ad ad

अन्तर्वार्ता


नेतृत्वलाई मनपर्ने उम्मेदवार मात्रै छान्ने हो भने पार्टी संकटमा पर्छ : रामवीर मानन्धर (अन्तर्वार्ता)

नेतृत्वलाई मनपर्ने उम्मेदवार मात्रै छान्ने हो भने पार्टी संकटमा पर्छ : रामवीर मानन्धर (अन्तर्वार्ता)

रुपक चौलागाईं
भदौ १८, २०७९ शनिबार २०:१६, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेबाट अघिल्लो निर्वाचनमा सांसद बनेका रामवीर मानन्धर यो पटक पार्टीको सिफारिसमै परेनन्। गत स्थानीय तह निर्वाचनमा पार्टीकै उम्मेदवारविरुद्ध अभिव्यक्ति दिएको भन्दै पार्टीपंक्तिबाटै उनको आलोचना सुरु भएको थियो। काठमाडौंको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित पराजित हुने उनको अभिव्यक्तिले एमाले वृत्त तरंगित बनेको थियो। 

मानन्धर अहिले पार्टीको केन्द्रीय कमिटीमा पनि छैनन्। ०७४ को निर्वाचनमा माओवादी समेतको साथ पाएर ८ हजारभन्दा धेरै मतअन्तरले विजयी भएका मानन्धर अहिले पनि पार्टीले टिकट दिएको खण्डमा उम्मेदवार बन्ने दाउमा छन्। 

तर, पार्टीको तल्लो कमिटीबाट भने उनको नाम सिफारिसमा परेको छैन। 

स्थानीय निर्वाचनको बेलामा कांग्रेस, माओवादी लगायतका दलसँग समन्वय गरेको आरोप खेपेका मानन्धनर यो पटक स्वतन्त्रको लोकप्रियतालाई मध्यनजर गरेर काठमाडौंमा उम्मेदवार छनोट गर्नपर्ने बताउँछन्। मानन्धरसँग नेपालखबरले गरेको कुराकानीः

सबै नेताहरुलाई चुनावले छोपेको छ। तपाईंको तयारी के छ?
अहिले भर्खरै मनोनयनका लागि सिफारिस भइरहेको छ। अब २३ गतेदेखि सुरु हुन्छ।

पार्टीको सिफारिसमा त पर्नुभएन नि?
हैन, भदौ २३ गतेपछि बल्ल थाहा पाउँछ कसले कसले पाउँछ भनेर, मलाई चाहिँ यसअघि जितेकालाई छाडेर अरुलाई पार्टीले टिकट दिन्छ जस्तो लाग्दैन। जितिरहेको ठाउँको सांसदलाई टिकट नदिएर अरुलाई दिँदा त अप्ठेरो पनि हुनसक्छ। मलाई लाग्छ, यो अहिले भएको सिफारिसमा मात्र भर परेर हुँदैन। यो अब प्रदेश हुँदै जिल्ला केन्द्रमा पुग्छ। त्यहाँ पनि पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी हुँदै सचिवालयसम्म पुग्छ। अध्यक्षले नै निर्णय गर्ने हो। हेरौँ, सिफारिसको सिस्टम जहिले पनि छ। तर, त्यो सिस्टमबाट भइरहेको छ जस्तो मलाई लागेको छैन।

त्यसोभए तपाईं यो निर्वाचनमा एमालेबाटै चुनावमा उठ्नुहुन्छ? 
टिकट दियो भने उठ्ने हो, नदिए त कसरी उठ्नु!

स्थानीय निर्वाचनमा त तपाईंलाई अन्तर्घातको आरोप पनि लाग्यो, त्यही भएर अहिले सिफारिसमा नपर्नुभएको पो हो कि? 
अन्तर्घातको कुरा आइसकेपछि अलि गहिरिएर बुझ्नुपर्छ। अन्तर्घात गर्दा ३८ हजार मत मात्र होइन, अन्य ११ वटा नगरपालिकामा २ वटाभन्दा जितेको छैन्। यो चाहिँ घात हो कि अन्तर्घात हो त? हारेको ठाउँमा अन्तर्घात भएको हो भने ती ठाउँमा के भएको हो, त्यो पनि त भन्नपर्छ। 

मेरो क्षेत्रको कुरा गर्दा स्थानीय तहमा हिजो ५० सिटमा थियौँ। आज ४२ बाट पनि घटेर ३८ भयौँ। ७ नम्बर क्षेत्रमा हामीले ५० मा ३८ सिट अहिले पनि जितेका छौं। अन्तर्घात भनेको जितेको ठाउँमा भनेको भए हुन्थ्यो पनि। तर, हाम्रो प्रतिपक्षहरुले पनि जितेको जस्तो मलाई लाग्दैन। त्यसकारण अन्तर्घातको परिभाषा मिलाउनपर्छ। त्यस्तो विषयमा कसैलाई चासो छ भने मन नपरेपछि यस्तो भयो भन्ने बुझ्नुपर्छ। 

तपाईं सिफारिसमा नपरेपछि चाहिँ बालकोटबाटै पनि तपाईंलाई सहयोग छैन भन्नेसम्मका कुराहरु सुनिन थालेका छन् नि? 
शंका मात्र गर्ने त एउटा ठाउँ छँदैछ। तर, पार्टी भनेको हिजो हामीले ठूलो दुःख गरेर बनाएका हौँ। हिजो कति सालदेखि यो पार्टीमा लागेर यसैको विकासमा सोचियो, यसबारे पनि ध्यान हुनुपर्छ। देश र जनताको लागि विचार र सिद्धान्तले हामी यसमा लागेका हौँ। त्यसकारण कसैले सिफारिस गरेर मात्र हुने पनि होइन। हामी पार्टीमा लागेकाहरुले यसलाई प्राथमिकतामा राखेर बहस पनि गर्न हुँदैन। 

किनभने १६५ निर्वाचन क्षेत्रमा नेतृत्वले मन परेको मात्र छान्न थाल्यो भने कति गाह्रो होला त्यो पनि बुझ्नैपर्छ। अहिले जनताले मन पराएका मान्छेहरु चाहियो। 

काठमाडौं ७ मा तपाईं जनताले रुचाएको पात्र होइन हो त? नत्र सिफारिसमा किन पर्नुभएन? 
मेरो क्षेत्रमा अहिले सर्वेक्षण गरौं, जनताले एक किसिमको भावना, विचारसँग मै साटेको छ। कार्यकर्ता उत्पादनसँग हाम्रो जुन त्याग छ, त्यसको पनि मूल्याकंन हुनुपर्छ। ०७४ मा हामीले यहाँ जित्दाको अवस्था पनि सम्झनुपर्छ। हार र जित राजनीतिमा भइरहन्छ। यही एउटा विषयलाई लिएर असन्तुष्टि जाहेर गर्न हुँदैन। टिकट लिनेदेखि दिनेसम्मलाई मूल्याकंन गरेर दिनुपर्छ। त्यतिबेला आलोचना वा आत्मालोचना दुवै हुनसक्छ। 

एमाले अध्यक्षसँग तपाईंको सम्बन्ध बिग्रिएको हो कि होइन?
अध्यक्षसँग किन बिग्रिनु, केही बिग्रेको छैन। धेरै वर्ष भएको छैन उहाँ अध्यक्ष हुनुभएको। अलिकति कुराहरु मान्छेले सुनाउने र सुन्नेबाट नेतृत्व सजग हुनुपर्छ। अरुले सुनाएकै कुराबाट धारणा बनाउन हुँदैन। 

हिजो हामीले लामो इतिहास रचेर यो पार्टी बनाएका छौं। एकैछिनमा सबैतिर सक्नका लागि यो घरको सामान्य झगडा हो र? यो दाजुभाइबीचको अंशबण्डाको कुरा हो र? देश र जनताका लागि लागेकाहरुले एकछिन सोच्छ। 

यसको मतलब पार्टीको विचार, संगठनलाई नै तोडेर हिँड्ने भन्ने होइन। काठमाडौंमा मात्र हामी हारेका होइनौं। चुनावमा हारजित स्वाभाविक हो। 

हाम्रो पार्टीले हारेको मात्र होइन, यहाँ त स्वतन्त्रले जितेको छ। यदि कांग्रेसले जितेको भए यो सबै आरोप खण्डनयोग्य हुँदैनथ्यो। बालेन्द्र शाहले काठमाडौंमा, राप्रपाले साँखुमा जितेको छ। कीर्तिपुरमा बढारिएको छ। त्यसको जिम्मा कसले लिने? त्यसकारण चुनाव भनेको हारजित हुने स्वाभाविक प्रक्रिया हो।

स्थानीय निर्वाचनअघि पनि एमाले बढारिने अभिव्यक्ति दिनुभएको थियो। त्यो स्वतन्त्रहरुको लहर देखेर भन्नुभएको थियो कि काठमाडौंमा एमाले कमजोर नै भएर? 
हाम्रो महानगरसहित अन्य १० वटा नगरपालिकामा उम्मेदवार दिएकाहरु खोजौं। त्यसपछि थाहा हुन्छ बढारिएको किन भनेको रहेछ भनेर। धेरैमध्ये शिक्षा लिनपर्ने विषय भनेको व्यक्तिको आचरणसँग पनि जोडिएको थियो। त्यही भएर त्यस्तो बोलेको थिएँ।

त्यतिबेला उठाएको उम्मेदवार व्यक्तिगत रुपमा ठिक थिएनन् भन्न खोज्नुभएको? 
हैन, सोच्न त परिहाल्छ। आज काठमाडौंमा स्वतन्त्र उदाउँदा कीर्तिपुरमा कम्युनिस्टहरु अस्ताउनुपर्ने अवस्था आयो। वामपन्थीहरुको वर्चश्व नै सकियो। शंखरापुर नगरमा राप्रपाले चुनाव जित्यो। बुढानीलकण्ठ र टोखामा चाहिँ एमालेले कसरी जित्यो त? त्यो पनि हेरिनुपर्छ। 

इमानदार, नैतिक, भ्रष्टाचार लगायतका विषयहरु राजनीतिमा सजिलै जोडिन्छ। सोही बेलामा मि टु पनि आएको थियो। त्यसले पनि असर त पार्नसक्छ। 

विद्यासुन्दर शाक्य मेयर हुनुुहन्थ्यो, तपाईं अहिले पनि सांसद हुनुहुन्छ। उहाँको ठाउँमा स्वतन्त्र उम्मेदवारले प्रभाव जमाएको बेलामा उहाँले टिकट पाउने तपाईंले नपाउने चाहिँ कसरी भयो? 
विद्यासुन्दरलाई नरुचाएको पनि भन्न मिल्दैन। यदि पब्लिकले नरुचाएको भए हिजो भारी मतअन्तरसहित कसरी जितिन्थ्यो। तर उहाँलाई चान्स नै दिइएन। पब्लिकको कुरा एकातिर छ, मेरो बुझाइमा सबैभन्दा राम्रो काम गर्नेमध्येमा विद्यासुन्दर हुनुभएको छ। हामीले आन्तरिक कुराहरु पनि बुझ्नुपर्छ। छपाएका कुराहरु प्रत्येकको हातमा पुर्याएको मात्र भए पनि चुनाव जितिन्थ्यो होला। अरु नगरपालिकामा पनि एक पटक सर्वेक्षण गराउनपर्छ। आत्मालोचना हार्ने र जित्ने सबैमा हुन्छ। हामीले १० मध्ये ६ वटा क्षेत्रमा जितेका छौं। 

माधव नेपाल र जीवनराम श्रेष्ठ अर्को पार्टीमा जानुभयो। त्यतिबेला कारबाहीको प्रसंग पार्टीले कहिल्यै गर्यो? गरेन नि। यदि मैले अन्तर्घात नै गरेको रहेछु भने पार्टीले मलाई छानबिन गरेर कारबाही गर्नुपर्छ। अन्तर्घातको आरोप लगाउन पनि विचार र सिद्धान्त जोड्नपर्छ। व्यवस्थित रुपमा आफ्ना कुराहरु राख्ने अधिकार छ उसले राख्न पाउनैपर्छ। कुनै एउटा व्यक्तिलाई मात्र आक्षेप लगाइन्छ भने त्यो स्वीकार गर्न सकिँदैन। 

एमालेबाटै तपाईंको सक्रियता हुन्छ त्यसो भए? 
म टिकट पाउने नपाउने जान्दिनँ। म २ पटक वडाध्यक्ष जितेर काम गरिसकेको मान्छे हुँ। म पार्टीमा एक्लै त होइन। जसले टिकट ल्याउँछ, उसलाई टाउको टेकेर जिताउनतर्फ लाग्छु। 

पार्टीले तय गरेर पठाएको उम्मेदवारले विचार बोकेर आउनुपर्यो टिकट मात्र बोकेर आउने होइन। अहिलेजस्तो मानिस भए पनि चल्छ भन्ने अहिलेको जमाना छैन। हामीले याद गर्नुपर्ने दुई ओटा कुरा छ। जसरी हामीले काठमाडौंमा पहिला ११ मध्ये नौ वटामा हारेका छौं। अरुले कसरी जिते भन्ने कुरालाई ध्यानमा राख्दै अघि बढ्न सकियो भने राम्रो हुन्छ। त्यसलेचाहिँ निर्वाचनमा राम्रो प्रभाव पार्छ भन्ने लाग्छ। 

काठमाडौंमा एमालेलाई जितको लागि कति सहज होला? 
काठमाडौंको ७ नम्बरको सवालमा म के भन्छु भने स्थानीय तहमा प्राप्त भएको मतको आधारमा नभई यहाँको विकास र जनचाहनाअनुसारको कामको लागि हाम्रो पार्टी लागिरहेको कारण म ग्यारेन्टीका साथ ७ नम्बर हाम्रो हो भन्न सक्छु। अरुअरु पार्टीको कुरा गर्ने हो भने अहिले हामीहरुले गठबन्धनहरुसँग लड्नुपर्ने अवस्था छ। त्यसको लागि एउटा व्यक्तिमा हुनुपर्ने चरित्रले पनि ठूलो अर्थ लाग्छ। त्यसैले पार्टीले उम्मेदवार छान्दा राम्रो भिजन भएको राम्रो योजना ल्याउन र त्यसलाई कार्यान्वयन गराउन सक्ने उम्मेदवार अघि सारेर निर्वाचनमा होमिनुपर्छ। तर, म के भन्छु भने हामीले छानेका मानिस गलत भयो भने काठमाडौंजस्तो स्थानबाट पनि हामीलाई हराइदिन सक्छ। 

उम्मेदवार छान्दा नेतृत्वले ध्यान देओस् भन्न खोज्नुभएको हो? 
एकदमै हो। धेरै साथीहरुले पार्टीमा ठूलो योगदान गर्नुभएको छ, खुनपसिना बगाउनुभएको छ। त्यो कुरालाई बिर्सिने हो भने जनताले पार्टीलाई ठिक साइजमा ल्याइदिन सक्छन्। त्यसैले अहिलेको अवस्थामा अन्तर्घातका कुरा ल्याउने प्रयास नगरौं। अन्तर्घात भइ नै रहन्छ। आफूले जित्दा वा हार्दा पनि अन्तरघात भइरहन्छ। ०७४ सालमा पनि अन्तरघात भएको विषयमा समीक्षा त भएन नि।

तपाईंले पार्टीलाई कस्तो उम्मेदवार छान्ने भनेर सुझावचाहिँ दिनुभएको छ कि छैन? 
कुरा के छ भने पार्टीको बैठकमा जानुपर्यो। पार्टीको बैठक हुनुपर्यो र पार्टीको बैठकमा यस्ता एजेन्डा समावेश हुनुपर्यो। चार महिना भयो, अहिलेसम्म तपाईंले पार्टीको बैठक बसेको सुन्नुभएको छ? त्यसको लागि पार्टीको जिम्मेवारीमा बसेका नेतृत्वले ध्यान दिनुपर्छ। 

केही समयअघि मात्र पार्टीको सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बसेको होइन र? 
सचिवालयको बैठकलाई नै हेर्नुस् न, चुनावको समीक्षाभन्दा पनि, चुनावमा कसरी जाने भन्दा पनि चुनावको लागि उम्मेदवारको सिफारिस गर भन्ने निर्णय गर्यो। तर, पार्टी कहिलेकाहीँ निर्मम पनि हुनुपर्छ। हारे एकपटक हारिन्छ, सधैंका लागि हार्ने त होइन। हिजो जित्यौं त हामीले, अब आज पनि जित्नका लागि जे पनि गर्नुपर्छ भन्ने मेरो मानसिकता होइन। नैतिकतापूर्वक मेरो नाम आउँछ भने मलाई कति प्रतिशतको सजाय दिने हो, त्यसको चाहिँ व्यवस्था हुनुपर्छ। 

अबको निर्वाचनबारे तपाईंको आकलन के छ?
म महिले यस विषयमा अहिले कुरा गर्दिनँ। २३ गते मनोनयन दर्ताको कार्यक्रम छ। त्यतिबेलासम्मको अवस्था के हुन्छ त्यसपछि म फेरि पनि आफ्नो कुराहरु तपाईंसमक्ष राख्नेछु।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .