ad ad

गण्डकी


निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १३:३२, काठमाडौँ

चारैतिर जङ्गलले घेरिएको ठाउँ। जङ्गलको खोँचमा आकर्षक मन्दिर। मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा। 

दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन्। यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिए।

“पौराणिक महत्वको यस ठाउँ पहिला उराठलाग्दो थियो, स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि यस ठाउँले गति लिन थाल्यो”, उनले भने। 

पहिला जीर्ण र सानो रहेकामा हाल मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाइएको छ।

“विसं १९४६ मा धर्मराज अधिकारीले दिएको घण्ट फेला परेको छ, यो पुरानै मन्दिर हो”, भण्डारीले भने। विगतमा यस ठाउँका केही संरचना चोरी भएको बताइन्छ। “घण्टहरु लथालिङ्ग थिए, स्थानीय पूर्णबहादुर गुरुङको सक्रियतामा मन्दिर बनाएपछि अलि व्यवस्थित भयो”, भण्डारी सम्झिन्छन्, “अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा मन्दिर पुनर्निर्माण गरेका छौँ।”

मन्दिर संरक्षण समितिका सचिव गुप्तमान गुरुङका अनुसार करिब रु ४० लाखमा मन्दिर पुनर्निर्माण गरिएको छ। पुनर्निर्माणलाई सङ्घीय सरकारबाट रु ७ लाख ५५ हजार, गण्डकी प्रदेश सरकारबाट रु १५ लाख ७२ हजार, व्यास नगरपालिकाबाट रु ६ लाख ९५ हजार सहयोग भयो। स्थानीयकै सक्रियतामा रु ११ लाख ३० हजार चन्दा सङ्कलन गरियो। 

उनका अनुसार प्रवेशद्वार, कम्पाउन्ड निर्माण गर्न बाँकी छ। “यसका लागि तीनवटै तहका सरकारबाट बजेटको अपेक्षा गरेका छौँ,” गुरुङ भन्छन्। समितिका पूर्वाध्यक्ष सोमबहादुर गुरुङ यस ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने सोच राखिएको बताउँछन्। 

मन्दिरका पुजारी बलवीर थापाका अनुसार मनले चिताएको कुरा पूरा गर्ने विश्वासका साथ यहाँ भक्तजन पूजाआजालाई आउँछन्। यहाँ पञ्चबलि दिन जिल्लाभित्र र बाहिरबाट भक्तजन आउँछन्।

मन्दिरमा दसैँ, पुस १५ मा भक्तजनको बढी भीडभाड हुन्छ। काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँबाट भक्तजन पञ्चबलि दिन आउने गरेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष उदयचन्द्र पौडेलले जानकारी दिए।

निर्बु बराह सामुदायिक वनभित्र रहेको मन्दिर आसपास पहिरा जान सक्ने सम्भावना भएकाले पर्खाल लगाइएको छ। मन्दिर नगरपालिकाको धार्मिक पर्यटकीयस्थल भएकाले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .