ad ad

अन्तर्वार्ता


सरकार सफल हुने वातावरण नदेखेपछि राजीनामा दिएँ : हरिबोल गजुरेल (अन्तर्वार्ता)

सरकार सफल हुने वातावरण नदेखेपछि राजीनामा दिएँ : हरिबोल गजुरेल (अन्तर्वार्ता)

फाइल तस्बिर


सागर न्यौपाने
मंसिर २६, २०८० मंगलबार १८:५१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामालाई लिएर माओवादी केन्द्रमा खैलाबैला भएको छ।

गजुरेलले मंसिर २० गते राजीनामा दिएका छन्। तर, अहिलेसम्म उनको राजीनामा स्वीकृत भइसकेको छैन। उनले राजीनामामा केही गम्भीर विषय उल्लेख गरेको बताएका छन्।

तर, राजीनामा पत्र भने प्रधानमन्त्री प्रचण्डलाई दिइसकेकोले सार्वजनिक गर्न नमिल्ने उनले बताए। यसै विषयमा गजुरेलसँग नेपालखबरले संक्षिप्त संवाद गरेको छ।

त्यस्तो के आइलाग्यो र तपाईंले राजनीतिक सल्लाहकारबाट राजीनामा दिनुभयो?
मैले नीतिगत रुपमा असहमति जनाएर राजीनामा दिएको छु।

नीतिगत कुरा भनेको कस्तो हो? 

डेढ महिना अगाडिको सरकार कस्तो थियो? अहिलेको सरकार किन दुर्गा प्रसाईं जस्ताले थर्काउने अवस्था बन्यो? दैनिक विभिन्न व्यक्तिहरु किन सरकारप्रति खनिन थालेका हुन्? माओवादी नेतृत्वको सरकार पछिल्ला दिन किन बलियो देखिएन? हिजो हामीले सरकारलाई बलियो बनाउन भूमिका खेल्यौँ। अहिले राम्रो बनाउने वातावरण नभएपछि राजीनामा दिएँ। अहिले सरकारमा बसेर पनि जनतामा बढेको निरासा हटाउन सकिने अवस्था छैन।

भन्नाले हिजो र आजमा प्रधानमन्त्रीले के फरक गर्नुभयो र निराशा छायो त?
कुरा प्रधानमन्त्रीको होइन, हाम्रो शैलीको हो। सिंहदरबार पञ्चायतकालभन्दा फरक रुपमा चलेको छैन। कर्मचारी प्रशासन त्यस्तै छ। जनताको पक्षमा जति काम हुनुपथ्र्याे भएका छैनन्। केही नीतिगत व्यवस्था गर्ने मेरो योजना थियो। हिजो असहज अवस्थामा पनि मैले काम गरेकै हो। व्यक्तिगत कुरा गरेको थिइनँ। मेरो त्यस्तो बानी पनि होइन। 

मैले सहयोग गर्ने यो पटक वातावरण नै भएन। अलिक दुरगामी निर्णय गरेर जानुपर्छ भन्ने चाहना थियो, त्यो पूरा भएन।

त्यसो भए तपाईंको असन्तुष्टि प्रधानमन्त्रीसँग कि अरूसँग?
व्यक्तिगत असन्तुष्टिको कुरै होइन। नैतिक आधारमा मैले पदमा बसेर काम गर्न सक्ने वातावरण भएन। जनतामा आकर्षण पैदा गराउने कार्यक्रम र योजना ल्याउने कुरा देखिएन।

मुख्य कुरा सरकारलाई काम गर्ने दिशामा लैजान सक्ने अवस्था बनेन। जता लैजान खोजेको हो त्यो बाटो नै हिँड्न खोजेको जस्तो लागेन। राम्रो हुन पो हरिबोल चाहियो त, नराम्रो हुन त किन चाहियो र जस्तो लाग्यो।

