ad ad

अन्तर्वार्ता


'एक वर्षभित्र नेपालमै कोरोना खोप उत्पादन गर्न सकिन्छ'

'एक वर्षभित्र नेपालमै कोरोना खोप उत्पादन गर्न सकिन्छ'

दीपकप्रसाद दाहाल


यज्ञराज जोशी
साउन २६, २०७८ मंगलबार ६:२३, काठमाडौँ

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक ग¥यो। जसमा  ‘खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने’ उल्लेख छ। के नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन सम्भव छ त? त्यसका लागि सरकारले के गर्नुपर्छ? यसै विषयमा नेपाल औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालसँग नेपालखबरले गरेको कुराकानीः

नेपालमै खोप उत्पादन गर्नु व्यवहारिक रुपमा कति सम्भव छ?
व्यवहारिक रुपमा एकदमै सम्भव छ। नेपालमा पहिले पनि खोप बनिसकेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत मान्छेले लगाउने रेबिजको खोप नेपालमै बन्थ्यो। पछि बाहिरबाट आएका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि त्यो रोकियो। त्यसबेला सबै सरकारी अस्पतालमा नाइटोमा लगाइने रेबिजको खोप त्रिपुरेश्वरमै बन्थ्यो।

अहिलेपनि बनेपाको हेस्पर बायोसाइन्स नामक भन्ने संस्थाले गोल्छा अर्गनाइजेसनसँग मिलेर भेटेरीनरीका खोपहरु बनाइरहेको छ। कुखुरामा पनि एक प्रजातिको कोरोनाभाइरस हुन्छ। त्यसको पनि खोप त्यहाँ बन्छ। नेपाल सरकारकै त्रिपुरेश्वरमा रहेको बाइलोजिकल डिभिजनमा गाईवस्तु, कुखुराको खोप बनिरहेको छ। त्यही किटाणुले मान्छे, गाईवस्तुलाई रोग लगाउने हो। पहिलेदेखि नै मान्छे अनि गाईवस्तुका लागि खोप उत्पादन भइरहेकाले अहिले पनि खोप बनाउन ठूलो कुरा होइन। बनाउन सकिन्छ। 

खोप भनेको ठूलो विज्ञान होइन। इच्छा भएपछि बनाउन सकिने चिज हो। बायोटेक्नोलोजी पढेका, माइक्रोबाइलोजी पढेका विद्यार्थी जागिर नपाएर नेपालमा फालाफाल छन्। तिनले नै त्यो खोप बनाइदिन्छन्। 

खोप उत्पादनका चुनौती के के हुन सक्छन्?

हेस्पर बायोसाइन्स भन्ने भारतीय कम्पनी हो। उसले कोभ्याक्सिनलाई कोरोनाको सेल कल्चर गरेर दिने गर्छ। सरकारले त्यहीसँग मिलेर काम सुरु गरे यहीँ बनिहाल्छ। त्यसका लागि पूर्वाधार चाहिन्छ। कोल्डचेन मेन्टेन गर्नुपर्यो। चिसो ठाउँ चाहिन्छ। ल्याब एकदमै छुट्टै हुनुपर्छ। त्यहाँबाट भाइरस बाहिर उम्कन हुँदैन। त्यो सबै पूर्वाधार बनाउन अलि समय र खर्च लाग्छ तर खोप बनाउन एकदमै सम्भव छ।  

न्यूनतम कति समयमा उत्पादन गर्न सकिएला?
कोरोना संसारमा आएको दुईवर्ष भयो। त्यतिमा खोप बनाएर संसारभर लगाउन सुरु गरिसके। नयाँ रोगको नयाँ खोप, रिसर्च गरेर बनाउँदा पनि एक वर्षमै बन्यो। फर्मुला तयार भइसकेको छ भने सरकारले तनमन दिएर लाग्छु भन्यो भने एक वर्षभित्रमा खोप तयार पार्न सकिन्छ। पाकिस्तानले ‘पाकभ्याक’, बंगलादेशले ‘बंगभ्याक’ भनेर खोप उत्पादन गरिरहेका छन् भने हामी किन सक्दैनौँ? उनीहरुले जसरी बनाएका छन्, त्यसरी हामी बनाउन सकिहाल्छौँ नि। सरकारले पनि बंगलादेश, पाकिस्तानले कसरी ग¥यो भनेर हेरेर आफ्नै उत्पादन गर्ने निर्णय गरेको हो। 

नेपालमा कुन खोप उत्पादन गर्न सजिलो देखिन्छ?
हामीले बाहिरबाट फर्मुला ल्याएर नै यहाँ उत्पादन गर्ने हो। खोप पनि दुईतीन खालका छन। हामीले सजिलो खोप जुन छ, त्यसैलाई प्राथमिकता दिने हो। अहिले उत्पादनमा सजिलो खोप चीनको भेरोसेल देखिएको छ। त्यो खोप हामीले कम्पनीसँग आवश्यक प्रक्रिया, सम्झौता गरेर बनाउन सक्छौँ। अर्को भारतमा बन्ने कोभिसिल्ड खोपको कच्चा पदार्थ नेपालमा ल्याएर पनि उत्पादन गर्न सक्छौँ।

कच्चा पदार्थ फेरि पनि बाहिरबाटै ल्याउनुपर्ने हो? सबैतिर अभाव भइरहेका बेला नेपालले पाउला र?
हामीले ल्याउने कच्चा पदार्थ भनेको भाइरसलाई ‘ग्रो’ गराउन आवश्यक पर्ने खानेकुरा लिएर आउने हो। केमा वृद्धि गर्ने हो, त्यो सामग्री दिनुपर्छ। यो सजिलै पाइन्छ। 

सरकारले चैतसम्म सबैलाई खोप लगाइसक्ने भनेको छ। एक वर्ष लगाएर खोप उत्पादन गर्दा के काम लाग्यो र?
पूर्वाधारहरु तयार भयो भने कोरोनाको मात्रै होइन, अरु खोप पनि उत्पादन गर्न सक्छौँ। कोरोनाकै खोप पनि एकपल्ट लगाएर सधैँलाई पुग्ने त होइन। पछि वर्षवर्ष दिनमा पनि लगाउनुपर्ने हुनसक्छ। त्यसबेला थप खोप आवश्यक पर्छ। सधैँ विदेशबाट ल्याउँदा अर्बौ पैसा बाहिरिने भयो। २५ अर्बको खोप ल्याउन ७–८ अर्बको कच्चापदार्थ मात्रै ल्याउँदा स्वदेशमै उत्पादन गर्न सकिन्छ। अहिले त २५ अर्ब पुरै बाहिर पठाउनुपरेको छ। 

नेपालमै खोप बन्दा त्यसलाई नागरिकले सहजै विश्वास गर्लान् त?
शतप्रतिशत विश्वसनीय हुन्छ। जे खोप बाहिर बनेको छ, त्यही खोप यहाँ बनाउने त हो। मैले बनाएको खोप मैले नै लगाउँछु, मेरा छोराछोरीले लगाउँछन्। क्वालिटीमा कम्प्रोमाइज हुँदैन। 

एक वर्षभित्र खोप उत्पादन गर्ने हो भने के के पूर्वाधार तयार गर्नुपर्छ?
सरकारले एउटा नीति बनाउनुप¥यो। अहिलेसम्म बायोलोजिकल प्रोडक्ट बनाउने कार्यविधि, कार्ययोजना छैन। यो के हो, कसरी बनाउने, कस्तो पूर्वाधार चाहिन्छ, सारा गाइडलाइन्स बनाउनुपर्यो। हामीले कस्ता खालका खोप बनाउने हो, त्यो बनाएर लगानीका लागि आह्वान गर्नुपर्यो। जनशक्तिको अभाव छैन। बायोटेक्नोलोजी पढेका, माइक्रोबाइलोजी पढेकालाई केही दिन बाहिर पठाएर तालिम दियो भने दक्ष बन्छन्। 

हाम्रै देशमा खोप उत्पादन भयो भने हामीलाई के फाइदा हुन्छ?
अर्काको मुख ताक्नुपर्दैन। अहिले हाम्रो के भयो– भारतले सुरुमा दिन्छु भन्यो, सरकारले पैसा पनि पठायो र अहिलेसम्म पनि अग्रिम भुक्तानी गरेको खोप आएको छैन। यहाँ नागरिकहरुले लगाउन पाएनन्। हरेक चिज पैसाले किन्न पाइँदैन रहेछ। भारत र चीनले आफ्नै उत्पादन गरेर आफ्ना नागरिकलाई धमाधम लगाएर सिध्याइसके। हामी अझै माग्दैछौँ। संसारभर हात फैलाउँदैछौँ। भुटानजस्तो देशसँग ३ लाख डोज माग्नुपर्यो। यो गर्व गर्नलायक कुरो होइन। त्यसैले खोप उत्पादनमा एकदमै सक्रियता आवश्यक छ। 

सरकारले आफै खोप बनाउनु ठिक कि निजी क्षेत्रलाई दिनु ठिक?
सरकारले व्यापार गर्दैन। निजी क्षेत्रलाई नै दिनुपर्छ। निजी क्षेत्रसँगै सहकार्य गर्नुपर्छ। पब्लिक–प्राइभेट पार्टनरसिपमा अगाडि बढे पनि हुन्छ। पूर्ण रुपमा निजीलाई दिए पनि हुन्छ। सरकारले गुणस्तर हेर्नुपर्यो, गुणस्तर मापनको ल्याब बनाउनुपर्यो। सरकारले गुणस्तरीय र आर्थिक रुपमा सम्भव भएको रेटमा नेपाली उद्योगबाटै उत्पादन भएको खोप माग्ने हो। अर्बौँ लगाएर उद्योग खोल्ने अनि भोलि विदेशबाट खोप ल्याउने हो भने उद्योग डुब्छ। त्यो ग्यारेन्टी लिनुपर्यो सरकारले। यहाँ उत्पादन भएको खोप यहीँ प्रयोग हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .