प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय रामको जन्म चितवनको माडीमा भएको बताउँदै आएका छन्। यही विषयमा उनले माडीका जनप्रतिनिधिलाई बोलाएर शनिबार छलफल पनि गरे। उनले तत्काल अयोध्यापुरीमा रामको मूर्तिसहितको मन्दिर बनाउन जनप्रतिनिधिलाई निर्देशन समेत दिए।
प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको छलफलमा नगरपालिका मेयर, उपमेयर, प्रवक्तासहित नौ जना उपस्थित थिए। टोलीको नेतृत्व गर्दै बालुवाटर पुगेका माडीका मेयर ठाकुरप्रसाद ढकालसँग नेपालखबरले गरेको कुराकानीः
प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर तपाईंहरुलाई के भन्नुभयो?
प्रधानमन्त्रीज्यूले रामको जन्मभूमिबारे कुराकानी गर्नुभयो। माडी नगरपालिकाको साविक अयोध्यापुरी गाविसमै रामको जन्म भएको हो। त्यसको सबै तथ्यहरु छन्, तपाईंहरु काम अगाडि बढाउनुस् भनेर भन्नुभयो।
अनि तपाईंहरुले के जवाफ दिनुभयो?
प्रधानमन्त्रीले यो कुरा हावादारी किसिमले भन्नुभयो भन्ने खालको थिएन। फेरि उहाँले २ घण्टाजति छलफल गर्नुभयो। उहाँले विभिन्न कारण दिएर रामको जन्म माडी अयोध्यापुरीमै हो भन्नुभयो।
प्रधानमन्त्रीसँग यही विषयमा अध्ययन गरेर पहिला पनि किताब लेखिसक्नुभएको एकजना विज्ञ लोकमणि पौडेल पनि हुनुहुन्थ्यो। उहाँले पनि माडी नगरपालिका नै रामको जन्मभूमि हो भन्नुभयो। उत्तरवाहिनी नदी, रामको मन्दिरनजिकै तालका कुराहरुसहित जोडेर ठाउँ त्यही भन्ने कुरा गर्नुभयो। प्रधानमन्त्री र विज्ञले तथ्यसहित तपाईंहरु अगाडि बढ्नुस् भनेर भनेपछि हामी विश्वस्त भयौं। अब सोही आधारमा अघि बढ्छौं।
तपाईं सो क्षेत्रको जनप्रतिनिधि हो। प्रधानमन्त्रीको दाबीमा विश्वस्त हुने आधार, प्रमाणहरु छन्?
प्रधानमन्त्रीले असत्य बोल्नुभयो भनेर कसैले भन्छ भने म त्यसलाई स्वीकार गर्ने पक्षमा छैन। भारतसँगको कुरा होस् वा पार्टीभित्रको अन्तविरोधका कुराले यो ल्याएको भन्छ भने त्यसमा पनि म सहमत छैन।
किनकि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको शिलान्यास गर्नुभयो। त्यो अयोध्या निर्विवाद राम जन्मेको स्थान भनेर आएकै छैन। दोस्रो, त्यहीँको पुरातत्व विभागले अनुसन्धान गरेर पठाइसकेपछि यो रामको जन्मभूमि नै हो भन्ने खालको विषयमा अदालतमा मुद्दा पर्यो। पुरातत्व विभागको अनुसन्धानले त्यहाँका भग्नावशेष बौद्धकालभन्दा पछिको हो भन्यो। बौद्धकालभन्दा धेरै पहिलाको त्रेता युगको रामको कुरा जो छ, त्यो भन्दा धेरै पहिलाको भएको हुनाले यो मिल्दैन, त्यसकारणले गर्दा रामको जन्मभूमि होइन भनेर त्यहाँको पुरातत्व विभागले एकदमै प्रष्ट रुपमा राखेको छ।
त्यसैले रामको भारतमा जन्म भएको दाबी तथ्यमा आधारित छैन। त्यहाँ होइन भने कहाँ हो त भन्दा हाम्रोमा केही प्रमाण फेला परेका छन्। सबै धर्मशास्त्रहरुले स्वीकारेको छ, वाल्मिकी आश्रम। माडी नगरपालिकाको १ नम्बर वार्डमा वाल्मिकी आश्रम छ। त्यो आश्रम सीता, रामसँग जोडिएको छ। लवकुश जो सीताका छोरा भनेर भनिएको छ, उनीहरु जंगलमा खेल्न जाँदा रामको घोडालाई समातेर, पक्रेर लिएर गएका भनिसकेपछि त, केटाकेटी जंगलमा खेल्न जाने कुरा र अयोध्याको घोडा त्यहाँ आइपुग्ने कुरै मिल्दैन। अर्काे, रामले भाइ लक्ष्मणलाई भाउजूलाई जंगलमा छोडेर आउन भने। दिउँसो छोडेर बेलुका घर आएको रामायणमा प्रष्ट उल्लेख गरिएको छ। भारतको अयोध्याबाट वाल्मिकी आश्रम आई फर्केर लिएर जान सक्न सम्भव थिएन। त्यसकारण यी तथ्यहरुको आधारमा अहिले रामको जन्मभूमि चितवनको माडीकै अयोध्यापुरी हो भन्नेमा हामीले विश्वास गर्ने आधार बनेको छ।

तपाईंले त प्रधानमन्त्रीले भनेको कुरा गर्नुभयो। त्रेता युग, राम, सीता भनेका तथ्य हो कि मिथक भन्नेमै बहस हुँदैछ। तपाईंले त्यहाँको वास्तविकता बुझेको आधारमा यथार्थ के हो?
म अध्यात्मवादी होइन। म भौतिकवादी हुँ र त्यसमै विश्वास गर्छु। तर, कतिपय कुरा तथ्य वा कथावस्तुका हिसाबले आउने कुरा पनि हुन्छन्। रामलाई एउटा आदर्शका रुपमा मानिसले स्वीकार गर्न थालेका हुन्। पुस्तौँदेखि राम कहाँ जन्मेका हुन् भन्ने टुंगो लागेको छैन, हिजोको म मेयरले यहीँ जन्मेको हो भनेर भन्न सक्ने कुरै भएन, तथ्यकै आधारमा भन्दा।
कथाबस्तुले देखाएका चीजहरुलाई हेर्दा, सबै पुराणहरुमा उल्लेख भएको वाल्मिकी आश्रमलाई हेर्दा यो स्थान रामको कथावस्तुसँग सीधै जोडिएको छ। परशुराम कुण्ड छ। यहीँ माडी नगरपालिकामा चैत नवमीमा रामको पूजा गर्ने प्रचलन धेरै पहिलादेखि चलेको छ। परशुराम कुण्डमा नुहाउने चलन हामी यहाँ आउनुभन्दा धेरै पहिलादेखिको हो। पूजा गर्ने गरेको तथ्य पनि हामीसँग छ। त्यसकारण यसको सेरोफेरोमा रामको विषयमा केही छ भनेर हामी जनप्रतिनिधि भएर आउनुभन्दा धेरै पहिलादेखि छलफल भएको थियो। धार्मिक, ऐतिहासिक हिसाबले पुष्टि भएका कुराहरु हामीसँग थिएनन्। अब यी छन् भन्ने भइसकेपछि सुरु गर्न लागेका हौं।
त्यसो भए मन्दिरको काम कहिलेदेखि सुरु हुन्छ?
रामको जन्मभूमि सम्बन्धी खोज अनुसन्धान तथा व्यवस्थापन समिति भन्ने हामीले बनाएका छौं। त्यो समितिको भोलि या पर्सि हामी बैठक राख्छौं र तुरुन्तै मन्दिर वा अरु कहाँ कसरी निर्माण गर्ने, त्यसको मास्टरप्लान कसरी बनाउने भनेर निर्णय गर्छौँ र तुरुन्तै काम सुरु गर्छौं।
यसको बजेट, निर्माणको खर्चको बारेमा प्रधानमन्त्रीले केही भन्नुभयो?
उहाँले मास्टरप्लान ल्याउनुस्, मन्दिर मात्रै होइन धामकै रुपमा विकास गर्ने हो भन्नुभएको छ। जग्गाको बारेमा, ठाउँको विस्तारको बारेमा तपाईंहरु हेर्नुस्, मूर्तिको व्यवस्थापनदेखि सबै बजेट संघीय सरकारबाटै गर्छाैं तपाईंहरुले त्यसलाई व्यवस्थापन मात्रै गर्नुस् भन्नुभयो।
त्यो नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पनि हो, उहाँले यस बारेमा के भन्नुभएको छ?
पार्टीका दुईजना अध्यक्षमध्ये एकजना प्रधानमन्त्रीले मलाई बोलाउनुभयो अनि हामी आयौं। रामको जन्मभूमि माडीमा हो कि होइन, तपाईंको राय के छ भनेर मैले सोधेको छैन। पार्टीकै एकजना अध्यक्षले तथ्यसहित कुरा राखिसक्नुभएको छ। मेरो पार्टीका दुईजना अध्यक्ष नै मेरो आस्थाको धरोहर हो। पार्टी एकता भइसकेपछि उहाँहरु दुवैलाई सम्मान गर्ने कुरा भइहाल्छ।
अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र र म यहाँको प्रतिनिधि भएको हुनाले भ्याएसम्म म सानो कुरा पनि गरौं कि नगरौं भनेर उहाँलाई सोध्ने गर्दछु। राम मन्दिर र धामकै विषयमा कसरी जाने भन्ने बारेमा त्यहाँको जनताको सेन्टिमेन्ट पनि ख्याल गर्नुपर्छ। जनताको भावनाको कदर पनि गर्नुपर्छ। त्यही भएर प्रचण्डसँग सल्लाह र परामर्श हुन्छ। यहाँ सानो काम बिग्रियो भने पनि ठाकुरले होइन प्रचण्डले बिगारेको भन्छन्। हामीले राम्रो काम गरेको भएपनि प्रचण्डले राम्रो गरेको भन्छन्। जे गरेपनि उहाँसँगै जोडिन्छ। अनि हामीले प्रचण्डसँगै सल्लाह गरेर काम गर्छौं।
तपाईंले जनताको कुरा गर्नुभयो, रामधाम बनाउने भनेपछि के भन्छन् माडीबासी?
माडी नगरपालिकाभित्र जनसंख्या ४४ हजार छ। यहाँका मानिसहरु खुुसी छन्। रामको मन्दिर बनाउने, रामधाम बनाउने कुराले यहाँका स्थानीय यहीँ रामको दर्शन गर्न पाइने भयो भनेर उत्साहित छन्।
तपाईं कम्युनिस्ट, प्रधानमन्त्री कम्युनिस्ट, अहिले कोरोना महामारीको बेला प्रधानमन्त्रीले राम मन्दिर बनाउन निर्देशन दिनुभयो। अब तपाईंहरुका लागि कुन चाहिँ काम महत्वपूर्ण?
हामीले सबै कुरा छोडेर कोभिड १९ लाई माडी क्षेत्रलाई कोरोनाशून्य बनाउने प्रयत्न गरिरहेका छौँ। स्थानीय तहमा आइसोलेसन वार्ड स्थापना गरेर आईसीयू समेत बनाएर काम गरेका छौं, जुन नगरपालिकाभित्र पहिलो हो। त्यति गर्दा पनि विदेशबाट आउने ३९ जनामा कोरोना पोजिटिभ देखियो। तर, अहिले हाम्रो नगरपालिकामा कोही पनि संक्रमित छैनन्। शून्य संक्रमित भएको नगरपालिका हो। हाम्रो पहिलो दायित्व जनताको स्वास्थ्यलाई ध्यान दिने हो, दिएका छौं। जनताको लागि कम्युनिस्टहरु जे पनि गर्न तयार हुन्छन् भनेजस्तै जनताको भावनामा घात नपुगोस् भन्ने हिसाबले हामी काम गर्छौं। तपाईले भौतिकवादी भन्नुभयो, त्यो जनभावनाको कदर गरेका हौं।

प्रतिक्रिया