कला


कमाठीपुराकी गंगुबाई, लालीबजारकी मधुबाला

स्वस्तिमाको करिअरकै परिपक्व काम
कमाठीपुराकी गंगुबाई, लालीबजारकी मधुबाला

अनिल यादव
बैशाख २८, २०८३ सोमबार १७:२०, काठमाडौँ

सञ्जयलीला भन्साली निर्देशित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ मा एउटा शक्तिशाली दृश्य छ, जहाँ आलिया भट्ट (गंगुबाई) कोठीमा हुर्किएकी एक बालिकालाई विद्यालय भर्ना गर्न जान्छिन्। विद्यालयले ‘बाबुको नाम’ खोज्छ र गंगुबाईले समाजको त्यो पितृसत्तात्मक सोचमाथि कडा प्रहार गर्दै भन्छिन्– ‘माँ का नाम काफी नहीँ है क्या?’ 

ठ्याक्कै त्यस्तै दृश्य र त्यस्तै मर्म बोकेर नेपाली पर्दामा आएको छ– फिल्म ‘लालीबजार’। पश्चिम नेपालको वादी समुदायको कथा र उनीहरूले भोग्दै आएको ‘नत्थी’ प्रथालाई केन्द्रमा राखेर बनाइएको यो फिल्मले मुम्बईको कमाठीपुरा र नेपालको लालीबजारका महिलाहरूको पीडाको भूगोल कसरी एउटै छ भन्ने देखाउन खोजेको छ। दुवै फिल्मले ‘देहव्यापारको दलदल’, ‘पितृसत्तात्मक समाजको दोहोरो चरित्र’ र ‘सन्तानको शिक्षाका लागि बाबुको नामको झमेला’लाई मुख्य मुद्दा बनाएका छन्।

उसो त प्रदर्शनमा नआउँदै यो फिल्म विवादित पनि बन्यो, मुद्दा अदालतसम्मै पुग्यो। जसरी फिल्मको फस्ट लुक सार्वजनिक गरिएको थियो, भलै त्यो निर्माण टिमको एउटा रणनीति थियो, तर त्यसले उक्त समुदाय सशंकित हुनु स्वाभाविक पनि थियो। त्यो समुदाय, जो सधैँ आन्दोलनमा छ। सडकमा छ। २०६४ मा भएको वादी आन्दोलन ४८ दिनसम्म चल्यो। वादी महिलाहरूले अर्धनग्न प्रदर्शन गरेर यो समाजलाई जवाफ दिए। २०६५ पुस २३ गते सरकारले वादी समुदायसँग सम्झौता गर्दै वादी समुदायलाई यौनशोषणमुक्त समुदाय घोषणा गर्‍यो। तर घोषणाको डेढ दशक नाघिसक्दा पनि उक्त समुदायले आत्मसम्मानको लडाइँ जारी राखेको छ। 

यसको कारण यही समाज हो। कुनै पनि समाजको मापन सीमान्तकृत महिलालाई हेर्ने दृष्टिकोणबाट हुन्छ। नेपाली समाजको एउटा अँध्यारो पाटो छ, जहाँ एउटा समुदायलाई पुस्तौँदेखि आफ्नो मनोरञ्जनको विषय बनाएर गलाउन विवश पारिएको छ।

वादी समुदायको बस्ती र त्यहाँभित्रका अँध्यारा कथाहरू नेपाली समाजको एउटा यस्तो पाटो हो, जसलाई हामीले प्रायः देख्न चाहेनौँ वा देखे पनि अनदेखा गरिरह्यौँ। निर्देशक यम थापाले फिल्म ‘लालीबजार’ मार्फत त्यही अँध्यारो बस्तीभित्रको एउटा ‘उज्यालो खोजिरहेकी आमा’ को कथालाई पर्दामा उतारेका छन्। यो फिल्म एउटा कथा मात्र होइन, यो दशकौँदेखि नेपाली राज्यसत्ता र समाजले वादी समुदायमाथि गरेको विभेद र ‘नत्थी’ जस्तो कुप्रथाले उनेको एउटा पीडादायी इतिहास देखाउने प्रयत्न पनि हो।

वादी समुदाय ऐतिहासिक रूपमा गायन र नृत्यका माध्यमबाट राजपरिवार र सामन्तहरूलाई मनोरञ्जन दिने समुदायका रूपमा परिचित थियो। तर, समयको परिवर्तनसँगै उनीहरूले आफ्नो कलाको उचित मूल्य पाएनन् र अन्ततः यो समुदायलाई देहव्यापारको दलदलमा धकेलियो। फिल्मको मूल कथा ‘नत्थी’ प्रथामा जोडिएको छ। कुनै समय रजौटा र जमिनदारहरूले वादी किशोरीहरूलाई पहिलोपटक शारीरिक रूपमा उपभोग गर्ने र त्यसको बदलामा केही रकम दिने यो प्रथा आधुनिक सभ्यताको ठूलो कलंक हो।

‘लालीबजार’ ले त्यही कलंकलाई बोकेर बाँचिरहेकी पात्र मधुबाला (स्वस्तिमा खड्का) को कथा भन्छ, जो आफ्नो कोखबाट जन्मिएकी छोरीलाई त्यो दलदलबाट जोगाउन चाहन्छिन्। निर्देशक यम थापाले ‘लालीबजार’लाई एउटा सुन्दर प्रेम कथाबाट सुरु गरेर गम्भीर सामाजिक विद्रोहमा पुर्‍याउन खोजेका छन्। फिल्मको सुरुवातमा मधुबाला (स्वस्तिमा खड्का) र हुलाकी नारायण (विशाल देवकोटा) बीचको प्रेमले दर्शकलाई आशावादी संसारमा लैजान्छ। बेनामी चिठ्ठी र कोमल संवादहरूले यो समुदायका नारीहरूको पनि सपना हुन्छ भन्ने कुरालाई उजागर गर्छ। 

तर, जब मधुबाला नारायणसँग भागेर बाहिरी संसार (आफन्तको घर) मा जान्छिन्, तब फिल्मको वास्तविक र क्रूर पाटो खुल्छ। जब नारायणका आफन्तले मधुबालाको पहिचान थाहा पाउँछन्, उनीहरूको तिरस्कार र घृणाले मधुबालालाई फेरि त्यही ‘लालीबजार’ मै फर्किन बाध्य बनाउँछ।

गंगुबाईमा जस्तै, यहाँ पनि समाज यी महिलाहरूलाई रातको अँध्यारोमा उपभोग गर्न त तयार हुन्छ, तर उज्यालोमा आफ्नो परिवार वा समाजको हिस्सा बनाउन किमार्थ तयार हुँदैन। ‘सभ्य’ भनिने समाजको यो दोहोरो चरित्र नै फिल्मको मुख्य द्वन्द्व हो।

फिल्मको दोस्रो भागमा जब मधुबालाकी छोरी ‘महारानी’ जन्मन्छिन्, तब फिल्म ‘गंगुबाई काठियावाडी’ को त्यो चर्चित विद्यालय भर्नाको द्वन्द्वसँग ठ्याक्कै जोडिन्छ। गंगुबाईले कामाठीपुराका बच्चाहरूलाई शिक्षा दिलाउन जसरी समाज र धर्मगुरुहरूसँग लडेकी थिइन्, मधुबालाले लालीबजारमा त्यस्तै युद्ध लड्नुपर्छ।

विद्यालयले जब बाबुको नाम खोज्छ, मधुबाला विवश हुन्छिन्। उनले लालीबजारका नियमित ग्राहकहरू र गाउँका पहुँचवाला व्यक्तिहरूसँग ‘बाबुको नाम’ सापटी माग्छिन्, तर कसैले पनि उनलाई बाबुको नाम दिन मान्दैनन्। यो दृश्यले हाम्रो कानुन र समाजको त्यो जडतालाई प्रहार गर्छ, जसले आमाको अस्तित्वलाई अझै पनि बाबुको नामबिना अधुरो देख्छ। ‘गंगुबाई’ मा आलिया भट्टले बोलेका संवादहरू र ‘लालीबजार’ मा स्वस्तिमा खड्काको मौन आँसुको अर्थ एउटै छ– सन्तानको भविष्यका लागि एउटी आमाको रगत र त्याग काफी छैन र?

वादी समुदायमा रहेको ‘नत्थी’ प्रथा (किशोरीहरूको कुमारीत्वको पहिलो लिलामी) फिल्मको सबैभन्दा दुखद पक्ष हो। यसलाई फिल्ममा रवीन्द्रसिंह बानियाँ (राजा साहेब) मार्फत देखाइएको छ। रवीन्द्रले फिल्मभरि थोरै मात्र संवाद बोलेका छन्, तर उनको उपस्थिति नै आतंकपूर्ण छ। गंगुबाईमा जस्तै यहाँ पनि एउटा ‘सिस्टम’ छ, जसले महिलाहरूलाई वस्तुका रूपमा हेर्छ। राजा साहेबको हातमा सधैँ रहने बन्दुक र उनको प्रवेशसँगै आउने चरा कराएको आवाजले उनलाई एउटा हिंस्रक सिकारीका रूपमा स्थापित गरेको छ।

निर्देशक थापाले फिल्ममा केही निकै शक्तिशाली र प्रतीकात्मक दृश्यहरूको प्रयोग गरेका छन्। जस्तै, मधुबालाले राजा साहेबबाटै बन्दुक चलाउन सिक्नु। यो एउटा यस्तो प्रतीकात्मक दृश्य हो, जहाँ शोषकले नै थाहै नपाई शोषितलाई आफ्नो विरुद्ध लड्ने हतियार सिकाइरहेको हुन्छ। अन्त्यमा त्यही बन्दुक मधुबालाले आफ्नी छोरी र आफ्नो अस्तित्व जोगाउन प्रयोग गर्छिन्, जुन महिला सशक्तिकरणको एउटा उत्कृष्ट ‘मेटाफोर’ हो।

गहिरो सामाजिक मुद्दा उठाउनु फिल्मको सबल पक्ष हो। वादी समुदायको पीडालाई ‘देखाउनका लागि’ मात्र नभई उनीहरूको अस्तित्वको लडाइँका रूपमा प्रस्तुत गरिएको छ। 

यो फिल्मलाई स्वस्तिमा खड्काको करिअरको सबैभन्दा परिपक्व काम मान्न सकिन्छ। ‘बुलबुल’पछि उनले ‘लालीबजार’ मा आफूलाई पूर्ण रूपमा एउटा फरक र चुनौतीपूर्ण चरित्रमा ढालेकी छन्। एउटी विवश महिलादेखि लिएर आफ्नो छोरीका लागि बन्दुक उठाउनेसम्मको उनको चरित्र रूपान्तरण निकै प्रभावशाली छ। विशेषगरी छोरीलाई राजा साहेबबाट जोगाउन उनले गर्ने संघर्षमा उनको आँखाबाट पोखिने डर र साहस दुवैलाई उनले सन्तुलित रूपमा प्रस्तुत गरेकी छन्। 

नारायणको भूमिकामा देखिएका विशाल देवकोटाले आफ्नो पात्रलाई पूर्ण न्याय गरेका छन्। सुरुमा प्रेमीका लागि जे पनि गर्न तयार र पछि सामाजिक संरचनाका अगाडि विवश देखिने प्रेमीको भूमिकामा उनी जमेका छन्।

बच्ची ‘महारानी’को रोलमा समाइरा थापाको अभिनय गज्जब छ। उनको निर्दोष आँखा र अभिनयले एउटी अबोध बालिकाले भोग्नुपर्ने सामाजिक विभेदलाई दर्शकको मनसम्म पुर्‍याउँछ। उनी फिल्मको ‘इमोसनल एंकर’ हुन्। 

यद्यपि, ‘लालीबजार’ कमजोरीमुक्त छैन। फिल्ममा केही सुधार गर्न सकिने पाटाहरू छन्। कतिपय ठाउँमा संवाद र दृश्यहरू निकै लामा र तन्किएका छन्, जसले गर्दा दर्शकको ‘इमोसनल कनेक्सन’ बीचमा टुट्न सक्छ। जस्तै, मधुबाला बाहिरी दुनियाँबाट लखेटिएर फेरि लालीबजारमा फर्किएपछि नारायणकोसँगको भेटमा जुन लामो संवाद र रुवाबासी देखाइएको छ, त्यसले कता–कता दर्शकलाई कथाको मूल प्रवाहबाट टाढा लैजान्छ। पर्दामा पात्रहरू रोइरहेका हुन्छन् तर दर्शकले महसुस गर्दैनन्। 

पटकथालाई अझै कसिलो बनाउन सकिन्थ्यो। धेरैजसो दृश्यहरू यति सहजै अनुमान गर्न सकिन्छ कि दर्शकलाई ‘अब के होला’ भन्ने उत्सुकता हुँदैन। फिल्म सुरु भएदेखि अन्त्यसम्म दर्शकले धेरैजसो ठाउँमा अर्कोे दृश्यमा के हुन्छ भन्ने सहजै अनुमान गर्न सक्छन्।

अर्को कुरा, वादी समुदायको पीडा यति गहिरो र कारुणिक छ कि त्यसलाई कतिपय ठाउँमा ‘कमर्सियल’ बनाउन खोज्दा कथाको गम्भीरतामा सम्झौता भएको महसुस हुन्छ। केही गीत र दृश्यहरू फिल्मलाई ‘कर्मसियल’ बनाउन राखिएका हुन् कि जस्तो देखिन्छ, जसले वादी समुदायको वास्तविक र रुखो यथार्थलाई केही हदसम्म ‘ग्ल्यामरस’ बनाउन खोजेको भान हुन्छ। नारायणको पात्र र उसको अन्त्यका केही दृश्यहरूलाई अझै प्रभावकारी बनाउन सकिन्थ्यो भन्ने महसुस हुन्छ। 

वास्तविक जीवनका वादी अभियन्ताहरूको भोगाइ र फिल्ममा देखाइएको दृश्यबीच एउटा मसिनो खाडल महसुस हुन्छ। उमा वादीहरूले संसदको गेटमा अर्धनग्न बसेर गरेको विद्रोह वा नागरिकताका लागि गरेका आन्दोलनहरू जति क्रूर र बीभत्स थिए, फिल्मले त्यसको गहिराइलाई पूर्ण रूपमा पक्रन सकेको छैन। वादी समुदायको वास्तविक र उराठ यथार्थ देखाउनबाट कतिपय ठाउँमा फिल्म चुकेको छ। बढी फिल्मी र ग्ल्यामरस बनाउन खोज्दा कथाको गाम्भीर्य अलिकति खस्किएको महसुस हुन्छ। कुनै समुदायको कथामा फिल्म बनाउने प्रयास गरिसकेपछि त्यो समुदायले अपनत्व महसुस गर्नेगरी निर्माण समूह ज्यादा गम्भीर हुनु आवश्यक हुन्छ। उमा वादीहरूका कुरा सुन्दा जति मन चसक्क हुन्छ, फिल्मका दृश्यहरूले दर्शकलाई त्यति नै गहिरो चोट दिन सक्दैनन्।

यद्यपि, यस्तो चुनौतीपूर्ण र संवेदनशील सामाजिक मुद्दामा फिल्म बनाउने निर्णय गर्नु निर्माण पक्षको साहस हो। व्यावसायिक रूपमा सुरक्षित मसला फिल्महरू बनाउने होडबाजीका बीच ‘लालीबजार’ जस्तो मुद्दालाई छान्नु आफैँमा एउटा सराहनीय कदम हो। यस्ता फिल्महरूले समाजमा बहस सिर्जना गर्छन् र इतिहासको एउटा नमिठो कालखण्डलाई दस्तावेजका रूपमा सुरक्षित राख्छन्। 

‘लालीबजार’ एउटा यस्तो फिल्म हो, जसले तपाईंलाई हलबाट बाहिर निस्कँदा मनोरञ्जन मात्र दिँदैन, बरु एउटा भारी मन र केही प्रश्नहरू बोकेर फर्किन बाध्य बनाउँछ। यो एउटा समुदायको कथा मात्र नभई ‘बाबुको नाम’ खोज्ने हाम्रो पितृसत्तात्मक समाजप्रतिको प्रश्न पनि हो। यदि तपाईंले ‘गंगुबाई काठियावाडी’ हेरेर एउटी महिलाको साहसलाई मन पराउनुभएको थियो भने ‘लालीबजार’ पनि मन पर्न सक्छ। मुम्बईको कामाठीपुरामा गंगुबाईले जुन विद्रोहको झिल्को बालेकी थिइन्, नेपालको लालीबजारमा मधुबालाले उस्तै आगो सल्काउने प्रयास गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad