काठमाडौंमा हैजा देखिएको १३ दिनमा हैजाका बिरामीको संख्या १४ पुगेको छ। मंगलबार साँझ थप दुई जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ।
महाशाखाका अनुसार काठमाडौंका विभिन्न ठाउँमा हैजा फैलिएको छ। हैजाको संक्रमण देखिएका १२ जना निको भएर घर फर्किसकेका छन्। २ जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ।
अहिले राजधानीका १० स्थानबाट हैजाका बिरामी आएका छन्। बागबजार, डिल्लीबजार, कपन, बालाजु, थानकोट, नैकाप, बल्खु, कलंकी, कोटेश्वर, र सानेपामा बस्ने ब्यक्तिमा हैजा देखिएको हो।
पहिलो पटक बागबजारका एकै परिवारका दुई जनामा हैजा जीवाणु पत्ता लागेको थियो।
असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो। यो संख्या बढ्दै गएको छ।
- हैजाको त्रास : काठमाडौंमा जार र बोटलको पानी कति सुरक्षित?
-
काठमाडौंमा १० ठाउँमा १४ जनामा देखियो हैजा
-
के हो हैजा? कसरी बच्ने?
हैजा कसरी फैलिन्छ? यसका लक्षण कस्ता हुन्छन् ? र यसबाट कसरी बच्न सकिन्छ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग यसबारेमा कुराकानी गरेका छौं ।
हैजा भनेको के हो?
हैजाको नाम सुन्ने बितिकै मानिसहरुको कान ठाठाडो हुन्छ। नीति निर्माताहरूको पनि कान ठाडो हुन्छ। स्वदेश र विदेशमा पनि यसलाई अलिक बढी संवेदनशील रुपमा लिइन्छ। हैजाका कारण विगतमा पनि हजारौं मानिसको मृत्यु भइसकेको छ।
यो कडा रुपमा फैलिने पनि भएकाले अलिक डराउने गरेको पाइन्छ। हाम्रो समाजमा पनि एउटा शब्द छ कसैलाई रिस उठ्यो भने हैजाले लग्न नसकेको भन्छन्। त्यो शब्द यसरी प्रयोग गरिएको छ कि यसले पनि प्रष्ट हुन्छ कि यसले विगतमा कस्तो प्रभाव पारेको रहेछ। कति धेरै मानिसको मृत्यु भएको रहेछ। यही अस्पताल पनि पहिले कलेरा अस्पतालको रुपमा स्थापना भएको हो।
यसले पनि नेपालमा यो रोग कतिसम्म रहेछ, कति प्रभाव पारेको रहेछ भन्ने राम्रो संकेत दिन्छ। हैजा हेर्दाखेरि झाडापखाला नै त हो भनिएता पनि अरु संक्रमणका कारण पनि झाडापखाला हुन्छ ।
तर हैजाका कारण हुने संक्रमणचाहिँ ५ देखि १० प्रतिशत मानिसहरुलाई अत्यन्तै कडा हुन्छ र ती व्यक्तिले तुरुन्तै उपचार पाएनन् भने ५० प्रतिशतसम्मको ज्यान जान सक्छ। विगतमा नेपालमा यो खालको क्षति भइसकेको अवस्था पनि हो।
हैजाका लक्षण के के हुन्?
कोलेरा नामक ब्याक्टेरियाले संक्रमण गरेपछि यसको केही घण्टादेखि ५ दिनसम्ममा लक्षण देखिन्छ। हुन त अरु कारणले पनि झाडापखाला लाग्छ। तर हैजाको संक्रमण भएर लक्षण देखिँदा अचानक, थाहा नपाइकन, अरु बेला जस्तो बिस्तारो बिस्तारो हुँदैन। अचानक विस्फोटक तरिकाले चौलानी पानी जस्तो तारन्तार दिसा हुन्छ।
चामलको माड जस्तै पखाला देखिन्छ र सँगसँगै बान्ता पनि हुन्छ। बान्ता भइसकेपछि अरुबेला जस्तो केही खान सक्ने अवस्था हुँदैन। छिटो भन्दा छिटो सिकिस्त हुने सम्भावना रहन्छ। यी लक्षण देखियो भने म घरमै बसेर औषधि खान्छु, एक दुई घण्टापछि अस्पताल जान्छु भनेर नबस्नुस्। पेट दुख्ने, मांसपेशीहरु बाउँडिने, मुख सुक्खा हुने, तिर्खा लाग्ने जस्ता अरु बेलाको जस्तो लक्षण पनि देखिन्छन्। अर्को कुरा त्यसक्षेत्रमा हैजा फैलिरहेको हो भने पनि शंका गर्ने बाटो भयो।
के कारणले हुन्छ हैजा ?
