लुम्बिनी


बुटवलको होली: बजार शान्त, कमलपोखरी जंगलमा देउडा खेल्दै रमाए युवा (तस्बिर)

बुटवलको होली: बजार शान्त, कमलपोखरी जंगलमा देउडा खेल्दै रमाए युवा (तस्बिर)

प्रदीप आचार्य
फागुन १९, २०८२ मंगलबार १६:४३, बुटवल

रंगहरूको पर्व होली भन्नेबित्तिकै सहरका चोक–गल्ली, बजार र सार्वजनिक स्थलहरूमा उमंग र भीडभाडको चित्र आँखा अगाडि आउँछ। तर यस वर्ष बुटवलमा भने त्यो परम्परागत चहलपहल खासै देखिएन। मुख्य बजार क्षेत्र अपेक्षाकृत शान्त देखिन्थ्यो। विगतका वर्षहरूमा जस्तै ठूला समूहमा जम्मा भएर रङ छ्यापाछ्याप गर्ने दृश्य न्यून देखियो।

तर सहरको कोलाहलबाट केही पर, कमलपोखरी क्षेत्रमा भने फरक दृश्य देख्न पाइयो। आम्दा अस्पताल दीपनगरको गेटबाट भित्र छिर्ने जंगलबीच निर्माण गरिएको उक्त पर्यटकीय स्थलमा यसपटक युवाहरूको छुट्टै जमघट थियो। 

पोखरी वरिपरि राखिएका पिङ, हरियाली वातावरण र खुला स्थानले उनीहरूलाई होली मनाउने वैकल्पिक थलो दिएको देखिन्थ्यो।

देउडाको तालमा होली
कमलपोखरीमा पुगेका युवा–युवतीहरू मध्ये केही सामाजिक सञ्जालका लागि तस्बिर र टिकटक भिडियो बनाउन व्यस्त थिए भने केही समूहले परम्परागत देउडा संस्कृतिलाई होलीसँग जोडेर नयाँ ढंगले प्रस्तुत गरिरहेका थिए। 

सुदूरपश्चिमबाट अध्ययन तथा रोजगारीका सिलसिलामा बुटवल आएका युवाहरू र लुम्बिनी प्रदेशको गुल्मी जिल्लाबाट आएका युवतीहरूबीच देउडा दोहोरी जस्तै शैलीमा होलीका भाव व्यक्त गरिएका गीत गुञ्जिरहेका थिए।

माइक र ठूलो स्टेजबिना, केवल सानो स्पिकरको सहारामा सुरु भएको रमाइलो क्रमशः मौखिक दोहोरीमा रूपान्तरित भएको थियो। एक समूहले गीत उठाउँथ्यो, अर्को समूहले त्यसको जवाफ दिन्थ्यो।

होलीका रङ, माया, मित्रता र ठट्टामिश्रित शब्दहरूले वातावरण झन् जीवन्त बनाएको थियो। केहीबेर स्पिकरमा गीत बजाएर नाचगान गरिए पनि धेरै समय भने उनीहरू आफैंले शब्द र लय सिर्जना गर्दै देउडाको मौलिक स्वाद पस्किरहेका थिए।

बजार सुनसान, जंगल जीवित
बजार क्षेत्रमा सुरक्षा व्यवस्थाको कडाइ, र निर्वाचनको मौन अवधिले गर्दा यसपटक धेरैले घरमै सीमित भएर होली मनाएको देख्न सकिन्छ। 

तर कमलपोखरीमा भने युवाहरूले होलीलाई शान्त, सिर्जनात्मक र सांस्कृतिक ढंगले मनाउने प्रयास गरेको देखियो। 

भीडभाड र अव्यवस्थित रङ खेलाइभन्दा फरक, प्राकृतिक वातावरणमा बसेर गीत–संगीतमार्फत उत्सव मनाउने शैली धेरैलाई आकर्षक लागेको थियो। त्यहाँ पुग्ने अन्य घुम्न आएका व्यक्तिहरूले पनि युवाहरूको देउडा दोहोरी रुचिपूर्वक हेरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad