ad ad

राजनीति


बिनाविभागीय मन्त्री डोबाटे : खुसीसँगै अन्याेल, पद छ काम छैन!

बिनाविभागीय मन्त्री डोबाटे : खुसीसँगै अन्याेल, पद छ काम छैन!

वाशुदेव मिश्र
कात्तिक ६, २०७८ शनिबार ६:५०, काठमाडौँ

गएको साउन ८ गते गण्डकीको मन्त्रिपरिषद् बिस्तार हुँदा गण्डकीका सांसद डोवाटे विश्वकर्मा मन्त्री बन्ने पक्कापक्की जस्तै थियो। 

कारण, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली स्वयंले गृहजिल्ला तनहुँ रहेका डोवाटेलाई ‘दौरा–सुरुवाल’सहित सपथको लागि बोलाएका थिए। तर, डोवाटे मन्त्री बनेनन्/बनाइएनन्। मन्त्रीको सपथ खान आउँदा–आउँदै डोवाटेको नाम मन्त्रीको सूचीबाट हटिसकेको थियो। डोवाटेलाई मन्त्री नबनाइएकोमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली आलोचित भए। 

तर, उनै डोवाटे गएको असोज ५ गते एकाएक मन्त्री बने। उनलाई गण्डकीको विना विभागीय मन्त्री बनाइयो। मन्त्रीको सपथ लिँदा दसैंले छोपिसकेको थियो। डोवाटे दसैं मनाउन तनहुँ गए। गृह जिल्लामा बधाई एवं शुभेच्छा खाएर पोखरा फर्केका उनै डोवाटे विना विभागीय मन्त्रीको रुपमा शुक्रबार पत्रकारमाझ झुल्किए।

सञ्चार माध्यमले आफ्नो पक्षमा सकारात्मक समाचार सम्प्रेषण गरेकोमा धन्यवाद दिए र भने,‘ सुरुमा मलाई मौका प्राप्त भएन, पार्टीभित्रको आन्तरिक कारण होला, सबै दौडँदै हुनुहुन्थ्यो, मैले सकिन।’

संयोग कस्तो भने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पोखरा आएकै बेला उनी मन्त्री बन्ने पक्कापक्की भएको थियो। डोवाटेले मन्त्री बन्नकै लागि आउँदो चुनावमा सभापतिका आकांक्षी रहेका शेरबहादुर देउवाको लाइन समातेकैले मन्त्री बनेको आकलन पनि भयो।

तर, डोवाटेले आफूलाई मन्त्री बनाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘लविङ’ गरेको र उनकै पहलमा सत्ता गठबन्धनकै सहमतिमा आफू मन्त्री बनेको जिकिर गरे। 

डोवाटे मन्त्री त भए तर उनीसँग मन्त्रालय छैन। विधानतः गण्डकीमा १२ मन्त्रालय बनाउन पाइन्छ। यतिबेला गृहमन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नै राखेका छन्। सोही मन्त्रालय डोवाटेलाई दिने वा अरु मन्त्रालय फुटाउने भन्ने निर्णय भइसकेको छैन।

तर, कांग्रेस स्रोतका अनुसार  मन्त्रालय हेरफेरको चर्चा चलिरहेको छ।

अहिले कानूनमन्त्री रहेका विन्दुकुमार थापाले अर्को मन्त्रालय चाहेका छन्। यस्तोमा मन्त्रिपरिषद् हेरफेर गर्दै डोवाटेलाई कम प्रभावशाली मन्त्रालय दिने सम्भावना पनि उत्तिकै रहेको छ। 

खासमा, डोवाटे मन्त्री त छन् तर काम छैन। उनकै शब्दमा यतिबेला उनीसँग मुख्यमन्त्रीलाई सघाउनु बाहेक काम छैन। 

‘म यहाँ (मुख्यमन्त्री कार्यालय) आएको २ दिन भयो, मेरो काम अब मुख्यमन्त्रीलाई सघाउने नै हो’,उनले भने, ‘जिम्मेवारी के हो? प्राप्त भएको छैन, जिम्मेवारी दिनुहोला (मुख्यमन्त्रीले)।’ 

आफूलाई मन्त्री बनाएर न्याय गरिएको तथा समानुपातिक र समावेशीको सिद्धान्तलाई प्रदेश सरकारले आत्मसात गरेको बताइरहँदा पनि उनी आफूलाई कुन मन्त्रालय दिइन्छ भन्नेमा ढुक्क देखिएनन्। उनले एकपटक मन्त्री नबनाइएपछि आफूले मन्त्री हुन्छु भन्ने कल्पनै नगरेको पनि बताए।

साउन ८ गते मन्त्री नबनाइएपछि विधान समितिको सभापतिको प्रस्ताव आउँदा आफूले अस्वीकार गरेको बताउँदै उनले भने, ‘पार्टीको वफादार सिपाहीको नाताले जुन पद पायो, त्यहीँ हाम्फाल्नुपर्छ भन्ने मैले सोचिन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .