अन्तर्वार्ता


गगन-विश्वप्रकाशले ढंगले काम गरे भने राजनीतिमा ठाउँ खोज्दिनँः मिनेन्द्र रिजाल (अन्तर्वार्ता)

गगन-विश्वप्रकाशले ढंगले काम गरे भने राजनीतिमा ठाउँ खोज्दिनँः मिनेन्द्र रिजाल (अन्तर्वार्ता)

केशव सावद
पुस १८ , काठमाडौँ

गत महिना काठमाडौँमा भएको कांग्रेसको चौधौँ महाधिवेशनमा महमन्त्री पदका उम्मेदवार थिए डा. मिनेन्द्र रिजाल। तर, उनी महाधिवेशनमा पराजित भए। लगत्तै उनले रक्षामन्त्री पदबाट समेत राजीनामा दिए। 

उनको राजीनामापछि धेरैलाई लाग्यो, उनले पराजयको रनाहामा त्यस्तो निर्णय लिएका हुन्। तर, आफूले समझदारीपूर्वक सो निर्णय लिएको उनको भनाइ छ। त्यति मात्र होइन, कांग्रेसमा निर्वाचित भएको युवा पुस्ताले राम्ररी काम गर्ने हो भने आफूले राजनीतिमा ठाउँ नखोज्ने पनि बताउँछन्। कांग्रेस महाधिवेशनको नतिजा र उनको राजनीतिक भविष्यबारे डा. रिजालसँग गरिएको कुराकानीः 

अमेरिकामा बसिरहनुभएको थियो। जागिर उतै थियो। के उदेश्य बोकेर नेपाल आउनुभएको थियो?
म ०२५ सालमा ६ कक्षामा पढ्दै थिएँ। जेलबाट छुट्नुभएका बीपी कोइरालालाई विराटनगरमा स्वागत गर्यौं। त्यो बेलादेखि कांग्रेस भएँ। त्यो बेलादेखि स्कुलको चुनाव लडेँ। अमेरिका जानुभन्दा एकहप्ता अगाडिसम्म पनि काठमाडौँ नगरपञ्चायतमा हरिबोल भट्टराई र तीर्थराम डंगोल लड्नुभएको चुनावको गणनाको मुख्य जिम्मेवारी लिएरै बसेको थिएँ। 

जाने बेलासम्म राजनीतिमै थिएँ। म २०४४ सालमा अमेरिका गएँ। उता गएको दुई वर्षमै नेपालमा प्रजातन्त्र आयो। कहिले फर्किऊँ, कहिले फर्किऊँ भएको थियो। त्यहाँ पढ्ने, लेख्ने र पढाउने कामले गर्दा आउँछु भन्दाभन्दै पनि अलमल भइरहेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा न्युयोर्क आउनुभएको थियो, उहाँले हिँड्नुस् भन्नुभयो। मैले न्युयोर्क युनिभर्सिटीमा त्यो वर्षको पढाउन अझै पाँच महिनाजति बाँकी थियो। मैले अहिले आउन मिल्दैन, पाँच महिनापछि आउँछु भनेँ। 

बीचमा ९ वर्ष अमेरिकामा बिताएँ। र, फेरि पहिले गरिरहेकै राजनीतिलाई निरन्तरता दिन नेपाल फर्किएँ भन्ने लाग्छ। देशको प्रधानमन्त्री, जोसँग म लामो समयसम्म नजिक बसेर काम गरेँ, उहाँले नै हिँड्नुस् भन्दा जुरुक्कै उचालिएर आएँ। उहाँले उत्प्रेरकको काम गर्नुभयो।

त्यसका लागि पनि परिबन्ध मिलाएर आउन ५ महिना लागेको थियो। त्यसैले कुनै उदेश्य लिएरभन्दा पनि आफूलाई केटाकेटीदेखि जे चिजमा अलि बढी उत्प्रेरणा थियो, त्यही काम गर्न फर्केर आएको थिएँ।

नेपाली कांग्रेसको राजनीति गरिरहँदा पनि तपाईंले अध्यापन पेसा सँगै अघि बढाउनुभएको थियो। त्यतिबेला तपाईंले अलग किसिमको राजनीति स्थापित गर्न खोज्नुभएको हो कि संयोग मात्रै थियो? 
राजनीतिलाई पेसा त भनिँदैन। मेरो लागि भने राजनीति र अध्ययन–अध्यापन सदैव सँगै रहे। स्कुलमा हुँदा नै विद्यार्थी राजनीति गर्थेँ। पछिल्लो समयमा पनि राजनीति र शिक्षण पेसा दुवैलाई अघि बढाएँ। राजनीतिमा जसरी म स्वाभाविक रुपमा व्यवहार गर्छु, त्यस्तै कक्षामा गएपछि मैले स्वाभाविक रुपले शिक्षकको व्यवहार गरेँ। मलाई मेरा विद्यार्थीहरुले यो मान्छे अर्को ठाउँमा छ भन्ने सम्झना नहुनेगरी पढाउँथेँ।

अहिले नियमित पढाउन छाडेको त धेरै वर्ष भयो। तर, अहिले पनि मलाई त्यो बेलाका विद्यार्थीहरुले सम्झिन्छन्। मलाई कक्षामा देख्नेले शिक्षकको रुपमा मात्रै देखे। शिक्षककै रुपमा मात्रै बुझे। मिनेन्द्र रिजालको अर्को पर्सनालिटीलाई बुझेनन्। त्यसैले दुई वटा पेसा सँगसँगै लैजाने प्रयास मेरो सचेत निर्णय भन्दा पनि स्वभाविक काम थियो। 

कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनमा पराजित भएलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिनुभयो। एउटा चुनाव हार्दैमा राजनीतिबाट निराश हुनुभएको हो? 
निराश भएको छैन। किन निराश हुने? मलाई लाग्छ, अहिले पनि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण सार्वजनिक जीवनको १० वर्ष अझै बाँकी नै छ। नेपाल र नेपालीका लागि मैले अहिलेसम्म गरेको काम बिर्सिए पनि हुने खालका हुन सक्छन् भन्ने आत्मविश्वास अझै छ मलाई। त्यसैले निराश छैन म।  

मैले जे गर्नु उचित हुन्छ भन्ने देखेँ, त्यही निर्णय गरेँ। रक्षामन्त्री रहिराख्नु उचित हुँदैन भन्ने लाग्यो, राजीनामा गरेँ। त्यसको अर्थ फेरि कहिल्यै जीवनमा म मन्त्री हुन्नँ भन्ने पनि होइन। फेरि कहिल्यै जीवनमा राजनीति गर्दैन भन्ने पनि होइन। जे गरिराखेको छु, त्यो गरि नै राख्ने हो। मेरो सार्वजनिक जीवन रहन्छ। सार्वजनिक जीवन कुन खालको हुन्छ, त्यो चाहिँ परिभाषित गर्ने कुरा हो। 

तपाईंले रक्षामन्त्रीबाट राजीनामा दिँदै गर्दा अब डा. मिनेन्द्र रिजालले राजनीतिबाट सन्यास लिनुहुन्छ भन्ने अनुमान पनि गरियो। अबको राजनीतिक यात्रा कसरी अगाडि बढाउनुहुन्छ? 
अरुले त्यस्तो अनुमान गर्नु स्वाभाविक हो। तर, आजको दिनमा मानिसहरुले के सोच्छन् भन्दा पनि मैले के सोच्छु, त्यही महत्वपूर्ण हुन्छ। मैले राजीनामा गर्नुको दुई तीन वटा पाटामध्ये एउटा पाटोको कुरा गर्छु। मेरो सार्वजनिक जीवन के हुन्छ भन्ने पाटोको कुरा गर्ने हो भने तपाईंहरुले पनि याद गर्नु नै भएको होला– पटकपटक अन्तर्वार्ताका क्रममा, सार्वजनिक रुपमा गरिने टिप्पणीका क्रममा मैले भन्दै आएको थिएँ– कांग्रेसको यसपालिको विधानमा धेरै आलोचना भएको थियो। विधानको कार्यकारणीको स्वरुप बनाउने मुख्य काम मैले नै गरेको हुँ। आज साँच्चै भन्ने हो भने कसैले चित्त नदुखाउने हो भने मैले नै लेखेको हो सबै। जहाँ १३ जना निर्वाचित पदाधिकारी छन्।

भिडिओ

किन १३–१३ जना निर्वाचित पदाधिकारी बनाउने भन्ने प्रश्न उठ्यो। यो कुरा खराब हुनसक्छ। तर, २६ जना चुनाव हार्छन् नि, त्यो राम्रो हुन्छ। नेपाली कांग्रेसमा धेरै टाउको भयो। छरितो छैन। नयाँ पालुवा आउनुपर्छ। यो क्रममा म महामन्त्रीमा प्रतिस्पर्धा गर्छु। हारेँ भने म चित्त दुखाउन्नँ, छेउ लाग्छु। पार्टीमा फेरि चुनाव लड्दिनँ भनेँ। 

अब मेरो जीवन राजनीतिक हुन्छ कि अरु खालको सार्वजनिक जीवन हुन्छ,  नेपाल र नेपालीका लागि अझ बढी क्रियाशील हुने जीवन कस्तो हुन्छ भन्ने कुराको परिभाषा मैले गर्ने हो। तर, कांग्रेसमा यसरी नयाँ नेतृत्व आएको छ। एक जना महामन्त्री मभन्दा १३ वर्ष र अर्का महामन्त्री १९ वर्ष कान्छो हुनुहुन्छ। म पहिलो पल्ट जेल परेको वर्ष जन्मिनुभएको हो, सबैभन्दा धेरै मत ल्याउने महामन्त्री गगन थापा। उहाँहरुको हातमा नेतृत्व गएको छ। 

यहाँ मैले गगन–विश्वप्रकाशको नाममात्रै लिएको हुँ। उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीमा आउनुभएका जीवन परियार र बद्री पाण्डेमध्ये को कान्छो हो थाहा भएन। उहाँहरुसम्म सबैलाई जोडेर हेर्ने हो भने युवाले ढंगसाथ कांग्रेस चलाउनुभयो भने कांग्रेसवरिपरि म पनि छु भनेर छेउमा गएर सेल्फी खिच्ने, अहिलेजस्तो राजनीति गर्नुपर्ने कसैलाई जरुरत हुन्छ त? 

त्यो राजनीति गर्नुपर्ने मलाई पनि जरुरत हुन्नजस्तो लाग्छ। त्यसरी कांग्रेसको राजनीति ढंगसाथ अगाडि बढ्यो भने मैले कसरी नेपाल र नेपालीका लागि काम गर्न सक्छु, अझ बढी क्रियाशील रुपमा काम गर्न सक्छु भन्ने ठाउँ पो खोज्ने हो त। 

तपाईं १४ औँ महाधिवेशनमा जुन समूहबाट चुनाव लड्नुभयो, एकाधबाहेक त्यो पराजित भयो। त्यो समूह कहाँ चुक्योजस्तो लाग्छ? 
मैले आफूले लडेको समूह भन्यो भने अलि बढी अतिशयोक्ति हुन्छ होला। मैले भनेको पनि छु, सबैलाई सार्वजनिक रुपमा जानकारी भएको विषय पनि हो कि म सुरुमा केही वर्षदेखि डा. शशांक कोइरालालाई नेपाली कांग्रेसको सभापति बनाउन सकिन्छ कि भनेर लागेको हुँ। उहाँको स्वभाव सबैका लागि ग्राह्य हुने देखेर मैले शशांक ‘बेटर च्वाइस’ हुनुहुन्छ कि भनेर।

एउटा समय आयो, शशांक कोइराला आफैँले अभिरुचि राखेको जस्तो मलाई लागेन। अभिरुचि रहिरहेको पनि हुन सक्छ अथवा उहाँको सट्टा अरु कोही हुनुपर्छ कि भन्नेजस्तो पनि देखियो। 

त्यसपछि विकल्पमा रामचन्द्र पौडेल सभापति हुने कुरामा सबैलाई एकमत गराउन सकिन्छजस्तो मलाई लाग्यो। प्रकाशमानजीदेखि हाम्रो समूहमा नहुनुभएका विमलेन्द्र निधिजी, आफैँले उपसभापति लड्छु भन्नुभएको डा. शेखर कोइराला सबैलाई मिलाउने काममा लाग्यौँ। पहिले शेखर कोइरालाले सभापतिबाहेक पदाधिकारीमा लड्दिनँ भनिराख्नुभएको थियो। पछि रामचन्द्रजी हुने कुरामा उपसभापति लड्छु भन्नुभएको थियो। 

तर, त्यो पार नलाग्ने भयो। प्रकाशमानजीले त्यसलाई ठीक ठान्नुभएन। उहाँले आफैँ सभापतिमा लड्ने कुरा गरेपछि परिस्थिति शेखरजी र प्रकाशमानजी गरी हामीहरुको साइडबाट दुई जना उम्मेदवार हुनु हुनेभयो। दुई जनामध्ये एक जना छान्न पर्ने अवस्थामा म थिएँ। मलाई स्वाभाविक रुपमा शेखरजीसँग चुनाव लड्ने कुरा उचित लाग्यो। नामाङ्कन पत्र दाखिला गर्ने दिन केही घण्टाअगाडि मात्रै म उहाँको समूहको उम्मेदवार बनेको हुँ। 

त्यसर्थमा मैले आफूलाई त्यो समूहको अतिथि उम्मेदवार हुँ भन्ने गर्थेँ। अहिले पनि भन्छु, म अतिथि उम्मेदवारका रुपमा थिएँ। अब आउने दिनमा सँगै राजनीति गर्दै जाँदा त्यो समूहको भित्री मान्छे हुन्छु कि हुन्न भन्ने पनि थाहा छैन। यसर्थमा हाम्रो समूह कसरी चुक्यो भन्ने भन्दा मैले आफूले देख्ने ठाउँबाट मात्रै गर्ने कुराहरु गर्नुमात्रै उचित हुन्छ। 

डा. मिनेन्द्र रिजाल पराजित हुने, गुन्डा नाइके भनेर चिनिएका गणेश लामा जित्ने। विवादमा नमुछिएका पूर्णबहादुर खड्काकै हाराहारीमा विवादित छवि बनाएका विजयकुमार गच्छदारले पनि मत ल्याउने। यो कस्तो ट्रेन्ड हो कांग्रेसको १४ औँ महाधिवेशनको? 
मैले अरु धेरै टिप्पणी गर्नु उचित हुँदैन। निर्वाचनको परिणाम आकलन गर्ने क्रममा पाको नेतृत्व, हाम्रो वयका साथीहरु र पछिल्लो पुस्ता ४० काटेर ५० वरिपरि भएका साथीहरु पार्टीको मूल नेतृत्वमा आउनुहुन्छ भनेको थिएँ। त्यसर्थमा म अलिअलि ठीक र अलिअलि गलत साबित भएँ। गलत किनभने हाम्रो उमेर समूहको नेतामा पूर्णबहादुरजीले मात्रै जित्नुभयो, अरु सबै हार्यौँ। जस्तो प्रकाशशरणजी र म महामन्त्रीमा लड्यौँ। विजय गच्छदारजी उपसभापतिमा लड्नुभयो। सभापतिमा विमलेन्द्रजी, प्रकाशमानजी चुनाव लड्नुभयो। तर,  हाम्रो उमेरको वरपरका मानिसहरुमा पूर्णबहादुरजीबाहेक कसैले पनि जित्नुभएन।

८० को हाराहारीको नेतृत्व पनि छ। हाम्रो उमेर समूहको एक जना मात्र हुनुहुन्छ। तर, हामी पछाडिको उमेरका नेताहरु महामन्त्री दुई जना हुनुहुन्छ। त्यहाँभन्दा अलि पाको धनराज गुरुङजी उपसभापति हुनुहुन्छ। सहमहामन्त्रीमा थुप्रै नेताहरु हामीभन्दा ६–७ वर्ष कान्छो हुनुहुन्छ। एक जना सहमहामन्त्री मभन्दा पनि जेठो हुनुहुन्छ फरमुल्लाह मन्सुर। 

त्यसपछि महेन्द्र यादव, उमाकान्त चौधरी, डिना उपाध्याय हुनुहुन्छ। भीष्मराज आङ्दम्बे पाको हुनुहुन्छ। यसरी हेर्दा झण्डैझण्डै सम्मिश्रण त कांग्रेसमा राम्रैसँग देखिन्छ। तर, ६० नाघेको ७० मुनिका मानिसहरु एकदम कम देख्नुहुन्छ। त्यति मात्रै नभएको हो, अरु त के फरक भएको छ र? त्यसैले महाधिवेशनको मत परिणामलाई अस्वाभाविक देख्दिनँ। 

उभार, परिचय, व्यक्तित्व, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै पहिचान बनेका युवा, पाको नेता, देशकै ५ पटक प्रधानमन्त्री हुनुभएको सभापति हुनुहुन्थ्यो, उहाँलाई बलियो चुनौती दिने गरी कोही पनि हुनुहुन्थेन। इतर समूह एक ठाउँमा उभिन नसकेपछि उहाँ (शेरबहादुर देउवा) सभापति हुने कुरा स्वाभाविक जस्तो देखिएको थियो। युवाहरुको उभारका बीचमा हाम्रो वयका मानिसहरु अलि चेपिएर पातलिएको होला। एक जना पूर्णबहादुरजी मात्रै बाँकी रहनुभएको होला। यसर्थमा मात्रै अलि अनौठो माने भयो, नत्र खासै अनौठो भएको छैन। 

मुलुकको प्रधानमन्त्री भइसकेका राजनीतिज्ञहरु समेत अध्ययन नगरी, तथ्यसँग कुनै सरोकार नराखी बोल्ने गर्छन्। तपाईं भने तथ्यमा टेकेर बोल्नुहुन्छ भन्ने आम बुझाइ छ। नेताहरुले मनपरी तरिकाले दिने अभिव्यक्तिले राजनीतिमा कस्तो प्रभाव परेको देख्नुहुन्छ? 
हामी कहाँ अहिले पनि राजनीति त्यति प्रतिस्पर्धात्मक बनिसकेको छैन, जहाँ तपाईं तथ्यको परीक्षणमा पास हुनुपरोस्। नेपालको राजनीतिलाई अझै हामीले त्यहाँ पुर्याउन सकेका छैनौँ। चाँडै पुग्छ, पुग्ला। 

अहिले एउटा चरणमा हामी छौं। त्यो कस्तो चरण भन्दा तपाईंले नेपालखबरमा के समाचार लेख्नुभयो भन्ने आम मानिसको ध्यान हुन्न। तर, सामाजिक सञ्जालमा कसैले उडन्ते ढंगले केही टिप्पणी लेखिदियो अथवा धेरै मानिसले नपढ्ने एउटा समाचार त्यो पनि बेटुंगोको समाचारमाथिको टिप्पणीले मान्छे प्रभावित हुन्छ। 

मलाई व्यक्तिगत रुपमा नेपालको राजनीति प्रति निराशा पनि छ। राजनीति गर्ने मानिस, मेरो पार्टीमा त व्याप्त रुपमै देख्छु, अरु पार्टीमा पनि छ जस्तो लाग्छ– धेरै मेहनत नगरेरै राजनीतिमा प्रतिफल आइराख्छ कि जस्तो। धेरै मेहनत गर्नुपर्छ भन्ने छैन, न पढाइलेखाइमा मेहनत गर्नुपर्छ, न तल्लो तहका कार्यकर्ता भेट्न मेहनत गर्नुपर्छ। माथिका नेताहरुसँग सम्बन्ध राख्ने र पार्टीमा भएको ध्रुवीकरणमा फाइदा हुने ठाउँमा उभिन सके हुन्छ भन्ने सोच व्याप्त छ।

तथ्यमा आधारित राजनीतिक अभ्यास नेपालमा कहिलेसम्म होला त?
चाँडै हुन्छ जस्तो लाग्छ मलाई, किनभने प्रतिस्पर्धामा मान्छे उभिनु त पर्छ नै। कति दिन चल्ला र यो, चल्दैन अब। अहिलेसम्म त चलिनै रहेको छ। धेरै टाढा नजाऔँ, छिमेकी भारत निकै ठूलो समृद्धशाली देश हो। तर, १० वर्ष अगाडिको भारत र अहिलेको भारत एउटै छ त? छैन नि। त्यसैले हामी पनि ५ वर्षपछि आजको ठाउँमा उभिएका हुन्नौँ। ५ वर्षपछाडि हामीलाई पनि मान्छेहरुले जवाफदेही बनाउँछन्। 

जस्तो, आजको दिनमा यसै कल्पना गर्दा हाम्रा युवा नेताहरु जसलाई असाध्यै पत्याएर महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वमा ल्याएर आउनुभएको छ। उहाँहरुलाई भोलि सोध्दैनन् मान्छेहरुले कि तपाईंहरुले के गर्नुभयो भनेर? हिजो हामीले हामीभन्दा माथिल्लो नेतृत्वको अक्षमतामाथि कडा हस्तक्षेप गर्यौं, नेतृत्वमा स्थापित भयौं भनेर उम्किन पाउनु हुन्न नि त। संसद् पनि विस्तारै त्यस्तै किसिमको बन्दै जान्छ। 

हाम्रो पार्टीको महाधिवेशन सम्पन्न भइसकेपछि एमालेका कतिपय नेताहरुले मसँग भन्नुभएको छ– तपाईंहरुको महाधिवेशन पहिले भएको भए त हाम्रो महाधिवेशनको परिणाम फरक हुन्थ्यो भनेर। हाम्रो महाधिवेशनमा पनि सानो पार्टी राप्रपामा राजेन्द्र लिङ्देनको विजयले केही प्रभाव पार्यो होला नि। हाम्रो महाधिवेशनपछि एमालेको महाधिवेशन भएको भए अझ मज्जैले प्रभावित गथ्र्यो होला। यसरी ‘टिपिङ प्वाइन्ट’मा पुग्नलाई मात्रै गाह्रो हो। 

अहिले पनि कतिपय युवा नेता हातमा मोबाइल लिएर, मोबाइलमा डेटा लिएर यहाँ यस्तो छ, यहाँ यस्तो छ भनेर कुरा गर्न सुरु गर्नु भएको छ नि। विस्तारै यही खालको भाष्य, तरिका मूलधार बन्छ भन्ने विश्वास छ।

आगामी निर्वाचनमा नेकपा एमालेसँग कस्तो प्रतिस्पर्धा हुने अपेक्षा छ?
नेपालको राजनीतिका बारेमा कसैले पनि भविष्यवाणी गर्न सक्दैन। किनभने जतिसुकै भने पनि स्वार्थका लागि सम्झौता गरेका अनेकौँ उदाहरणहरु छन्। त्यसैले भोलिका दिनमा पनि स्वार्थले कसलाई कुन किनारामा पुर्याउँछ भन्न सकिन्न।

तर, आज हेर्दा मैले मूलतः तीन वटा राजनीतिक शक्ति देखिरहेको छु। एउटा नेपाली कांग्रेस, जसले २००३ सालदेखिको एउटा खालको विरासत बोकेर आएको छ। दोस्रो, दुई खाले कम्युनिस्टको कायापलट भइरहेको छ। एउटा, २०४६ सालपछाडि जसरी संसदीय राजनीतिक फाँटमा एमालेले आफूलाई संगठित र संसदीय फाँटमा बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएको थियो, त्यसैको विरासतलाई लिएर अहिले केपी ओलीजीले नेतृत्व गर्नुभएको एमाले छ, त्यो एउटा फाँट हो। 

अर्को, सम्मिश्रणको फाँट जस्तो देख्छु म। प्रचण्डजीहरुको हिजो के के न परिवर्तन गरौँला भनेर हतियार समेत बोकेको, सशस्त्र विद्रोहको राजनीतिबाट पार लाग्ने रहेनछ। आखिरमा मुलधारकै राजनीति समात्नुपर्छ भन्ने सोच। त्यस्तै माधव नेपालजीहरुले ओलीजीको एमालेमा रहन नसकेर नयाँ पार्टी निर्माण गर्नुभएको छ। अनि पुरानो कम्युनिस्ट स्कुलबाट आउनुभएका उपेन्द्र यादव। जसले मधेसको राजनीतिको एउटा अंशको प्रतिनिधित्व गर्नुहुन्छ। 

यस अर्थमा प्रचण्डजी, माधवजी र उपेन्द्रजीहरु मिल्दाको एउटा ध्रुव। जो आज हामीसँगसँगै सरकारमा छ। यसरी तीन वटा मूल धारहरु र त्यसपछि सानातिना धारहरु रहन्छन्। त्यस्तो रह्यो भने नेपालको राजनीतिले स्वस्थ्य बाटो समात्छ भन्ने लाग्छ।  
 

पुस १७, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.