ad ad

अन्तर्वार्ता


निर्वाचन आयोगबाट अन्यायमा परेँ, अदालतले न्याय दिन्छ : राजु गुरुङ (अन्तर्वार्ता)

विष्णु पौडेलले केही गरेनन्, इमान्दार एमालेले मलाई भोट दिन्छन्
निर्वाचन आयोगबाट अन्यायमा परेँ, अदालतले न्याय दिन्छ : राजु गुरुङ (अन्तर्वार्ता)

फाइल तस्बिर


सुदीप भण्डारी
कात्तिक १, २०७९ मंगलबार १४:३२, रुपन्देही

आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका थिए। तर बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी नै खारेज गरिदियो। त्यसविरुद्ध गुरुङ सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले यही आइबार अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई भनेको छ। 

अदालतको आदेशअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी कायमै रहेको सूचना निकालेको छ। सर्वोच्च अदालतले यस प्रकरणमा अन्तरिम आदेश दिने कि नदिनेबारे छलफलका लागि दुवै पक्षलाई कात्तिक २ गते बोलाएको छ। गुरुङको पक्षमा अन्तरिम आदेश आए मात्रै उनको उम्मेदवारी निश्चित हुने छ। राजुको उम्मेदवारी खारेजीले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सजिलो भएको चर्चा छ। तर, गुरुङले आफूलाई अन्याय भएकाले अदालतबाट न्याय मिल्ने बताइरहेका छन्। यसै सन्दर्भमा रुपन्देही २ मा समाजवादीका उम्मेदवार राजु गुरुङसँग गरिएको कुराकानी :

सर्वोच्च अदालतले तपाईंको पक्षमा अन्तरकालीन अन्तरिम आदेश जारी गर्यो। चुनावी अभियान थाल्ने योजना के छ? 
अदालतको आदेश आइसकेपछि रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेको छ। यसले मेरो उम्मेदवारी कायम भएको छ। अब फेरि हामी चुनावी अभियानमा अघि बढ्दै छौँ। 

रुपन्देही २ मा उम्मेदवारी दिने तयारी कहिलेदेखि थियो? कसरी अभियान थाल्नुभयो ? 
२०७७ पुस ५ गते जतिबेला प्रतिनिधि सभा विघटन भयो। त्यसपछि तत्कालीन नेकपामा विवाद देखिएर अदालतबाट एमाले र माओवादी ब्यूँतिएसँगै मैले तयारी थालेको हो। यहाँका जनता र कार्यकर्ताले ‘पार्टीलाई यो उचाईमा पुर्‍याउनुभयो, सामाजिक काममा सहभागी भएपछि बाहिर बसेर हुँदैन, नीति निर्माण गर्ने ठाउँमा जानुपर्यो’ भनेर सल्लाह दिनुभयो। सबैको सल्लाह सुझावअनुसार चुनाव लड्ने तयारी गरेको थिएँ। 

उम्मेदवारी दर्ता गरेलगत्तै निर्वाचन अधिकृतको कार्यलयले खारेज गर्यो। यसबाट तपाईंलाई त धक्का लाग्यो नि। 
त्यस्तो नहुनुपर्ने थियो। निर्वाचन अधिकृतको कार्यालयले कानुनको बर्खिलाप गरेर त्यसो गरेको थियो। पूर्वाग्रही ढंगले कहीँबाट निर्देशित भएर मिलेमोतोमा निर्णय गरिएको जस्तो निर्णय थियो। कानुनीरुपमा ठीक छु भन्ने भएकाले मलाई त्यस्तो केही भएन। म एउटा व्यक्तिमा मात्र त्यस्तो केही छैन। एउटा कम्पनीबाट अर्कोतर्फ मुद्दा चलिरहेको अवस्थामा अदालतभन्दा माथि गएर निर्वाचन अधिकृतले त्यो खालको निर्णय गर्नु पूर्वाग्राह हो भन्ने लागेको थियो। त्यसैले सर्वोच्च गएको हुँ। 

अहिले अन्तरकालीन अन्तरिम आदेश आएको छ। यो आफैँमा परिपक्क होइन, अन्तरिम आदेशका लागि कात्तिक २ गतेको समय तोकिएको छ। त्यो आदेशले तपाईंको चुनावी अभियान अघि बढ्ने नबढ्ने टुंगो लाग्ला। तपाईंको पक्षमा अन्तरिम आदेश नआए के गर्नुहुन्छ ? 
म अन्यायमा परेको छु। न्ययालयले मलाई न्याय दिन्छ। त्यही विश्वासमा छु। 

अन्तरिम आदेशले उम्मेदवारी कायमै भयो भने कसरी अघि बढ्नुहुन्छ? 
म गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुँ। गठबन्धनले चुनावी कार्यक्रम र योजना बनाउँछ। मेरो पार्टीको र व्यक्तिगत तर्फबाट पनि केही योजना बन्छन्, त्यस अनुसार अघि बढ्छौँ।

तपाईंको पक्षमा आदेश आएर चुनावी अभियानमा लाग्दै गर्दा कालोसूचीको कुरा पनि होला। यसले तपाईंको चुनावी अभियानलाई असर त पार्दैन? 
किन असर हुनु र! चिनियाँ सरकारसँग हामीले ४८ करोड रुपैयाँ लिनुपर्ने छ। त्यसमा पनि मुद्दा चलिरहेको छ। त्यहाँको पैसा ल्याएर हामीले व्यक्तिगत खर्च गर्ने गरेको होइन। एयरपोर्ट बनाउन प्रयोग गरेको हो। त्योबारे सबैलाई थाहा छ। 

तपाईंका प्रतिस्पर्धी विष्णु पौडेल हुनुहुन्छ। उहाँले लगातार चुनाव जित्नुभएको छ। उहाँलाई यो पटक पराजित गर्न सक्नुहुन्छ त ?
त्यो जनताले गर्ने हो। नेकपा एमालेभित्र अहिले वैचारिक विचलन भएको छ। एमालेमा सबै लोभिपापीहरुको जमघट छ। त्यसै पनि त्यहाँभित्र आन्तरिक खिचातानी र कलह छ। विष्णु पौडेलले पटक पटक चुनाव जित्नुभयो। उहाँले जनतासँग गरेका वाचा पूरा गर्नुभएको छैन। यहाँ यसै पनि गठबन्धनसहित हामी बलियो छौँ। हिजो एमाले बनाउन रगत पसिना बगाएको हुँदा इमान्दार एमालेले पनि मलाई भोट दिन्छन्। 

चुनावमा नयाँ एजेन्डा कुरा लिएर जाँदै हुनुहुन्छ? 
मुख्य कुरा पुस्तान्तरणको हो। अर्को रुपन्देहीलाई बदल्ने मेरो एजेण्डा हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .