भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकका आँखामा आँसु बगिरहेको थियो ।
‘गायक अमृत गुरुङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास गुरुङ अर्थ्याउँदै थिए, ‘कार्यक्रम गरेर नाफा र नोक्सानभन्दा पनि हाम्रा निम्ति यहाँ बस्नेहरूमा देखिएका खुसीका यी आँसु र हाँसोको मूल्य नै बढी छ ।’ दर्शक पनि अनुमान गरेकोभन्दा ठूलो सङ्ख्या जुटेको उनी बताउँछन्।
अवसरको खोजीमा युरोपको यो कुनासम्म आइपुगेका नेपालीमाझ नेपथ्य कन्सर्टको माहोल केही दिनअघि नै सुरु भइसकेको थियो। कतिपयका भोगाइ आफैँमा कथाजस्ता थिए। जस्तो कि, मनिष रायमाझी।
६ वर्षदेखि लिस्बनका सडकमा टुकटुक हाँक्दै आएका मनिषले केही वर्षअघि ‘शिरफूल शिरैमा’ सुनेका थिए। लगत्तै गीतमा उल्लिखित रुट पछ्याए। स्थानीयलाई उनीहरूको गाउँठाउँ उल्लेख भएको यो गीत सुनाउँदै पदयात्रा गरे।
‘नेपथ्यले मलाई मनोरञ्जन मात्र होइन, प्रेरणा पनि दिने गरेको छ,’ मनिष भन्छन्, ‘यस्तो ब्यान्ड पोर्चुगल आउन लागेको जानकारी पाएकै क्षणदेखि म खुसी थिएँ।’
अन्ततः आइतबारको रात प्रतीक्षाको त्यो घडी सामुन्ने आइपुग्यो। बेलुकीको ८ बजे ‘लिस्बोआ अओ भिभो’ हलका ढोकाहरू खुले। हलभरिका दर्शकको उत्सुकता प्रत्येक क्षण बढ्दै गयो। मञ्चमा ब्यान्डका सदस्यहरू चढेदेखि गीत सुरु भएकै क्षणसम्म एकोहोरो नाराबाजी लागिरहेको थियो, ‘नेपथ्य, नेपथ्य’। त्यही नाराका बीच मञ्चमा गायक अमृतले पहिलो कोसेली सुनाए- ‘कोसीको पानी यो जिन्दगानी’। त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दिए।
दुवै तर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुआतदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो।
‘हामी नेपाली जहाँ गए पनि भाषाले एकापसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यस भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है।’
कन्सर्टमा ३३ वर्ष पहिले नेपथ्यले तयार पारेको ब्यान्डकै पहिलो गीत ‘आँगनैभरि’ देखि केही महिनाअघि मात्र सार्वजनिक गरेको ‘कर्नालीका छाइला’ सम्ममा दर्शक उत्तिकै रमाएर नाचे। ‘जोगले हुन्छ भेट’ जस्ता कतिपय गीतमा सुरुदेखि अन्त्यसम्म सिङ्गो दर्शक जमातले साथमा साथ मिलाएर गाएको थियो।
किबोर्डको धुन बज्नेबित्तिकै अब ‘यो जिन्दगानी’ गाइँदैछ भन्ने भेउ दर्शकले पाइसकेका थिए। यो गीत प्रस्तुत गर्ने क्रममा अमृतले स्वदेशमा पढ्ने अवसर नपाएका केटाकेटीका निम्ति सक्दो योगदान गर्न युरोपका मनकारी दर्शकलाई अनुरोध पनि गरे।
दर्शक घेरामै बेल्जियमको राजधानी ब्रसेल्सदेखि आएका दावा शेर्पा पनि थिए। ‘बेल्जियममा हुने कन्सर्टमा सहभागी हुन नभ्याउने भएपछि म पोर्चुगलकै शो भ्याउन आइपुगेको हुँ,’ दावा भन्दै थिए, ‘आफू बसेको ठाउँमा सबैजसो नेपाली कार्यक्रम हेर्ने गरेको भए पनि यस ब्यान्डका मामलामा चाहिँ यसरी लामै यात्रा गरेरै भए पनि छुटाउन मन लागेन।’
कन्सर्ट हेरिसकेपछि चिताएको भन्दा बढ्ता रमाइलो र ऊर्जावान् लागिरहेको प्रतिक्रिया उनले दिए।
कन्सर्टमै पोर्चुगलका सफल रेस्टुराँ व्यवसायी सेफ टङ्क सापकोटाजस्ता दर्शक पनि थिए, जसले आफ्नो परिवार मात्र नभई आफ्नो रेस्टुराँमा कार्यरत सहकर्मीले नेपथ्यको आनन्द लिऊन् भन्दै ७५ वटा टिकट एक्लैले काटेका थिए। उनी रेस्टुराँ नै बन्द गरेर आफ्ना सहयोगी सहकर्मीहरूसहित आएका थिए।
‘मलाई अमृत दाइको सरल स्वभाव असाध्यै मन पर्छ, छोरालाई प्रेरणा मिलोस् भनेर उसलाई म उनको जीवनबारे सधैँ भनिरहन्छु,’ सापकोटाको भनाइ थियो, ‘जीवनमा एकचोटि अनुभव गर्नैपर्ने यस्तो कार्यक्रमबाट सकभर कोही वञ्चित नहोऊन् जस्तो लागेर भएजति आफ्ना सबैलाई ल्याएको छु।’
अमृतले सदाझैँ यहाँको मञ्चबाट पनि नेपालका पर्यटकीय स्थलका महत्त्वको बयान गर्दै बिदामा घर गएको बेला पदयात्रा गर्न दर्शकलाई आह्वान पनि गरेका थिए।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
पोर्चुगलपछि १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अर्को मुलुक बेल्जियम पुगिसकेको छ। सेप्टेम्बर ३ बुधबार बेलुकी एन्थ्रोपेनस्थित ‘स्टुडियो सेभेन एइडी स्टुडियोज’ मा नेपथ्यको अबको प्रस्तुति रहनेछ।
बेल्जियमको प्रस्तुतिसँगै एक महिनाअघि लन्डनको वेम्बली एरिनाबाट सुरु भएको नेपथ्यको युरोप यात्रा पनि सम्पन्न हुने आयोजकले जनाएको छ।






Shares

प्रतिक्रिया