर्छ, जुन फिर्ता नहुने रकम हो।

यसपछि मासिक भाडा छुट्टै हुन्छ।

‘मध्यम वर्गबाट आएका अधिकांश नेपालीले बस्ने कोठाको भाडा सामान्यतः ५० हजारबाट सुरु हुन्छ,’ जगुन सुनाउँछन्।

यदि कोठा सरेको हो भने पहिले बसेको कोठामा भएका टुटफुटको जिम्मा पनि स्वयं सर्ने व्यक्तिले नै लिनुपर्दछ। ‘कोठा सर्ने काम एकदम खर्चिलो छ,’ जगुन भन्छन्।

कोठा भाडामा लिनको लागि भरपर्दो साक्षी राखेर पनि लिन सकिन्छ। जस्तै, सुशीलको साक्षी उनकै कम्पनी बसेको छ भने सिर्जनाको पनि उनका बुवाको कम्पनी साक्षी बसेको छ। यस प्रक्रियाबाट पनि भाडामा लिने भनेको चाहिँ एजेन्ट कम्पनी (फुदोसान)बाट नै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad