विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले नेपालका हालसम्मका धेरै कीर्तिमान तोडेर ऐतिहासिक सफलता पाएपछि यसको सिक्वेल ल्याउने घोषणा निर्माण पक्षले गरेको छ।
फिल्म निर्माता कम्पनी सभेन सिजले आइतबार काठमाडौँमा एक कार्यक्रम गरी यो घोषणा गरेको हो।
पूर्णबहादुरको सारंगीको ऐतिहासिक सफलताको उपलक्ष्यमा उत्सव मनाइरहेको निर्माण टोलीले अर्को संस्कर्ण ल्याउने घोषणा गरेको हो। उक्त कार्यक्रममा सेभेन सिजले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले लोगोसहित फिल्मको अनावरण गरेका हुन्।
विजय बराल, अञ्जना बराइली लगायतका कलकार पनि कार्यक्रम उपस्थित छन्।
भिडिओ:
गत कात्तिक १५ गतेबाट प्रदर्शन थालिएको यस फिल्मले नेपालभरि ५० करोड र विदेशमा २५ करोडभन्दा माथि व्यापार गरेको भनिएको थियो।
यसबीचमा नेपाली चलचित्र उद्योगमा उसले विभिन्न कीर्तिमान राख्न सफल भएको छ।
अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड पनि यसै फिल्मको नाममा दर्ज भएको छ। व्यापारमा मात्रै होइन, ‘पूर्णबहादुरको सांरगी’ समावेश गीतहरू उत्तिकै लोकप्रिय बन्न पुगे। ‘रैया चाँदीको’ देखि ‘काँधेकुरी’, ‘नोटैले’ ‘मैझारो’ र ‘चरी’ बोलका गीतहरू टिकटकलगायत सामाजिक सञ्जालमा छाएका छन्।
यस फिल्ममा पश्चिम पहाडको गाइने समुदायका बाबुछोराको कथा छ। मुख्य भूमिकामा रहेका विजय बराल र अञ्जना बराइली यही फिल्मबाट करिअरको उपल्लो सिँढी चढेका छन्। रैया चाँदीको गीतमा मेलिना राईसँग पुरूष स्वर दिएका आशिष अविरलको गायकी स्थापित गराउन पनि यही फिल्म प्रस्थानबिन्दु बन्न पुगेको छ। यसअघि उनी संगीतकारको परिचयमा सीमित थिए। काँधेकुरीका गायक प्रशान्त सिवाकोटी यही गीतबाट चर्चित बन्न पुगे।
सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म १ करोड ३० लाखमा बनेको हो।
Shares

प्रतिक्रिया