ad ad

अन्तर्वार्ता


विद्रोहको तयारी भइरहेको छ, उपेन्द्रबाहेक अरूसँग मिल्न सकिन्छ– राजेन्द्र महतो (अन्तर्वार्ता)

‘कांग्रेस र कम्युनिस्टको विकल्पमा चौथो शक्ति आवश्यक’
विद्रोहको तयारी भइरहेको छ, उपेन्द्रबाहेक अरूसँग मिल्न सकिन्छ– राजेन्द्र महतो (अन्तर्वार्ता)

सागर न्यौपाने
असार ११, २०७९ शनिबार १४:१७, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले अब देशमा बहुल राष्ट्रवाद एवं अधिकार र पहिचानका लागि राष्ट्रिय मुक्ति आन्दोलन जरुरी भएको बताएका छन्। यसका लागि विद्रोहको तयारीसमेत भइरहेको उनको भनाइ छ। 

‘यो देशमा सबै खालका विभेद अन्त्य गर्न राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक छ’, प्रतिनिधि सभा सदस्यसमेत रहेका महतोले नेपालखबरसँग भने, ‘सबै नेपाली एकताबद्ध भएर अब एकपटक आन्दोलन गर्नुपर्छ। नेपालीले संविधानमा व्यवस्था भएको कुरा पाउनुपर्यो नि!’

आगामी चुनावमा मधेसकेन्द्रित दलसँग गठबन्धन हुन सक्ने लोसपा नेता महतोले बताए। तर, जसपाका अध्यक्ष उपेन्द्र यादवबाहेक अरूसित मात्रै मिल्न सकिने उनले बताए। 

महतोले भने, ‘अब जसपाको उपेन्द्र यादवसँग एकता हुनै सक्दैन। उहाँ जब पार्टी फुट्न खोज्छ, अनि एकताको कुरा गर्नुहुन्छ। डेढ वर्षअघि उहाँको पार्टी फुट्न खोज्यो, हामीले एकता गरेर जोगाइदियौं। बीचमा उहाँले विभाजन गराउनुभयो। उहाँको समस्या भनेकै एकता गर्ने अनि आफैँ विभाजन गरिदिनेछ।’

महन्थ ठाकुर र राजेन्द्र महतोले नेतृत्व गरेको लोसपाले स्थानीय निर्वाचनमा १६ स्थान जितेको छ। तराईमा प्रभाव रहेको लोसपा  १ साउन ०६९ मा उपेन्द्र यादव नेतृत्वको जसपाबाट विभाजन भएर बनेको हो। यसपछि पहिलोपटक चुनावमा गएको लोसपाले राम्रो उपस्थिति जनाउन सकेन। अब स्थानीय चुनावको परिणाम हेर्दै आगामी संघीय र प्रदेश निर्वाचनमा लोसपाले एमालेसँग गठबन्धन गर्ने कि कांग्रेससँग? आन्तरिक छलफल अघि बढाएको छ।

यी सहितका विषयमा लोसपा वरिष्ठ नेता राजेन्द्र महतोसँग नेपालखबरले गरेको कुराकानी :

स्थानीय तहको चुनावले लोसपालाई झट्का दियो होइन त?

समीक्षा गरिरहेका छौँ। समग्रमा पनि गर्यौँ, पालिका तहबाट पनि गरिरहेका छौँ तर समस्या देखिएको छ। सोचेजति हुन सकेन भन्ने निष्कर्षमा छौँ।

सोचेजति परिणाम ल्याउन नसक्नाका कारण के–के रहेछन्?

हेर्नुस्, यसमा हामीले विगतदेखिकै कुरा गर्नुपर्छ। सुरुमा मधेसमा ६ पार्टीभन्दा बढीमा छरिएको दल मिलेर राजपा बन्यो तर हामीले संगठन विस्तार गर्न सकेनौं। फेरि उपेन्द्रजीको दलसँग मिलेर जसपा बनाइयो, पार्टी नै विभाजन भयो।

यसकारण के देखिन्छ भने विगत ५ वर्षमा हाम्रो पार्टीमा एकता, विभाजन र एकता भए पनि संगठन बनेन।  हामीले ‘मुद्दामा आधारित एवं कार्यकर्तामा आधारित’ पार्टी बनाउन सकेनौं। संगठन भएन।

स्थानीय चुनावमा त कुन–कुन दलबीच गठबन्धन बन्यो। हामी पनि एक्लै गएनौं, कहीँ एक्लै लड्यौं। संगठनबिना चुनावमा मात्र गएर के हुन्छ!

संगठन र ‘इस्यु’ नभएकै कारण चुनावमा कमजोर बनेको भन्न खोज्नुभएको हो?  

मैले विगत ५ वर्षकै अवस्था भनिसकेँ। संगठनमा ध्यान दिएनौँ। कांग्रेस र कम्युनिस्टको अप्राकृतिक गठबन्धन बन्यो। त्यति गर्दा पनि हामीले ल्याएको परिणाम स्वाभाविक छ। राजपा हुँदा हामीले २६ तह जितेका थियौं, अहिले १६ वटामा प्रमुख जित्यौं। पहिला जितेका १० जना प्रमुख जसपातिर लाग्नुभएको थियो, त्यस आधारमा हाम्रो पालिका तह घटेन। तर राम्रो पनि भएन, सबैजना एक भएको भए थुप्रै जित्थ्यौं, बढी सिट आउँथ्यो।

हाम्रो संगठन र इस्यु बेसमा काम भएन। यो पाँच वर्षमै हामीले जति गर्न सक्थ्यौँ, त्यो गरेनौं।

भन्नाले नेतृत्वकै कारण पनि लोसपा चलायमान भएन?  

नेतृत्वको कुरा पनि हो। किनभने राजपा बन्दा पनि, जसपा र लोसपा बन्दा पनि सकेजति काम गर्न सकेको देखिएन। नेतृत्व त एउटै थियो नि! यो ५ वर्षमा हामीले जति गर्न सक्थ्यौं, त्यो नहुनुको कारण नेतृत्व पनि हो।

तर नेतृत्वकै कारण मात्र होइन, संगठन बनाउने जिम्मा त सबैको हुन्छ। राजपा, जसपा बन्दा उपेन्द्रजीसहित अहिलेको नेतृत्व थियो नि! जसपाबाट विभाजन भएर लोसपा हुँदा पनि केही भएन। लोसपा हुँदा गर्न सक्ने पनि गर्न सकेनौं। ५ वर्षमा समीक्षा गर्नुपर्छ भनेको त्यही भएर हो। मधेसकेन्द्रित दल बनाउने मात्र होइन, जनताका कुरा पनि उठाउन र कार्यान्वयन गर्न सक्नुपर्छ। फेरि स्थानीय चुनावमा जति हामीले जितेका छौं, त्यो त पहिलाको जति बचाएका छौँ।

तपाईंहरू मधेसको मुद्दा छाडेका कारण कमजोर बन्नुभएको हो कि टुटफुटले?

मुद्दा छाडेको त होइन। संघर्षका कार्यक्रम, जनताका कार्यक्रम गर्न सकेनौँ। कम्युनिस्ट र कांग्रेसतिर विभाजित जनताले अहिले पनि न्याय पाएका छैनन्। उनीहरू शासकको व्यवहार चिन्तन, नश्लीय वर्गको सिकार भए। अहिलेको चलनचल्तीको शैलीले देशका सबै नेपालीलाई समेट्न सकेको छ त? पहिचानवादी र अधिकार प्राप्तिको अधिकारको लडाइँ अहिले पनि गर्नुपर्ने भयो।

पाँच वर्ष पहिले जुन अवस्था थियो, अहिले पनि त्यही छ। अझ राम्रो गर्न सकिन्थ्यो तर भएन। निर्वाचनमा जनताको विचार, पार्टी सिस्टम, मूल्य–मान्यता ध्वस्त बनाइयो। आस्था एउटा छ, भोट अर्कैलाई हाल्नुपर्याे। यस्तो नि हुन्छ त! यसले गणतन्त्रकै धज्जी उडाएन? गठबन्धन बन्दा मूल्य/मान्यता, विचार, कार्यक्रम बन्नुपर्थ्याे। स्थानीय चुनावमा किन चाहियो गठबन्धन? यो त विकास युनिट हो नि! विकासप्रेमी जितेर आउनुपर्छ। स्थानीय त कार्यकारी अंग हो।

कांग्रेस र कम्युनिस्टले जनतालाई न्यायकर्ता बन्न दिएनन्। प्रत्येक घरघरमा उम्मेदवार, वडामा उम्मेदवार भए। जति अपराध गरेको भए पनि राम्रो भनिदिनुपर्ने भयो। यसले त गणतन्त्रले ल्याएको एउटा व्यवस्थामाथि प्रश्न उठायो।

कांग्रेस–कम्युनिस्टले कित्ताकाट गर्न खोज्दा काठमाडौंसहितका देशका विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्ने अवस्था बन्यो। यो भनेको तेरो उम्मेदवार चाहिँदैन भनेको त हो नि! दलीय आधारमा जनतालाई विभाजन गर्न खोजे पनि जनताले खोजेको परिवर्तन भएन। अधिकार, पहिचान पाएनन्, समृद्धितिर देश गएन। ७० वर्षमा ७ वटा संविधान बनाएको हो, तर अधिकार÷पहिचान पाएनन्। २४० वर्षदेखिको शाह वंश अन्त्य गरेर ल्याइएको गणतन्त्रमा पनि जनताले अधिकार र पहिचान नपाउने!

यो गणतन्त्र भन्दा राम्रो शासन व्यवस्था अर्काे त हुन सक्तैन। तैपनि विभेद, अन्याय अझै रह्यो। एकल जातीय शासन बनाइयो। पृथ्वीनारायण शाहले भनेको होइन– सबैको साझा फूलबारी? संविधान बनाएर व्यवस्था फेरिए पनि बन्यो त? राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी....’ गाएर मात्र हुन्छ? व्यवहार नश्लीय हुने। गीतमा एउटै माला भनेर के गर्नू! कुरा एउटा, काम उल्टोउल्टो भयो। गोल चक्करमा फसायो, यही पाराले नेपाल कसरी अघि बढ्छ?

यो चुनाव पनि एउटा औजार हो। कांग्रेस–कम्युनिस्टलाई ढाकछोप गर्ने औजार हो। उनीहरूका नश्लीय चिन्तन ढाकछोप गर्ने औजार हो। यसको समीक्षा गर्नैपर्छ। अब पनि यही रूपमा जनताको विकास र समृद्धि कसरी हुन्छ? यसलाई करेक्सन गर्नुपर्छ।

हामीलाई टुटफुटले झन् कमजोर बनाएको हो। हामी एकताबद्ध भएर चुनावमा गएका भए बलियो शक्ति बन्ने थियौं, त्यो त गुम्यो। अनि फेरि कांग्रेस–कम्युनिस्ट नै बलियो भन्ने देखायो। तर, जनतालाई विभाजित गर्ने पनि यिनै हुन्। 

स्थानीय निर्वाचनले जसपा र लोसपालाई बलियो झापड हानेछ, अब प्रदेश र संघीय निर्वाचनमा मिल्ने कि एक्लै लड्ने?

यो देशमा सबैखालका विभेद अन्त्य गर्न राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक छ। सुशासन, समृद्धि, विकास र नेपालीबीच एकता चाहने जनता मिलेर संघर्ष गर्नुपर्छ। शोषणमा परेका बाहुन÷क्षेत्री, जनजाति, आदिवासी, मधेसी, पिछडा वर्ग, महिला, दलितलगायत सबै मिलेर मुक्ति क्रान्ति लड्नुपर्छ। सबै नेपालीबीच एकता, भाइचारा, हुनका लागि विभाजित नभई एकताबद्ध हुन छुट्टै आन्दोलन गर्नैपर्छ। शोषण, दमन, अत्याचार, अन्याय, विभेद अन्त्य– राष्ट्रिय मुक्ति क्रान्तिपछि मात्र हुन्छ। त्यसैले सबै नेपाली एकताबद्ध भएर अब एकपटक आन्दोलन गर्नुपर्छ। शासकले मात्र संविधानको व्याख्या र प्रयोग गरे, नेपालीले संविधानमा व्यवस्था भएको कुरा पाउनुपर्याे नि!

मधेसी पार्टीबीच एकता हुन्छ कि हुँदैन?

मधेसी पार्टीबीचको एकताभन्दा पनि अब आउने प्रदेश र संघीय निर्वाचनमा चुनावी गठबन्धन बन्छ। सिटका आधारमा तालमेल गर्ने गरी छलफल भएको छ। स्थानीय चुनावमा त जे भयो भयो, अब कांग्रेस वा एमाले दुवैसँग गठबन्धनको लागि छलफल भएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाजीसँग र एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूबाट निम्तो आएको छ। हामी जुनसँग मिल्दा धेरै सिट पाइन्छ, जितिन्छ उसैसँग गठबन्धन गर्छौँ। मधेसी पार्टीभित्रको टुटफुटले फाइदा त कसैलाई गरेन। आखिर एजेन्डा पछि पर्यो।

अब उपेन्द्र यादव नेतृत्वको जसपासँग गठबन्धन हुन्छ?

अब जसपाको उपेन्द्र यादवसँग एकता हुनै सक्दैन। उहाँ जब पार्टी फुट्न खोज्छ, अनि एकताको कुरा गर्नुहुन्छ। डेढ वर्षअघि उहाँको पार्टी फुट्न खोज्यो, हामीले एकता गरेर जोगाइदियौं। बीचमा उहाँले विभाजन गराउनुभयो। उहाँको समस्या भनेकै एकता गर्ने अनि आफैँ विभाजन गरिदिनेछ।

अहिले फेरि उहाँको पार्टी विभाजन हुन लागेको छ, उपेन्द्रजीले एकताको कुरा गर्न थाल्नुभएको छ। उपेन्द्रजीले एकताको प्रस्ताव गरे पनि उहाँसँग भरोसा र विश्वास छैन, अहिले एकता भयो भने उहाँ आफैँले विभाजन गर्नुहुन्छ। तर, विचार मिल्नेसँग एकता हुन्छ, उपेन्द्रजीसँग मिलेन। त्यो बाहेक अरूसँग एकता हुन्छ।

त्यसो भए तपाईंहरू जसपाको विभाजन कुरेर बस्नुभएको छ?

जसपामा विभाजन हुने कुरा साथीहरूबाट सुनेका छौँ। हुन्छ कि हुँदैन, हामी अर्काे पार्टी पर्याैँ, त्यसैले थाहा पाउने कुरा पनि भएन। तर, उपेन्द्रजी अध्यक्ष रहेसम्म एकता अप्ठेरो छ। मलाई मात्र होइन, हाम्रा सबै साथीलाई त्यस्तै लागेको छ। उहाँ (उपेन्द्र) बाहेक अरूसँग एकता गर्न तयार छौँ।

जसपामा उपेन्द्र यादवबाहेक अर्काे अध्यक्ष हुने सम्भावना छैन। तपाईंको त बाबुराम भट्टराईसँग पनि राम्रो सम्बन्ध छ भन्ने सुनिन्छ। बाबुराम पक्षसँग एकताको संकेत गर्न खोज्नुभएको हो?

जसपाभित्र विवाद छ, पार्टी विभाजनको अवस्था छ भनेर सुनेका हौँ। उपेन्द्रजीसँग हाम्रो विचार मिलेन र एकता हुने सम्भावना छैन। बाबुरामजीको कुरा गर्नुभयो, उहाँसँग त संसदमा दैनिक भेट हुन्छ, कुराकानी गर्छौँ। उहाँहरू कसरी अघि बढ्नुहुन्छ, उहाँहरूको अवस्था क्लिएर भएपछि भन्न सकिएला।

तपाईंसँग भेट्दा बाबुराम भट्टराइले के भन्नुहुन्छ?

उपेन्द्रजीको काम-कारबाही ठीक भएन, उहाँबाट जसपाको नेतृत्व हुँदैन भन्नुहुन्छ। पार्टीभित्र समस्या रहेको बताउनुहुन्छ। उहाँको कुरा सुन्दा जसपाभित्र निकै ठूलो विवाद छ जस्तो लाग्छ।

अब तपाईंहरू र डा. बाबुराम भट्टराईबीच एकताबाट कस्तो पार्टी बनाउने?

हामीले बाबुरामजीसँग एकता गरिसकेका छैनौं नि! तर, के छ भन्दा अब देशमा चौथो शक्ति आवश्यक छ। कांग्रेस, एमाले र माओवादी तीनवटा शक्तिले पनि जनताको अधिकार प्राप्त गर्न सकेन। अब अर्काे एउटा शक्ति चाहिन्छ।

अमेरिकामा त आदिवासीहरूले क्रान्ति गरे। आत्मसम्मानका लागि संघर्ष गरे। नेपालमा त २४० वर्षे शाह वंश हटाइयो। ७० वर्षपछि गणतन्त्र आयो, नेपालमा प्रगति नै भएको छ तर जनताले किन दुख पाए? क्यापिटलिज्म र कम्युनिज्म बोकेर मात्र हुँदैन रहेछ। एकल राष्ट्रियताबाट देश बन्दैन। यसबाट मुक्ति पाउन राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्छ। यो क्रान्तिबाट आजभोलि मूल शक्तिका रूपमा एउटा शक्ति बन्छ, त्यही शक्तिले जनताको अधिकार/पहिचान दिलाउँछ।

स्थानीय चुनावले केही संकेत गरेको छ– कांग्रेस–कम्युनिस्टबाट मात्र हुँदैन। अहिले जस्तै कर्मकाण्डी चुनाव हुन्छ। त्यस्तै छानिन्छन्। औपनिवेशिक शैलीबाट चलाइएको यो शासन परिवर्तन गर्नैपर्छ। सबैका लागि नेपाल बनेन।

बुद्ध यहीँ जन्मेको होइन? विश्वका सारा मानिस बुद्धको विषयमा बुझ्न नेपाल आउँछन्। तर, यहाँ बुद्धको कुरासमेत पालना भएन। अब जनतालाई केही पनि हुनेवाला छैन।

त्यसोभए आन्दोलनको तयारी भइरहेको छ? 

हो, विद्रोहको तयारी भइरहेको छ। केही समय त लिन्छ नि! जनताको अधिकार प्राप्त गर्न राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ, केही समयपछि हुन्छ। भएरै छाड्छ। जनतालाई यत्तिकै राख्न हुन्न के! सधैँ विभाजित भएर जनता कसरी रहन सक्छन्? खै समृद्धि, खै विकास, खै जनताको पक्षमा काम? त्यसैले विद्रोह हुन्छ।

लोसपाभित्र पनि त विवाद छ, नेतृत्वले सबैलाई मिलाउन सकेन भनेर नेताहरू असन्तुष्ट भएको पार्टीले कसरी विद्रोह गर्छ?  
हाम्रो पार्टीमा विवाद छ भनेर कसैले भन्छ भने त्यो वाहियात हो। नेतृत्व परिवर्तनको कुरा त उठिहाल्छ, यो त समय आएपछि हुने कुरा हो। अहिले त्यतातिर केही भएको छैन।

कसको नेतृत्वमा हुन्छ राष्ट्रिय मुक्ति आन्दोलन?

राष्ट्रिय मुक्ति आन्दोलन देश बनाउन हो। यो शोषित, पीडित र उत्पीडित मात्र होइन, नेपालीको एकता चाहना जनताको विद्रोह हो। त्यो आन्दोलनले नेतृत्व पैदा गर्छ, जन्माउँछ। यो आन्दोलन अगाडि बढेपछि जो डटेर लाग्छ, उही नेता हुन्छ। पहिला त आन्दोलनमा जानु पर्याे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .