दीपकप्रसाद आचार्य (काकु) डेब्यु निर्देशित फिल्म ‘परान’ ले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। प्रदर्शनको २७ औं दिन बुधबारसम्म यस फिल्मले १५ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ। योसँगै ‘परान’ सर्वकालिन आठौं धेरै कमाउने नेपाली फिल्म बनेको छ।
नीर शाह अभिनीत यस फिल्मले ‘छक्कापञ्जा ५, छक्कापञ्जा २ र ‘कोहिनूर’ को व्यापारलाई उछिनेको छ। कमाइमा उछिनेसँगै ‘परान’ धेरै कमाउने नेपाली फिल्मको सूचीमा ८ औं स्थानमा उक्लिएको हो।
यहीं रफ्तार कायम रहेमा यस फिल्मले अरू फिल्मको पाँचौ सातामा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को कमाइलाई उछिन्न सक्छ। ‘महाजात्रा’ ले १५ करोड ६७ लाख कमाउँदा ‘छक्कापञ्जा १’ को कलेक्सन भने १६ करोड १० लाख रहेको छ।
सुरुमा फिल्मको व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले ६ लाखको ओपनिङ गरेको थियो। तर, तीन-चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थालेको छ।
शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय छ।
Shares

प्रतिक्रिया