काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण सम्पन्न भएको छ।
आइतबार विभिन्न विधामा पुरस्कार वितरण गर्दै किम्फ समापन गरिएको हो।

पाँच दिनसम्म चलेको महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र देखाइएको थियो। साथै अन्तरक्रियात्मक प्यानल छलफल, समसामयिक बहस, स्टल, प्रदर्शनी तथा नेपाल र विश्वभरका विविध कथावाचन गरिएका थिए।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्रको पुरस्कार 'द ओल्डेस्ट मन्रो ब्यागर'ले जित्दै १,५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।
त्यस्तै 'द एन्टी एक्स्पिडिसन' उत्कृष्ट लघु वृत्तचित्र घोषणा भएको छ। यसले १,००० अमेरिकी डलर पुरस्कार जित्यो।
यसैगररी कथानक चलचित्रतर्फ 'हा लिङ्खा बनेङ' (दि एलिसियन फिल्ड) उत्कृष्ट फिचर फिक्सन अवार्ड जित्दै १,५०० अमेरिकी डलर हात पारेको छ।
त्यस्तै 'अली' उत्कृष्ट लघु फिक्सनका रूपमा छनोट हुँदै १,००० अमेरिकी डलर पुरस्कार प्राप्त गर्न सफल भयो।
नेपाल पानोरमा खण्डअन्तर्गत 'माई मम इज अ बडीबिल्डर' उत्कृष्ट वृत्तचित्र बन्दा 'साँझका रंगहरू' उत्कृष्ट कथानक चलचित्र घोषणा भए। दुवै चलचित्रले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।
यस्तै डकुमेन्ट्री 'म त लालीगुराँस भएछु'ले स्पेसल मेन्सन अवार्ड पायो। यस खण्डको मूल्यांकन फ्रान्सेली सांस्कृतिक संस्था एलायन्स फ्रान्सेज (काठमाडौँ) की सांस्कृतिक तथा सञ्चार संयोजक लुसी दे बारोस, निर्देशक नवीन चौहान र चलचित्र पत्रकार एवं समीक्षक रीना मोक्तानले गरेका थिए।
यस वर्षको दर्शक पुरस्कार भने जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित 'क्लाइम्बिङ फर लाइफ'ले जितेको छ। यसले १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाएको हो। यो चलचित्र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ।
भारतकी चलचित्र कार्यक्रम संयोजक दिप्ती डी’कुन्हाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा थाइल्यान्ड फिल्म अभिलेखालयकी निर्देशक चालिदा उआबुमरुङजित, नेपालका लेखक तथा कवि कुमार नगरकोटी तथा इटलीस्थित सेर्भिनो सिनेमाउन्टेन महोत्सवका निर्देशक लुका बिच सहभागी थिए।
निर्णायक मण्डलले विभिन्न विधाका उत्कृष्ट चलचित्रहरूको मूल्यांकन गरी विजेता छनोट गरेको थियो।
किम्फको उद्घाटन त्रिवेणी राई निर्देशित 'सेप अफ मोमो' को नेपाल प्रिमियरमार्फत गरिएको थियो। महोत्सवका विशेष आकर्षणमध्ये 'क्लाइम्बिङ फर लाइफ' को विशेष प्रदर्शन, चलचित्र र सेन्सरशिपसम्बन्धी संवाद तथा नेपाली चलचित्र निर्माणको बदलिँदो परिदृश्यबारे छलफल प्रमुख थिए।
युवा केन्द्रित प्रदर्शन तथा प्यानल छलफलले युवा दर्शक र उदीयमान चलचित्रकर्मीलाई अर्थपूर्ण संवादमा सहभागी हुने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
साथै काठमाडौँ डक ल्याब र चलचित्र ल्याबअन्तर्गत आयोजित विभिन्न सत्रमार्फत चलचित्रकर्मीले आफ्ना परियोजना प्रस्तुत गर्दै परामर्श, मार्गदर्शन तथा पिचिङ प्रक्रियामार्फत थप विकास गर्ने अवसर पाए।
महोत्सव काठमाडौँको ठमेलस्थिल क्युएफएक्स छाया सेन्टरमा पाँच दिनसम्म चलेको थियो।
किम्फको २३औँ संस्करणले नेपाल र विश्वभरका विविध कथा, अनुभव र सांस्कृतिक दृष्टिकोणलाई एउटै मञ्चमा प्रस्तुत गर्दै पर्वतीय चलचित्र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।
Shares

प्रतिक्रिया