प्रवास


एनआरएनएमा लाग्यो चुनाव, वरिष्ठ उपाध्यक्ष शर्माले गरे अध्यक्षमा दाबी

एनआरएनएमा लाग्यो चुनाव, वरिष्ठ उपाध्यक्ष शर्माले गरे अध्यक्षमा दाबी

नेपालखबर
असार ३२, २०८२ बुधबार १२:४१, आयरल्यान्ड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष डा. हेमराज शर्माले संघको आगामी अक्टोबरमा हुने १२औँ महाधिवेशनमा अध्यक्षमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका छन्। 

आयरल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै डा. शर्माले अध्यक्ष पदको लागि आफ्नो दाबी प्राकृतिक भएको बताए।

यद्यपि, सबै पक्षलाई समेट्ने गरी बृहत् एकताको लागि भने जहाँ आवश्यक हुन्छ त्यहाँ त्याग गर्न पनि आफू तयार रहेको उनको कथन छ।

‘वर्तमान अध्यक्ष डा. बद्री केसीपछि वरिष्ठ उपाध्यक्षको हैसियतले मेरो अध्यक्ष पदको दाबी स्वाभाविक हो,’ शर्मा भन्छन्, ‘मैले सिनियर उपाध्यक्षको नाताले नेतृत्व लिने कुरा हो। तर, संस्थाभित्र सबैलाई अटाउने एकता बनाउन जहाँ के सम्बोधन गर्नु पर्छ, त्यसका लागि म पछि हट्दिनँ।’

डा. शर्माले संघको १२औँ महाधिवेशन सबै पक्षलाई अटाउने एकताको अधिवेशन बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘महेशजीसँग हामी दिनहुँ छलफलमा छौँ। उहाँ साथी पनि हो। हामी एकताको लागि लचक छौँ। तर पहिला एनसीसी संरचना खडा गरौँ, सदस्यता बढाऔँ। एनसीसीको निर्वाचन भनेको संस्थाको खम्बा तयार गर्नु हो। त्यसपछि मात्रै एकताको छानो लगाउने काम गर्न सक्छौँ।’

संघको निर्वाचनमा हुने करोडौँ रुपैयाँको खर्च र त्यसबाट उत्पन्न हुने विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै डा. शर्माले आईसीसी अध्यक्ष बन्न करोडौँ रुपैयाँ खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।

उनले भने, ‘म अध्यक्षको उम्मेदवारी शुल्क बाहेक अन्य कुनै खर्च गर्नेवाला छैन। संस्थाको नेतृत्वमा पैसा हुने र नहुने सबैले पुग्न सक्ने वातावरण चाहिन्छ। नेताको ढोकाढोका धाउने प्रवृत्ति गलत हो।’

एनसीसी निर्वाचनदेखि नै पैसाको चलखेल हुने प्रवृत्ति हटाउनुपर्नेमा उनको जोड थियो। ‘एनसीसीले सधैँ माथिबाट पैसा खन्याउने बास्केट फन्डको आशा गर्नु गलत हो। त्यो प्रचलन हटिसक्यो। अहिले भएका सदस्य संख्याले पनि पुष्टि गर्छ– गत वर्षजस्तै संख्यामा सदस्य बनेका छन्, त्यो पनि एक रुपैयाँ नखर्चिकन स्वस्फूर्त रूपमा,’ उनको भनाइ छ।

एनआरएनएका सबै एजेन्डा राजनीतिक प्रकृतिका हुने भए पनि चुनाव जित्नका लागि दलको राजनीति गर्नु उचित नभएको शर्माको भनाइ छ। उनी भन्छन्, ‘हामी आफ्ना एजेन्डा लिएर राजनीतिक दलसँग छलफल गर्न सक्छौँ। तर, सामाजिक संस्थामा चुनाव जितेर आएपछि पार्टी राजनीति गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।’

उनले गैरआवासीय नेपालीसम्म संस्थाको पहुँच पुर्‍याउन एनआरएनएलाई डिजिटाइज गरिएको र आगामी दिनमा अझ परिस्कृत बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एनआरएनएका सचिव भिमकलम केसीले बृहत् एकताको लागि आवश्यक गृहकार्य भइरहेको बताए। उनले एनआरएनए सम्भावनाले भरिएको संस्था भएको उल्लेख गर्दै सबैलाई एउटै छानामुनि ल्याउन आपसी समझदारी र सहयोगको अपिल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad