ad ad

राजनीति


काठमाडौँस्थित राजदूत क्वात्रा विदेश सचिव हुँदा नेपाल–भारत सम्बन्धमा के फरक पर्छ?

काठमाडौँस्थित राजदूत क्वात्रा विदेश सचिव हुँदा नेपाल–भारत सम्बन्धमा के फरक पर्छ?

विनयमोहन क्वात्रा


सन्तोष घिमिरे
चैत २२, २०७८ मंगलबार ७:५४, काठमाडौँ

नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा सोमबार विदेश सचिव नियुक्त भए। राजदूतका रुपमा नेपालमा कार्यरत अवस्थामै विदेश सचिवमा पदोन्नति हुने क्वात्रा दोश्रो भारतीय कूटनीतिज्ञ हुन्। 

यसअघि तत्कालीन भारतीय राजदूत श्याम शरण विदेश सचिव भएका थिए। शरण काठमाडौँमा राजदूत हुँदाकै बखत सन् २००४ अगस्ट ४ मा विदेश सचिवमा बढुवा भएका थिए। 

नेपालमा राजदूत भएको केहीपछि भारतमा विदेश सचिव नियुक्त भएका थिए महाराजकृष्ण रसगोत्रा। रसगोत्रा सन् १९७३ देखि १९७६ सम्म काठमाडौँस्थित भारतीय राजदूत थिए। रसगोत्रा नेपालपछि फ्रान्समा राजदूत भएका थिए। त्यसको केही वर्षपछि उनी विदेश सचिव नियुक्त भएका थिए। 

अहिले विदेश सचिवमा नियुक्त राजदूत क्वात्रा सन् २०२० जनवरी ३० यता नेपालमा राजदूत थिए। त्यसो त राजदूत हुनुभन्दा पहिले पनि उनले नेपालमा भारतीय कूटनीतिज्ञका रुपमा काम गरिसकेका थिए। उनी सन् २००६ देखि २०१० सम्म काठमाडौँस्थित सार्क सचिवालयमा भारतका तर्फबाट निर्देशक थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्केको भोलिपल्टै राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त भएको घोषणा गरिएको छ। तर, यो केवल संयोग मात्रै रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन्।

‘राजदूत क्वात्रा भारतको विदेश सचिवमा नियुक्त हुने चर्चा केही महिनायता नै चलेको थियो,’ मन्त्रालयका एक अधिकारीले भने। 

क्वात्राले हालका भारतीय विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्नेछन्। श्रृंगलाले अप्रिल ३० देखि विदेश सेवाबाट अवकाश पाउँदैछन्।  

भारतीय मन्त्रिपरिषद् अन्तर्गतको नियुक्ति समितिले क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरेको हो। उनी नेपाल आउनुअघि फ्रान्सका लागि भारतीय राजदूत थिए। क्वात्रा सन् १९८८ मा विदेश सेवामा प्रवेश गरेका थिए। 

परराष्ट्र मामिलाका जानकारहरु नेपालमा राजदूत भएका भारतीय कूटनीतिज्ञ त्यहाँको विदेश सचिव हुनु नेपालका लागि पनि चासोको विषय रहेको बताउँछन्। तर, उनीहरुको अनुभव र बुझाइले नेपाल मामिलाबारे दिल्लीस्थित संस्थापनमा सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पार्छ भन्ने कुरा कूटनीतिज्ञ हेरी फरक हुने उनीहरु बताउँछन्। 

भारतका लागि पूर्व नेपाली राजदूत डा. भेषबहादुर थापाले क्वात्राको नियुक्तिबारे भने, ‘भारतले नेपालमा राजदूत रहेकालाई विदेश सचिव नियुक्त गरेछ। यसलाई उनको यहाँको कामकारबाहीको उच्च मूल्यांकनका रुपमा बुझ्नुपर्छ।’ 

नेपालमा राजदूतका रुपमा काम गरेका कूटनीतिज्ञ भारतको विदेश सचिव हुँदा नेपालका लागि केही अर्थ राख्छ भन्ने प्रश्नमा थापाले भने, ‘राजदूत भएर फर्केका भारतीय कूटनीतिज्ञले नेपालप्रति जे जस्तो अनुभव समेट्छन् नेपाल भारत सम्बन्धमा त्यो महत्वपूर्ण हुन्छ। तर उनीहरुको बुझाइले भारतको संस्थापनमा ठाउँ पाउला वा नपाउला बेग्लै कुरा भयो।’ 

डा. थापाले क्वात्रा नेपालमा थोरै समय बसे पनि उनको कामको भारत सरकारले गहिरो मूल्यांकन गरेको आफूले बुझेको बताए। 

‘विगतमा यहाँ राजदूत भएका महाराजकृष्ण रसगोत्रा र श्याम शरण पनि विदेश सचिव भए। उनीहरुको नेपालप्रति आफ्नै बुझाइ थियो। बिहारी भएका हुनाले श्याम शरणले छिमेकबारे बढी चासो दिएको देखिन्थ्यो,’ उनले थपे। 

पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले क्वात्रा विदेश सचिव नियुक्त हुुनु नेपालका लागि पनि सकारात्मक रहेको बताए।

‘क्वात्रा नेपाललाई नजिकबाट बुझेका व्यक्ति हुन्। उनी पहिले सार्कमा निर्देशक र अहिले राजदूत भए। अब विदेश सचिवका रुपमा जाँदैछन्,’ भट्टराईले भने, ‘नेपालले उनीमार्फत् आफ्ना कुरा आगामी दिनमा भारतसँग अझ प्रभावकारी रुपमा राख्न सक्छ। उनको सम्पर्क प्रयोग गरेर आफ्ना कुरामा लाभ लिन सक्ने वा नसक्ने नेपालमै भर पर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .