कला


बलिउडमा संघर्ष गर्दै नेपाली सुन्दरी

बलिउडमा संघर्ष गर्दै नेपाली सुन्दरी

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १२:०, काठमाडौँ

नेपाली फिल्म उद्योग बलिउड फिल्मबाट प्रभावित छ। बलिउडका प्रतीक्षित फिल्म नेपाली हलमा लाग्दा अधिकांश नेपाली फिल्म आफ्नै बक्स अफिसमा पछारिने गरेका छन्।

त्यसैले बेलाबेला हाम्रा कलाकार बलिउड फिल्मको सत्तोसराप गरिरहेका हुन्छन्। तर, नेपाली कलाकार भने बलिउडमा अवसर खोज्दै दौडिरहेका भेटिन्छन्। 

अघिल्लो पुस्ताकी मनीषा कोइरालाले बलिउड बजारमा आफूलाई सफल बनाइन्।

बलिउडमा मनीषाको छुट्टै उचाइ छ। ९० को दशकमा बलिउडमा सबैभन्दा व्यस्त नायिकामध्येकी एक मनीषाले बलिउडलाई ‘दिल से, सौदागर, मन’ जस्ता सुपर हिट फिल्म दिइन्। 

मनीषापछि विभिन्न समयमा नेपाली महिलाले बलिउड बजारमा संघर्ष गरेका छन्। केहीले औसत सफलता पाए पनि धेरैको बलिउडमा जम्ने सपना सपना मात्रै बन्न पुग्यो। 

सन् १९९७ की मिस नेपाल वर्ल्ड झरना बज्राचार्यले जम्ने सपना सहित बलिउडमा डेब्यु गरिन्। तर उनले सोचेको जस्तो सफलता हात पार्न सकिनन्। 

अभिनेत्री उषा पौडेलले पनि बलिउडमा स्थापित हुने संघर्ष गरिन्। फिल्मका साथै टेलिभिजन सिरिजमा काम गरिन्। स्थापित हुन नसकेपछि अमेरिका उडिन्। 

अघिल्लो पुस्ताका अभिनेत्रीमा मात्रै होइन, पछिल्लो पुस्ताका अभिनेत्रीमा पनि बलिउडमा स्थापित हुने मोह उस्तै देखिएको छ।

नेपाली फिल्म उद्योगमा फरक पहिचान बनाएकी स्वस्तिमा खड्काले दक्षिण भारतीय मलायालम ‘थिरिमली’मा अभिनय गरिन्।

उनले अभिनय गरेको फिल्मको आइटम गीत सार्वजनिक भयो। गीतमार्फत स्वस्तिमाले प्रशंसा बटुलिन्।

काम गरेर फर्किएपछि स्वस्तिमाले  नेपालको तुलनामा उताका प्राविधिकहरू निकै अगाडि रहेको अनुभव साटिन्।

त्यसपछि स्वस्तिमा नेपाली फिल्म उद्योगमै रमाइरहेकी छिन्। नेपाली फिल्ममा उनलाई क्षमतावान् अभिनेत्रीका रुपमा चित्रण गरिन्छ। 

‘नाइँ नभन्नु ल’ ब्राण्ड मार्फत फिलम उद्योगमा भित्रिएकी आँचल शर्मालाई पनि दक्षिण भारतीय चलचित्रले आकर्षित गरायो।

उनी चलचित्र ‘हिट म्यान’मा अनुबन्धित भइन। यो चलचित्रमा काम गर्न उनले आफ्नो लुक्ससमेत परिवर्तन गरेकी थिइन्।

आँचलको पनि विदेशी चलचित्रप्रतिको लगाव एकबाट दुई हुन सकेको छैन। तथापि उनले नेपाली फिल्म उद्योगको सीमारेखा पार गरेर दक्षिण भारतीय चलचित्रमा पाइला चालेकी छिन्। 

नेपाली फिल्म उद्योगमै राम्रोसँग स्थापित हुन नसकेकी अदिती बुढाथोकी बलिउडमा स्थापित हुने संघर्षमा छिन्। अधिकांश समय मुम्बईमा बिताउने उनी एजेन्सी मार्फत नै काम गरिरहेकी छिन्।

नेपाली चलचित्रमा आफूलाई अब्बल साबित गर्नु अघिनै बलिउडमा सघर्ष गर्न पुगेकी अर्की अभिनेत्री हुन सुरबिना कार्की।

बलिउडमा स्थापित हुने अठोट सहित प्रवेश गरेकी सुरविना स्थापित हुने सघर्षमै रहेकी छिन्। 

बलिउडमा करिअर खोज्दै पुगेकी मुना गौचन पनि स्थापित हुने संघर्षमा छिन्।

बलिउडमा स्थान पाउन मात्रै पनि नेपाली कलाकारलाई निकै चुनौती देखेकी मुनालाई जसरी पनि बलिउडमा जम्नु छ।

यही लक्ष्यका साथ संघर्ष गरिरहेकी मुना सफलताका लागि मेहनत गर्ने बताउँछिन्। 

बलिउडमा सफल बन्ने एक मात्रै लक्ष्य बोकेर तेस्रो लिङ्गी अञ्जली लामाले पनि बलिउड यात्रा तय गरेकी छिन्।

उनी सन २०१७ मा भारतको फेसन सप्ताहमा परलैङ्गिक महिला मोडलका रूपमा सहभागी हुने प्रथम नेपाली महिला पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad