भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत आज (बिहीबार) बिहान पहिलो चरणको मतदान सुरु भएको छ।
भारतीय सञ्चारमाध्यमकाम अनुसार चुनावको पहिलो चरणमा १५२ सिटका लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको हो।
यी सिटका लागि कुल १ हजार ४७८ उम्मेदवार प्रतिस्पर्धामा छन्।
पहिलो चरणको चुनावले राज्यका २९४ सिटमध्ये आधाभन्दा बढीलाई समेट्छ।
भारतीय निर्वाचन आयोगका अनुसार, यस चरणमा कुल मतदाताहरूको संख्या ३ करोड ६० लाखभन्दा बढी छ। यसमा लगभग १ करोड ८५ लाख पुरुष, १ करोड ७५ लाख महिला र ४६५ तेस्रो-लिङ्गी मतदाता छन्।
पीटीआईका अनुसार चुनाव सुरक्षाका लागि केन्द्रीय अर्धसैनिक बलका २ लाख ५० हजार जना तैनाथ गरिएका छन्।
मतदान केन्द्रमध्ये ८ हजारभन्दा बढीलाई अत्यधिक संवेदनशील मानिएको छ।
पहिलो चरणको चुनाव महत्त्वपूर्ण छ किनभने यसले उत्तर बंगालका सबै ५४ सिट समेट्छ। यो क्षेत्रले २०१९ को लोकसभा चुनावमा भाजपालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो र २०२१ को विधानसभा चुनावमा टीएमसीलाई चुनौती दिन पनि सक्षम बनाएको थियो।
पहिलो चरणमा यी १५२ सिटमध्ये २०२१ मा भाजपाले ५९ र तृणमूल कंग्रेसले ९३ सिट जितेका थिए।
दोस्रो चरणको मतदान यही अप्रिल २९ मा हुनेछ। मतगणना भने मे ४ मा हुनेछ।
Shares

प्रतिक्रिया