कारण भनेको ब्याक्टेरियाकै कारणले हुने हो। सर्ने भनेको पानी, खाना र हातबाट बढी सम्भावना हुन्छ।
यो लागिसकेपछिको जटिलता के हुन्छ?
१० मा एक जनालाई जटिलता हुन्छ भन्ने छ। अथवा ५ देखि १० प्रतिशतलाई जटिल हुन सक्छ। जटिलता भएका मध्ये समयमा उपचार पाएनन् भने ५० प्रतिशतसम्मको मृत्यु हुनसक्ने तथ्यांकले देखाएको छ। तसर्थ पनि यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय हो।
पछिल्लो समय हाइटीमा हजारौं मान्छेको मृत्यु भएको थियो र त्यहाँ नेपालको पनि नाम जोडिएको थियो। त्यतिबेला मैले कडा प्रतिवाद पनि गरेको थिएँ।
बसोबासका हिसावले कस्तो क्षेत्रमा यसको बढी जोखिम हुन्छ ?
जहाँ जनघनत्व बढी छ त्यहाँ बढी खतरा हुन्छ। त्यसैले अहिले काठमाडौंमा बढी जोखिम होला कि भनेर अनुमान गरिएको हो। यस्तो ठाउँमा एकै प्रकृतिको पानी र खानेकुरा धेरैले उपयोग गर्ने भएकाले यस्ता बस्तीमा जोखिम बढि हुने हो। जुन ठाउँमा व्यक्तिगत सरसफाइमा ध्यान दिइरहेका छैनन् त्यहाँ बढी जोखिम हुन्छ। यस्तो ठाउँमा हैजा फैलिएको अवस्थामा ठूलो जोखिम हुन्छ।
हैजा कसरी फैलिन्छ ?
संक्रमित व्यक्तिको दिशाबाट सर्ने हो। त्यस्तो दिशा खाने कुरा वा पानी भएर अर्को व्यक्तिमा पुग्छ।
हैजा लागेका व्यक्तिको उपचारका लागि व्यवस्था कस्तो छ ?
समयमा उपचार पाए भने मानिस बाँच्छन्। विगतमा तत्काल उपचार पाउने अवस्था थिएन। नजिकै अस्पताल, स्वास्थ्य चौकी नहुँदा मृत्यु भएको अवस्था थियो। हैजा देखिएको केही घण्टामै उपचार नपाउने हो भने मृत्यु हुनसक्छ। जनघनत्व बढी छ तर स्वास्थ्यको पूर्वाधार राम्रो छैन, स्वास्थ्य जनशक्ति र श्रोत साधन राम्रो छैन भने उपचार नपाएर मानिसको मृत्यु हुनसक्छ।
हैजाको उपचार के हो त?
साधारण भाषामा भन्ने हो भनेचाहिँ हामीले स्लाइन पानी दिने हो। बान्ता भइरहेको छैन भने जीवनजल, नुन, पानी, चिनीको समिश्रण जुन छ, त्यही दिन भन्छौं। हाम्रो शरीरबाट जुन तत्व नष्ट हुन्छ, त्यसमा हुन्छ। त्यसले गर्दाखेरि जीवनजललाई प्राथमिकता दिन्छौं। तर, कडा हैजामा त बान्ता पनि सुरु हुन्छ। त्यस्तो अवस्थामा बिरामीले पिउन सक्दैन। त्यस्तो व्यक्तिलाई हामीले तत्काल अस्पताल लैजानु पर्ने हुन्छ र हामीले स्लाइन पानीको प्रयोग गर्छौं। अरु अंगमा समस्या छ कि छैन त्यो पनि परीक्षण गर्छौं र आवश्यकता अनुसार एन्टिबायोटिक पनि प्रयोग गर्छौं।
हैजाको उपचारमा एन्टिबायोटिक कतिको प्रभावकारी हुन्छ ?
एन्टिबायोटिक प्रयोग गर्नु भनेको रोगको जुन गति छ त्यसलाई घटाउने हो। त्यो व्यक्तिको दिशाबाट थप हैजाको किटाणु नफैलिने उद्देश्यका साथ हामीले प्रयोग गर्छौं।
नेपालमा हैजा कतिको अन्तरालमा देखिइरहेको छ ?
मलाई भन्नुहुन्छ भने त लगभग लगभग एक दुई वर्षमा लगातार जस्तो देख्छु। गएको वर्ष पनि नवलपरासीमा देखिएको थियो। झण्डै साढे ८ सयदेखि ९ सय जनामा संक्रमण भएको थियो। कम्तिमा ४ जनाको मृत्यु भएको थियो।
काठमाडौंमा अहिले जुन हैजा देखा परेको छ। यसको कारण के हुनसक्छ ?
यही कारण भनेर मैले ठोकुवा गर्ने अहिलेको अवस्था होइन। यो फैलिइसकेको छ । यसको अनुसन्धान हुन बाँकी छ। यसरी बुझौंकि सामान्यतया हैजाको जिवाणु जहाँ फोहोर पानी जमेको हुन्छ त्यस्तो अवस्थामा हुन्छ।
जब पानी पर्छ त्यो पानी ओभरफ्लो भएर जताततै बग्न थाल्छ। त्यसपछि कुनै न कुनै माध्यमबाट तपाई हाम्रो खानासम्म पुग्छ। त्यसपछि केही व्यक्ति संक्रमण हुन सुरु हुन्छ र त्यस्ता व्यक्तिको दिशा फेरि ढलमा मिसिन्छ र त्यो पुनः अरुसम्म पुग्छ र फैलिन्छ। केही दिन पहिले गरिएको परीक्षणमा पनि जारको पानीमा हैजाको किटाणु छ भन्ने पत्ता लागेको थियो। यो पनि यसैगरी त्यहाँसम्म पुगेको हो।
अहिलेको अवस्था कस्तो हो ?
अहिलेको अवस्था विशेषत काठमाडौंमा फैलिँदो क्रममा छ। त्यसले गर्दा हामीले सतर्कता अपनाउनु पर्ने र थप ठाउँमा फैलिन नदिन के गर्नुपर्छ भन्ने कुरामा नै ध्यान दिनुपर्छ।
खोप पनि हुन्छ ?
खोप छ। विश्व स्वास्थ्य संगठनले तीन वटा खोपलाई मान्यता दिएको छ। त्यो प्रयोग गर्ने नीतिचाहिँ छ वा छैन त्यो अलिक थाहा भएन।
सरकारले के गर्नुपर्छ हैजा फैलिने क्रम रोक्न ?
सरकार र सर्वसाधारण दुवैको उतिकै महत्वपुर्ण भूमिका छ। सरकारको हकमा कुरा गर्दा यो फैलिन सक्ने श्रोत पत्ता लाग्नु पर्यो। अहिले पनि मानिसले त्यो पानी पिइरहेका होलान्। त्यस्तो खाना खाइरहेका होलान् तत्काल त्यसलाई रोक्नु पर्यो। दोस्रो भनेको बजार अनुगमनको कुरा आउँछ। खाने कुराहरु परीक्षण गर्न सक्छौं। त्यसमा कसरी सुधार गर्ने भन्ने योजना बनाउनु पर्यो। अर्को भनेको जनचेतना नै हो। के गर्ने के नगर्ने भनेर एकदमै जानकारी गराउनुपर्छ।
यतिमात्रै गरेर भएन हामीले पनि केहि त गर्नु पर्यो। हामीले गर्ने कुरा तीनवटा सूत्रमा म भन्छु। खाने कुरा, पानी र व्यक्तिगत सरसफाई। खाना ताजा र राम्रोसँग पकाएर खानु पर्यो। धाराबाट आउने पानी पनि निर्मलीकरण गर्नु पर्यो। बाहिरबाट आउने पानीमा हामी सुरक्षित छ भन्नेमा सुनिश्चित हुनुपर्यो।
सबै मान्छे संक्रमण भएर थला पर्ने होइन। तर ती व्यक्ति संक्रमित भएर ब्याक्टेरिया फालिरहेका हुन्छन्। त्यो फेरि अर्को व्यक्तिको खानेकुरा वा पानीसम्म पुग्न सक्छ। त्यसले गर्दा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। आगामी दिनमा हैजाले कस्तो रुप लिन्छ भन्ने कुरा पनि हामीले यी कुरा कतिको पालना गर्छौं भन्ने कुराले निर्धारण गर्छ।
भिडिओ :
Shares
प्रतिक्रिया