कला


नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार

नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार

नेपालखबर
चैत २०, २०७८ आइतबार २१:५१, काठमाडौँ

विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको हो ।

प्रतियोगितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए।

१६ चैतबाट काठमाडौंको भृकुटी मण्डप बँगैचामा यो प्रतियोगिता सुरु भएको थियो। उत्कृष्ट चयन सहित पुरस्कार प्रदान गर्दै आइतबार अबेर साँझबाट यो प्रतियोगिता सम्पन्न भएको छ।

खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझ बीच कडा प्रतिस्पर्धा भएको थियो। जसमा गामबेसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट भए। उनीहरुले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।

निकै प्रतिस्पर्धा भए पनि आफूहरुले आत्म विश्वासका साथ प्रस्तुत गरेको शसक्त तुक्काका कारण उत्कृष्ट भएको जीवन र अस्मिताले बताए।

यस्तै यो राष्ट्रिय प्रतियोगितामा गामबेसी दोहोरी साँझ द्वितीय भयो। गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओली द्वितीय पुस्कार स्वरुप ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

यस्तै सो प्रतियोगितामा यस पटक दुई समूहले तृतीय स्थान हाँसिल गरेका छन्। अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन्।

तेश्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्। क्विन रोदी क्लबका श्याम राना र हरिमायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका विक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हाँसिल गरेका हुन्।

आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्वी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आइतबार उत्कृष्ट १६ बीच क्वाटर फाइनल, सेमी फाइनल हुँदै फाइनल भएको थियो।

यसै गरी यस प्रतियोगितामा सुमन खड्का, राजु लामिछानेले उत्कृष्ट पुरुष कलाकारको तथा पूजा पुन र अर्चना चापागाईँले उत्कृष्ट महिला कलाकारको पुरस्कार जिते। उनीहरुले पुरस्कार स्वरुप जनही १० हजार रुपैयाँ र प्रमाणपत्र पाए।

यस्तै अनुशासित टिमको पुरस्कार ओखलढुंगा लोक दोहोरी प्रतिष्ठान टिमले हाँसिल गरेको छ। उत्कृष्ट अनुशासित टिमको पुरस्कार स्वरुप उनीहरुले  प्रमाणपत्र र १० हजार रुपैयाँ पाए।

प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार निशान्त विक र दिल कुमारी विकले नव प्रतिभा प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाए । यसै गरी भद्रकाली आमा समूहलाई प्रोत्साहन पुरस्कार स्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो।

यस पटक यो प्रतियोगितामा सो प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको संयोजकत्वमा पूर्व अध्यक्ष, अध्यक्ष तथा अहिलेका पुस्ताका चर्चित लोक दोहोरी गायकसहित १० जनाको निर्णायक टोलीले ६१ टोलीबाट विभिन्न चरणको दोहोरी गायन पश्चात उत्कृष्ट टिम तथा कलाकारको चयन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad