मोरङमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरूले आचारसंहिता पालना उल्लंघन गरिरहेको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले सम्बन्धित पक्षलाई कडा चेतावनी दिएका छन्।
उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि भए विजयी भइसकेपछि पनि पद खारेज हुने सक्ने जानकारी गराएका हुन्।
विवाद तथा तथा अप्ठेरो परेका बेला सहजीकरण गर्ने उद्देश्यले कोसी प्रदेशमा गठित संवाद समूहले आइतबार विराटनगरमा आयोजना गरेको आचारसंहिता, सुरक्षा निकाय र राजनीतिक दलहरूबिचको सम्बन्धबारे छलफलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले भने, ‘आचारसंहिता उल्लंघन गरेको पाइए निर्वाचित भएपछि समेत पद खारेज हुनसक्छ।’
अन्तरक्रियामा गैरसरकारी महासंघ, कोसी प्रदेशका उपाध्यक्ष प्रभा आचार्यले राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाइन्।
यस्तै लामो समयदेखि निर्वाचन पर्यवेक्षणमा संलग्न मानव अधिकार रक्षक परिषद्का प्रदेश उपाध्यक्ष मञ्जिता उपाध्यायले यो निर्वाचन विशेष परिस्थितिमा भइरहेकाले यसको गम्भीरता बुझ्न दल तथा उम्मेदवारलगायत सबै पक्षलाई आग्रह गरिन्।
यस क्रममा उनले दलहरूले डिजिटल माध्यमबाट आचारसंहिता उल्लंघन गरिरहेको भन्दै चिन्ता व्यक्त गरिन्।
यसैबिच उद्योग संगठन मोरङका महाप्रबन्धक चूडामणि भट्टराईले उम्मेदवारहरूले चन्दा माग्ने क्रम बढेकाले व्यवसायीहरू फोन स्विच अफ गरेर बस्नुपर्ने अवस्था आएको गुनासो गरे।
उनले भने, ‘निर्वाचन खर्च सरकारी संयन्त्रमार्फत नै पारदर्शी बनाउने हो भने चन्दा आतंक कम हुने थियो।’
व्यवसायी भविष श्रेष्ठले पनि चन्दा माग्ने क्रम नरोकिएको गुनासो गरे।
‘१० प्रतिशत व्यवसायीहरू चन्दाको त्रासले मोबाइल बन्द गरी भाग्नुपर्ने अवस्था आएको छ’, उनले भने।
यस्तै नयाँ पुस्ता (जेनजी) का प्रतिनिधिहरू आयुष बराल, प्रितम साह र महेश देवकोटाले डिजिटल आचारसंहिता पालना नभएको बताए। साथै उनीहरूले मौन अवधिमा हुने चलखेल रोक्न सरकारसँग माग गरे।
चुनावकै बेला होली पर्व पनि नजिएकाले सुरक्षामा चुनौती थप्न सक्ने देखिएकाले यसमा सचेत रहन उनीहरूले स्थानीय प्रहरी-प्रशासनलाई आग्रह गरे।
राप्रपाका मकरनन्द पराजुलीले आचारसंहिताका कारण प्रचारप्रसारको समय छोटो भएको र मौन अवधिमा हुन सक्ने आचारसंहिता उल्लंघन रोक्न प्रशासनले निगरानी गर्नुपर्ने सुझाव दिए।
नेकपा एमालेका केन्द्रीय सदस्य ऋषि पोख्रेलले भने संविधान र आचारसंहिता पालना गर्न आफ्नो दल प्रतिबद्ध रहेको दाबी गरे।
उता उज्यालो पार्टीका रेखबहादुर तामाङले ठुला दलले आचारसंहिता धेरै उल्लंघन गरिरहेको आरोप लगाए।
कांग्रेसका कोसी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता र जसपा नेता अनिल ठाकुरले निर्वाचन सफल बनाउन सहयोग गर्ने र खर्च पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे।
रास्वपा कोसी प्रदेश निर्वाचन परिचालन समितिका संयोजक एवम् प्रदेश कोषाध्यक्ष चन्द्र राईले आफ्नो पार्टीले आचारसंहिता पूर्ण पालना गरेको जिकिर गर्दै उल्लंघन गरेको पाइए ७२ मिनेटमै आफैँ कारबाही गर्ने बताए।
नेपाली कम्युनिस्ट पार्टीका शिव डाँगीले विधिको शासन र सुशासनका लागि कसैलाई गाली नगरी एजेन्डाका आधारमा मतदान गर्न आग्रह गरे।
कार्यक्रममा सहभागी उच्च अदालत बार एसोसिएसन (विराटनगर) का अध्यक्ष हरि बरालले विकासका लागि पाँच वर्ष स्थायी सरकार आवश्यक रहेको र घोषणापत्र हेरेर मात्र मतदान गर्न सुझाव दिए।
नागरिक समाजका अगुवा तथा निर्वाचन पर्यवेक्षण समिति नियोकका मोरङ अध्यक्ष दिनेश श्रेष्ठलगायतले छलफलमा प्रस्तुत समस्यालाई गम्भीर रूपमा लिएर समाधानमा ध्यान दिन सुरक्षा निकाय तथा निर्वाचन आयोगलाई आग्रह गरे।
मोरङ जिल्ला प्रहरी प्रमुख (एसपी) कवित कटुवाल, सहायक प्रमुख जिल्ला अधिकारी कोइराला, प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगाल, निर्वाचन अनुगमन अधिकृत एवम् कोलेनिका प्रमुख टोमनाथ उप्रेती, राष्ट्रिय अनुसन्धानका मोरङ प्रमुख राजन शर्मा सापकोटा लगायतले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूविरुद्ध कडा नीति अपनाइएको दाबी गरे।
Shares

प्रतिक्रिया