तर, तपाईंको त यो राष्ट्रिय सभामा जाने मोलमोलाई हो भनेर तपाईंकै पार्टीका नेताहरु भन्छन् नि?
राष्ट्रिय सभामा जाने भए दुई दिनअगाडि राजीनामा दिन्थेँ नि। त्यसमाथि राष्ट्रिय सभामा जान पनि सल्लाहकार हुँदै प्रधानमन्त्रीसँग भन्न सजिलो हुन्थ्यो होला? कुनै पदको लागि होइन, गम्भीर नीतिगत विषय, जनताको जनजीविकाको सवालको कुरा हो। मैले कतिपय विषय कार्यान्वयन गर्न पहल पनि गरे तर, हुँदै भएन। सरकारमा बसेर के गरिस् भन्दा जवाफ दिनुपर्ने त हामीले हो नि, त्यही गर्न नसके त किन पदमा बस्नु?

राजीनामा प्रधानमन्त्रीले स्वीकृत गर्नुभएको छैन, अब फेरि फर्कने ?
मैले राजीनामा दिएपछि छिटो स्वीकृत गर्न प्रधानमन्त्रीलाई भनेको थिएँ, उहाँले बसेर सल्लाह गरौँला भन्नुभयो। खै भेट भएको छैन, उहाँले भेट्न बोलाएपछि कुरा हुन्छ। मैले राजीनामा दिने बेलामा कोहीसँग सल्लाह गरेको थिइनँ। म गुट बनाउँदिन। 

राष्ट्रिय सभा सदस्य बन्नुस् भन्ने प्रस्ताव आए तयार हो नि?
म तयार रहने नरहने भन्दा पनि पार्टीले निर्णय गर्ने कुरा भयो। फेरि राजनीतिक सल्लाहकार चाहिँ सरकारी पद हो, राजीनामा दिएँ। उता त पार्टीले गर्ने निर्णयको कुरा भयो। भोलि पार्टीले कसरी निर्णय गर्छ त्यही बेला थाहा होला। 

राजनीतिमा राम्रै उचाइ लिनुभयो, मन्त्री बन्नुभयो। अब राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष हुने अवसर देख्नुभएको त होइन? 
त्यसरी पदको लोभी म कहिले भइनँ। मेरो विगत हेर्नु न। विचार बोकेर हिँडेको छु। मैले गुट बनाएको छैन नि। नेता जम्मा गरेर हिँडेको पनि होइन। जिम्मेवारी लिएपछि राम्रो काम गर्नुपर्छ भनेर म लागेको हुन्छु। काम गर्न नसक्ने अवस्था बने छोडेको पनि छु। मैले पार्टी राजनीति गरेदेखि यही व्यवहार देखाएको छु। बाहिर एउटा, भित्र अर्काे हुँदैन र छैन।

गंगा दाहालसँगको असन्तुष्टिले पनि राजीनामा दिन बाध्य बनेको भन्छन् नि?
त्यसरी व्यक्तिमा नजानुहोस् न। मैले कहिले व्यक्तिको कुरा गरेँ र? राजनीतिक सल्लाहकार, पार्टीको जिम्मेवार व्यक्ति हुँ। कोहीसँग व्यक्तिगत कुरा निकालेर असन्तुष्ट हुन्नँ। तर, यति हो कि अहिलेको सरकारलाई सफल बनाउने वातावरण नै देखिनँ। राम्रो गर्नै सकिँदैन भने पदमा बसेर के गर्ने?
 
तपाईंको राजीनामाले पार्टीकै नेताहरु बिच्किएका छन्, तपाईंले नै असहयोग गरेको भन्न थाले त?
त्यो त विगत हेर्नु न! डेढ महिनाअघिसम्म सबैतिर सरकारको चर्चा थियो। माओवादी सरकारले गरेको कामको वाहवाही थियो। प्रधानमन्त्रीको चर्चा चुलिएको थियो। तर, अहिले के भइरहेको छ? एक महिना यताको घटनाक्रम, बाहिर चलेको चर्चा हेर्नु न। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .