अन्तर्वार्ता


उपेन्द्र यादव नआए राजपा एक्लै अगाडि बढ्छः राजेन्द्र महतो (अन्तर्वार्ता)

उपेन्द्र यादव नआए राजपा एक्लै अगाडि बढ्छः राजेन्द्र महतो (अन्तर्वार्ता)

सागर न्यौपाने
जेठ १८, २०७७ आइतबार ३:२४,

छिमेकी भारतले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि सरकार निशान छाप परिमार्जन गर्न संविधान संशोधनको तयारीमा जुटेको छ। यही बेला राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन गर्दा आफ्ना माग पनि समेटिनु पर्ने भन्दै नौ बुँदे संशोधन दर्ता प्रस्ताव गराउने तयारी गरेको छ। यो प्रस्ताव दर्ता गराउन राजपाका नेताहरु शुक्रबार सिंहदरबास्थित संसद सचिवालयमा पुगेका थिए, जहाँ उनीहरूलाई ‘सल्लाह गर्नुपर्ने’ भन्दै फर्काइयो। आइतबार पनि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी भएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो बताउँछन्ः 

संविधान संशोधन गर्नुपर्ने भन्दै नौ बुँदे दर्ता गराउन खोज्नुभएछ?
हो, गएका थियौं तर, दर्ता भएन। यो हुकुमी देश भइसक्यो के। हुकुम आदेश कहाँबाट आउँछ, नगर्नु परेपछि बहाना बनाइहाल्छ। हामीले संशोधन दर्ता गराउन भन्यौं। उनीहरूले सल्लाह गर्नुपर्छ भनिहाले। हुकुमबाट चल्दो रहेछ। नियम, कानुन, संविधानमा दर्ता गराउने हक त छ तर, कहाँबाट के आयो दर्ता भएन। आइतबार बोलाएका छन्, हेरौं।

प्रधानमन्त्रीले संविधानको अनुसूचि परिवर्तन गराउन संविधान संशोधन गरउँदैछन्, तर, फेरि तपाईंहरु संविधानको नौ बुँदा संशोधन गर्नुपर्यो भन्दै हुनुहुन्छ, यसको कारण?
राष्ट्रिय सहमतिको लागि नै खोज्या हो। यस्तो संवेदनशील अवस्थामा सरकारले राष्ट्रिय सहमति गरेर जाओस् भन्ने हाम्रो चाहना हो। सीमा विवादसम्बन्धि वार्तामा जानुभन्दा पहिला सम्पूर्ण देशलाई एकढिक्का बनाएर जानुपर्छ। राष्ट्रघात गर्न पाइँदैन। एकल चिन्तन, सोचबाट विगतमा धेरै राष्ट्रघाट यिनीहरुले गरे। कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई यिनीहरुले नेपालको नक्साबाट हटाइदिए। यो राष्ट्रघात गर्न कसले भनेको थियो, नेपाली जनताले? राजेन्द्र महतोले भनेको थियो? मधेसीले भनेको थियो? यी राष्ट्रघातीहरुले पचासौं वर्ष अगाडि आफ्नो नक्साबाट ती भूभाग हटाइदिए। कहाँ बेचे ठेगान नै भएन। महाकाली सन्धी गर्ने यी राष्ट्रघातीहरु नै हुन्। महाकाली सन्धी पास गराउन मरिहत्ते गरेको होइन केपी ओलीले? यही संसदबाट पास गरेको होइन त्यो सन्धी? जसमा महाकाली नदीको मुहान नै पत्ता नलगाइ सन्धी गरे यिनीहरुले। महाकालीको मुहान निश्चित गरेको भए अहिले त कहाँ हो भनेर समस्या पर्दैनथ्यो नि। यो राष्ट्रघात गर्ने त केपी ओली थिए होइन र?

त्यो राष्ट्रघात फेरि नगरुन। सम्पूर्ण नेपाली एक ढिक्का भएर आफ्ना दषी प्रमाण लिएर उच्च मनोबलका साथ जनताको सद्भाव लिएर वार्तामा जाउन। भूमि मात्र होइन राष्ट्रियता, जनता पनि हुन्। राष्ट्र भनेको भूमि र जनता पनि हो। संविधान संशोधनको सवाल उठाएको, नयाँ नक्सा बनाएको ठीकै छ, हाम्रो आपत्ति छैन। जब सरकारले संविधान संशोधनको कुरा गर्यो, हामीले भन्यौं– संविधान संशोधनकै लागि त्यत्रो मान्छे मरेका छन्। पहिचान र अधिकारका लागि हिमाल, पहाड र तराईका आदिवासी, जनजाती, थारु मधेसी मरेका छन्। त्यो पनि राष्ट्रिय सवाल हो र त्यसलाई समेटन आवश्यक छ। अनि मात्र राष्ट्रियता बलियो हुन्छ। हामीले त्यति न भन्या हो। हिमाल, पहाड, तराई मधेस सबैलाई समेटेर एक ढिक्का गरेर सरकार अगाडि बढेन भने राष्ट्रघात नै गर्ने कोसिस हुन्छ। विगतमा जस्तै फेरिपनि त्यसो हुन्छ भन्ने हाम्रो चिन्ता हो। त्यस्तो नहोस् भनेर हामीले संविधान संशोधनको विषय प्याकेजमा लैजाऊ भनेर आग्रह गरेको हो। सहयोग गर्न खोजेको हो। सीमा नक्सा र आदिवासी, जनजाती, मधेसको सवाल सँगै लग्नुपर्छ भनेका हौं।

हामीले भनेको कुरा सरकारी प्रस्तावका रुपमा संसदमा प्रस्तुत भइसकेको छ। २०७४ बैशाख ११ गते शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा सरकारी प्रस्तावका रुपमा दर्ता भएको प्रस्ताव नै हामीले अगाडि बढाउन खोजेको हो। संविधानमा थुप्रै समस्या छन्, ती सबै थाती राखेर राष्ट्रिय सहमतिको लागि अगाडि बढाऔं भनेको हो। जबकि विगतमा ती सबै विषयमा सहमति जुटिसकेको हो। संसदमा ६२ प्रतिशत भोट पाएको छ त्यो प्रस्तावले। चार प्रतिशत नपाएर दुईतिहाई नपुगेको न हो।

तपाईंहरुको माग सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न प्रधानमन्त्री तयार छन् त?
हुनुपर्छ। नत्र, असफल भइन्छ। कमजोर भएर जानु हुन्न। देश कमजोर भएर वार्तामा जानुहुन्न।

तपाईंहरुले संविधान संशोधनको नौ बुँदे प्रस्ताव दर्ता गरेपछि त झन् समस्या हुने देखियो, होइन र?
यो त राष्ट्रको आवश्यकताको कुरा हो। सरकारले महसुस गर्ने कुरा हो। हामीले त सहयोग गर्ने न हो। नेकपा र कांग्रेसले सोच्ने हो राष्ट्रिय सहमति कसरी जुटाउने भनेर। हामीले त हात बढाएकै हो– राष्ट्रिय सहमति जुटाऊ, प्याकेजमा सहमति गर भनेर। अब सरकारले सबैलाई सहमति जुटाएर जान्छ कि ‘मेरो गोरुको वाह्रै टक्का’ गर्छ उसैलाई सोध्नुस्। केपी ओलीलाई सोध्नुस् के।

तपाईंहरु निशान छापका लागि मात्र गरिन लागेको संविधान संशोधनको पक्षमा कि विपक्षमा?
यस्तो प्रश्न गर्नै हुँदैन के। यो त फेरि राष्ट्रिय सहमति भाँडिने कुरा भयो। हामी प्याकेजमा सहमति गरौं भनिरहेका बेला यस्तो प्रश्न किन गर्नुहुन्छ? यो पनि नश्लीय सोचका आधारमा उब्जिएको प्रश्न हो। मैले पटक पटक भनिसकें– राष्ट्रिय सहमतिको लागि प्याकेजमा सहमति आवश्यक छ। त्यो भएन भने यसो गर्ने कि नगर्ने भनेर के भन्न खोज्या हो मिडियाले? अन्यथा नलिइदिनुहोला, मैले के देखेको छु भने– आफ्नो जात, वर्ग, समुदायको लागि देशै बेचे पनि वास्ता नगर्ने मान्छे यहाँ छन्। यिनीहरुकै कारण बिग्रिएको हो। यो भएन, यसरी चल्दैन। मधेसी हुँदैमा उल्टो सोच्नुपर्ने जहिलेपनि। मधेसी चाहिँ राष्ट्राती भइहाल्छ? यो देशको सच्चा नागरिक फलानो जातको हुनुपर्ने भनेर देश चल्छ? हुँदैन, जति चल्यो चल्यो अब त हुँदै हुँदैन।

सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएपछि तपाईंहरू समाजवादी पार्टीसँग एकता गर्ने घोषणा गर्नुभयो तर, यत्रो दिनभयो एकताले औपचारिकता पाएन त?
पार्टी एकता गर्ने समझदारी त गरेको हो। एकता हुनुपर्छ तर सबै कुरा मिलिसकेको छैन। विधान, घोषणापत्रदेखि नेतृत्व व्यवस्था सबै कुरा मिलाउनुपर्छ। अब जुनबेला मिल्छ त्यो बेला निर्वाचन आयोगमा गएर पार्टी एकताको प्रक्रिया पूरा हुन्छ। जबसम्म सबै कुरा तयार हुँदैन तबसम्म त्यो प्रक्रिया अघि बढ्दैन।

तर, पार्टी एक नहुँदै फुटतिर गयो भन्ने चर्चा छ नि?
पार्टीभित्र समस्या छ। समस्या नभएको भए कुरा मिलिसक्थ्यो। पार्टी तोड्न पो सजिलो छ जोड्न त गाह्रो छ नि। समस्या थुप्रै छन्, नत्र ४० दिनसम्म एकता हुन रोकिनुपर्ने थिएन। समस्या छ, समाधान गर्ने प्रयास गर्दैछौं हामी। मिलेको दिन हामी निर्वाचन आयोग गएर दर्ता गराउँछौं। भोलि पनि हुनसक्छ, १० दिनपछि पनि हुनसक्छ। अहिले एकताबाट फुट तिर गइहाल्यो भनेर कसले हल्ला चलायो?

जस्तो कि तपाईंहरू संविधान संशोधन प्रस्ताव दर्ता गर्न जाँदा समाजवादीका नेताहरू देखिएनन् त?
समाजवादीका सचेतकसहित पाँचजना सांसद आएका थिए, संविधान संशोधन प्रस्तावमा हस्ताक्षर पनि गरेका थिए। तर, पछि उनीहरुलाई उपेन्द्र यादवजीले झिकाइदिए, फिर्ता बोलाइदिए। किन फिर्ता बोलाए उनैलाई सोध्नुस्। उनीहरुको सांसद आए, प्रदीप यादव लगायतले सही पनि गरेका छन्। पछि उपेन्द्रले फिर्ता बोलाए। प्रस्तावमा सही गरिसकेका सांसदलाई फिर्ता बोलाइयो, अब हामी सँगै बस्ने हो कि होइन थाहा छैन। यो सवालमा सँगै हुने हो कि होइन? हामी त चाहन्छौं, संविधान संशोधन प्रस्ताव दर्ता गराउँदा उपेन्द्र यादव समेत रहनुपर्छ।

सबै कुरामा एक मत भएर राष्ट्रिय एकतामा सहमति जुटाउनुपर्छ भन्ने हाम्रो आग्रह हो। प्याकेजमा सहमतिको लागि नै अगाडि बढ्ने हो, प्याकेजमा सहमति भएन भने संसदमा हामी रुलिङ, भोेटिङमा एक मत भएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो। त्यसमा उपेन्द्रजी तयार हुने हो कि होइन थाहा छैन। उनी तयार भएपनि नभएपनि राजपाले संविधान संशोधनको प्रस्ताव अगाडि सार्छ। राष्ट्रिय सहमति गर, नगरे मुलुकलाई धोका हुन्छ। अब धोका दिने राष्ट्रघाती काम नगर भनेर हामी संसदमा बोल्छौं।

कांग्रेसका नेतासँग पनि भेट गर्नुभएको थियो, उसले तपाईंहरुको माग बारेमा के भनेको छ?
कांग्रेसलाई भनिरहेकै हो। कांग्रेसकै नेतृत्वको सरकार हुँदा ०७४ बैशाख ११ गते यो प्रस्ताव टेबल भएको हो, माओवादीका अजयशंकर नायक कानुनमन्त्री थिए। अहिले यो नालायक सरकारले त्यसलाई अगाडि बढाउनै मानेको छैन। अब एकल जातीय हिसावले अगाडि बढ्छ भने बढोस्, हेरौं।

संविधान संशोधन जस्तो विषयमा सहमति बनेन र त्यसमा सर्वसम्मत निर्णय भएन भने त्यसले के अर्थ राख्छ?
म पनि त्यही भन्दैछु, सर्वसहमति नबनी केही अर्थ छैन। यसमा संवेदनशील त हुनुपर्यो नि। कतिवटा संविधान बनाउने चार वटा त बनिसक्यो। ७० वर्षमा ७ वटा संविधान बनायौं, कस्तो नालायक हामी। अमेरिका, भारतमा त्यस्तो त भएको छैन। हाम्रोमा संविधान बनाउँदै मार्दै फाल्दै गरेका छौं। यो संविधानमा यही रवैया रह्यो भने कहाँ टिक्छ।

अहिले त नक्सामा मात्रै केन्द्रित भएर संविधान संशोधन गर्ने प्रस्ताव छ। तपाईंहरुको माग पनि सम्बोधन हुनुपर्यो भनेपछि त कसरी सहमति बन्छ त?
बन्नुपर्यो। तलमाथि भयो भने फेरि राष्ट्रघात हुन्छ। पहिला अरु शासकले त्यही गरे। अब सीमामा पनि हुनसक्छ।

तर, आफ्रनो भूभाग फिर्ता लिने कुरामा मधेसी पार्टीले साथ दिएनन भनेर तपाईंहरुमाथि आरोप त जिन्दगीभर लाग्छ नि?
मधेसीले राम्रो कुरा गर्यो भने विरोध गरिहाल्नुपर्ने जरुरी छ? आम सहमति कायम गर्न आनाकानी गरेर केपी ओलीले पो राष्ट्रघाती काम गरे। राष्ट्रिय सहमतिको लागि के के गर्न तयार छन् ओली? संसदमा ६२ प्रतिशत भोट पाएको विषयलाई अगाडि नबढाएर के गर्न खोजेको हो?

अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा सरकारलाई साथ दिने कि नदिने तपाईंहरु?
यो पाखण्डी पाराले देशको सीमा फर्काउनु छैन, मात्र नारा दिनुछ। कागजमा कोरेर सीमा पाउने हो? त्यसो भए कोर न त दिल्लीसम्म नै, नेकपाकै नेता भीम रावलले भनेका छन् नि। देशभित्र एक ढिक्का भएर जाऊँ, अनि वार्ता गरौं। भूमि मात्रै राष्ट्रियता होइन, जनता र भूमि दुवै हुनुपर्यो। जनता भनेको एकल जातीय होइन, हाम्रो भूगोलमा बस्ने सबै हो।

त्यो जनताले उठाएको संविधानसँग सम्बन्धित संशोधनको कुरा पूरा गर्नुपर्छ। अरु कुरा भएको भए हामी चुप लागेर बस्थ्यौं, संविधान संशोधनको माग गर्दै त्यत्रो मान्छे मरेको छ, कुर्वानी गरेको छ, जनताको माग पूरा गर्नु हाम्रो दायित्व हो। केपी ओलीको खोक्रो राष्ट्रवादमा किन सही गर्ने? भोलि गएर धोका दिन्छन्। वार्ता सफल हुँदैन थाहा छ। सफल पार्न त सम्पूर्ण नेपालीको भावना लिएर जाउ न भन्ने हाम्रो भनाइ हो।

तपाईंहरुले अघि सार्नुभएको नौ बुँदा नै संशोधन गर्ने कि त्यसमा केही बुँदा छोडेर संशोधन गर्ने?
सबै पूरा गर्नुपर्छ। प्रान्तको सीमा हेरफेरको विषयमा केन्द्र र प्रदेशको सहमति लिनुपर्ने कुरा भयो, हामीले त्यसलाई हटाउ भनेका छौं। सीमाङ्कनमा आयोग बनाउने कुरा छ। वैवाहिक नागरिकको विषय अहिले चलिआएको परम्परा नै हो।

भाषा आयोगको प्रतिवेदन अनुसार भाषा सम्बन्धि विषय हुनुपर्छ। यसमा ओलीले सहमति जुटाएनन् भने अर्काे राष्ट्रघात हुनेवाला छ। मधेसी पार्टीले दिएनन् भनेर वार्ता सफल हुन नदिने योजना हो। नोक्सान त देश र जनतालाई हुने हो। महाकाली सन्धी गरेकै छ, नक्साबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक हटाएकै छ। देश बेच्ने काम त यिनीहरुले गरेकै छन् नि। त्यो काम मधेसीले गरेको हो र? धोतीले कहिले राष्ट्रात गरेको छैन।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad