ad ad

राजनीति


सीमापारिबाट हुने चुनाव प्रचार रोक्न भारत र चीनलाई पत्र लेख्दै सरकार

सीमापारिबाट हुने चुनाव प्रचार रोक्न भारत र चीनलाई पत्र लेख्दै सरकार

फाइल तस्बिर


सन्तोष घिमिरे
बैशाख १६, २०७९ शुक्रबार १७:७, काठमाडौँ

स्थानीय निर्वाचनको मौन अवधिमा भारत र चीनसँग सीमा जोडिएका क्षेत्रबाट हुन सक्ने प्रचार रोकिदिन अनुरोध गर्दै सरकारले दुवै छिमेकीलाई पत्राचार गर्ने भएको छ। 

परराष्ट्र मन्त्रालयले सीमावर्ति क्षेत्रबाट हुन सक्ने प्रचार–प्रसार रोकिदिन काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासमार्फत दुवै छिमेकीलाई सो आग्रह गर्न लागेको हो।

हालै निर्वाचन आयोगले त्यससम्बन्धमा दुवै छिमेकीलाई पत्र लेख्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियो। 

परराष्ट्रका एक अधिकारीले निर्वाचन आयोगको पत्र प्राप्त भएको बताए। उनले चीन र भारतलाई कूटनीतिक च्यानलबाट चाँडै पत्र पठाउन लागिएको जानकारी दिए।  

‘हामीले एक दुई दिन अघि परराष्ट्रलाई लेखेका हौं’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपालखबरसंँग भने।

उनका अनुशार सीमावर्ति क्षेत्रमा प्रचारप्रसार लगायतका गतिविधि नगर्न-नगराउन आवश्यक व्यबस्था मिलाउन पहल गर्न परराष्ट्रलाई भनिएको थियो। 

‘सीमा क्षेत्रबाट स्थानीय निर्वाचनलाई प्रभावित गर्ने गरी उम्मेदवारका पक्ष वा विपक्षमा माहोल बनाउने गतिविधि रोक्नका लागि भारत र चीनलाई आग्रह गर्न चाहेका हौँ’ प्रवक्ता पौडेलले भने।  

नेपाल र भारतबीच १८५० किलोमिटर लामो खुला सीमा छ। भारतका सिक्किम, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड गरी पाँच राज्यसँग नेपाल जोडिएको छ। उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालको १ हजार ४१४ किलोमिटर नियन्त्रित सीमा छ। 

भारतीय सीमावर्ती क्षेत्रबाट स्थानीय रेडियो वा अन्य माध्यमबाट नेपालका कतिपय उम्मेदवारले मौन अवधिमा प्रचार गरेकोे पाइएको थियो। यद्यपी चीनको तिब्बततर्फबाट निर्वाचनका समयमा प्रचार प्रसारजन्य गतिविधि कमै हुने गरेको पाइएको थियो। 

त्यसो त निर्वाचनको मौन अवधिमा सीमा बन्द गर्ने स्थापित अभ्यास नै हो। नेपाल र भारतका सीमा जोडिएका जिल्लाका स्थानीय प्रशासनिक तथा सुरक्षा अधिकारीको आपसी परामर्शमा निर्वाचन अवधिभर सीमा नाका बन्द गर्ने गरिन्छ। 

तीन दिनअघि भारतसँग सीमा जोडिएको रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रशासनिक तथा सुरक्षा अधिकारी र उत्तर प्रदेशका महाराजगन्ज र सिद्धार्थनगर जिल्लाका अधिकारीबीच बसेको बैठकले ३० बैशाखको निर्वाचनअघि ७२ घण्टा नाका बन्द गर्ने सहमति गरेको थियो। 

गत साता नेपालको सिरहा र भारतको मधुवनी जिल्लाका सुरक्षा अधिकारीको एक बैठकले ३० वैशाखमा नेपालमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय लिएको थियो। 

खुल्ला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .