लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न पहल गरिररहेको बताएका छन्।
बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न निरन्तर पहल भइरहेको बताए।
‘यसलाई राष्ट्रिय सम्पदाका रूपमा सूचिकृत गर्ने र जीतगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग पहल भइरहेको छ’उनले भने ,‘आगामी दिनमा पनि प्रदेश सरकारका तर्फबाट निरन्तर प्रयास रहनेछ।’
उनले जीतगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए।
रुपन्देही जिल्लालाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने बताए।
मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा राखे।
‘कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो,’उनले भने।
मुख्यमन्त्री आचार्यले जीतगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबै नेपालीको दायित्व भएको बताए।
Shares

प्रतिक्रिया