ad ad

राजनीति


कमल थापाकै पाइला पछ्याउँदै राजेन्द्र लिङ्देन

कमल थापाकै पाइला पछ्याउँदै राजेन्द्र लिङ्देन

सीताराम बराल
माघ ६, २०७९ शुक्रबार ९:१८, काठमाडौँ

आम निर्वाचन–२०७९ मा समानुपातिकतर्फ १५ हजार मत कटाउन नसके पनि राप्रपा नेपालका अध्यक्ष कमल थापा पूर्ववत् पार्टी कार्यक्रममा सक्रिय देखिन्छन्। माघे संक्रान्तिका दिन देवघाट स्नान गर्न पुगेका अध्यक्ष थापा २ माघमा गृहजिल्ला मकवानपुर पुगे। हेटौँडामा जिल्लास्तरीय कार्यकर्ता भेला गरेर ३ गते काठमाडौँ फर्के। 

सामाजिक सञ्जालमार्फत् आफ्ना गतिविधि सार्वजनिक गरिरहने थापाको फेसबुक र ट्विटर ह्यान्डल हेर्दा उनको राजनीतिक सक्रियता कत्तिपनि घटेको देखिन्न। बरु, ‘राजनीतिमा लागेपछि कहिले ताली कहिले गाली पाइने’ भन्दै राजनीतिक सक्रियता बढाइरहेका भेटिन्छन्।  

पार्टी कार्यक्रम र सामाजिक सञ्जालमा निकै सक्रिय देखिए पनि राष्ट्रिय राजनीतिमा भने थापा गुमनाम छन्। गत निर्वाचनमा मकवानपुर–१ मा पराजय बेहोरेपछि राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्नसक्ने स्थितिमा थापा छैनन्। तर, १० वर्षपछाडि फर्केर हेरियो भने कमल थापाको स्थिति यसको ठिक विपरीत थियो।

संविधान निर्माणमा पहिलो संविधान सभाको असफलता र सत्ताका लागि राजनीतिक दलहरुबीच बढ्दो खिचातानीका कारण १० वर्षअघि राष्ट्रिय राजनीतिमा थापाको आकर्षण बढ्दो थियो। उनीप्रति आकर्षण कति थियो भन्ने कुरा दोस्रो संविधान सभा निर्वाचन–२०७० को परिणाम हेर्दा प्रष्ट हुन्छ।  

त्यो निर्वाचनमा थापा नेतृत्वको राप्रपा नेपाल समानुपातिकतर्फ काठमाडौँमा सबैभन्दा ठूलो दल बनेको थियो। ६ सय १ सदस्यीय संविधान सभामा राप्रपा नेपालका २४ सदस्य निर्वाचित भएका थिए। थप एक मनोनित सदस्य पनि उसले पाएको थियो। 

संविधान निर्माणमा पहिलो संविधान सभाको असफलता र अघिल्लो व्यवस्थाभन्दा गणतान्त्रिक शासन व्यवस्थाले आफूलाई फरक देखाउन नसक्दा राष्ट्रिय राजनीतिमा थापा पुन एकपटक चम्किन पुगेका थिए। अध्यक्ष थापा र राप्रपा नेपालको त्यसताकाको तरक्की देख्नेले अहिलेको उनको हविगतको कल्पना सायदै गरेका थिए। 

थापाको राजनीतिक हैसियत अहिले ‘चपरीमुनिको बास’ हुन पुग्दा उनैले राजनीतिमा हुर्काए–बढाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने यतिबेला ‘हस्तिनापुरको राज’ प्राप्त भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उर्जा, जलस्रोत र सिंचाइजस्तो ‘मालदार’ मन्त्रालयका साथ लिङ्देन उपप्रधानमन्त्री बनेका छन्। 

त्यसबाहेक अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्षद्वय विक्रम पाण्डेलाई सहरी विकास र ध्रुवबहादुर प्रधानलाई कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनाउन सफल भएका छन्। आफ्नै ‘राजनीतिक गुरु’ थापालाई मकवानपुर–१ बाट पराजित गर्ने दीपकबहादुर सिंहले लिङ्देन मातहतको उर्जा मन्त्रालयमा राज्यमन्त्री बन्ने अवसर पाएका छन्।  

दोस्रो संविधान सभाबाट संविधान जारी भएपछि अध्यक्ष थापाले जे–जस्ता गल्ती गरे, आम निर्वाचन–२०७९ पछि अध्यक्ष लिङ्देनले पनि ठिक त्यस्तै गल्ती दोहोर्याउन थालेका छन्। थापाको जस्तै लिङ्देनको पनि ‘कथनी’ र ‘करनी’ भिन्न देखिन थालेको छ। निष्ठा र आदर्शका नारा केवल सत्ता प्राप्तिका लागि हुने गर्छन् भन्ने मान्यता स्थापित गर्न लिङ्देन पनि अग्रसर देखिन्छन्। 

कमल थापाको ‘ओलीपथ’
पहिलो संविधान सभा निर्वाचन–२०६४ मा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दहरुको ‘गणतन्त्रवादी’ राप्रपाले समानुपातिकतर्फ ८ सिट प्राप्त गरेको थियो। कमल थापा नेतृत्वको राप्रपा नेपाल जम्मा ४ सिटमा सीमित थियो। राजनीतिक माहौल यस्तो थियो– राजतन्त्रको एजेन्डा बोकेका थापा पार्टीको पक्षमा मत माग्न कहीँ जानसक्ने स्थिति थिएन। 

तर, २०७० को निर्वाचनमा थापा ‘पासा’ पल्टाउन सफल भए। समानुपातिक मततर्फ राप्रपा नेपाल काठमाडौँको सबैभन्दा ठूलो दल बन्यो। प्रत्यक्षतर्फ एक सिट नजिते पनि पनि राप्रपा नेपालले समानुपातिकतर्फ २४ सिट जित्ने स्थिति सिर्जना गरेर सबैलाई चकित पार्यो।

संविधान सभा (२०६४) बाट संविधान निर्माणमा माओवादीको असफलता र पहिलो संविधान सभाकालमा भएको सत्ता–खेलका कारण मूलधारका राजनीतिक दलहरु अलोकप्रिय हुँदै गए। राजनीतिक दलहरुको यस्तो कृत्य आफ्नै घर आँगनमा देखेका थिए, काठमाडौँबासीले। उनीहरुको कृत्यले राजतन्त्रकालमा हुने दलहरुको कृत्यलाई बिर्साइदियो। 

गणतन्त्र स्थापनापछि कमल थापाको जस्तो छवि निर्माण हुँदै गयो, त्यसले पनि राप्रपा नेपालको सफलतामा महत्वपूर्ण भूमिका खेल्यो। २०५२–०५३ ताका मन्त्री पदका लागि निष्ठा बेच्न पनि तयार हुने पात्रका रुपमा उनको छवि निर्माण भएको थियो। तर, लोकतन्त्रपछिको ७ वर्षे अवधि (२०६३–२०७२) मा उनी राजतन्त्रको पक्षमा यति दृढ बनेर उभिए कि कठिन स्थितिमा समेत निष्ठावान् रहन सक्ने राजनीतिक पात्रका रुपमा उनको छवि निर्माण भयो।  

लोकतन्त्र पुनर्स्थापनापछि उनीमाथि भ्रष्टाचारको मुद्दा लगाउन समेत खोजियो। आफूलाई निर्दाेष साबित गर्न थापाले ‘आमाको रगत’ को कसम खानु परेन। उनीमाथिको भ्रष्टाचार मुद्दा खासमा राजनीतिक प्रतिशोधको उपज थियो, यो कुरा भ्रष्टाचारको प्रमाण नभेटिएपछि आफैँ सिद्ध हुन पुग्यो। 

एकातिर गणतन्त्र स्थापनामा भूमिका खेलेका राजनीतिक दलहरुको घिनलाग्दो कृत्य, यही कारण दलहरुप्रति वितृष्णा बढिरहेका बेला थापाले दिएको हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको नारा! यी दुई एजेन्डाप्रति अध्यक्ष थापाले प्रदर्शन गरेको दृढ अडान र निष्ठाकै कारण २०७० को निर्वाचनमा सम्पूर्ण राजावादी शक्तिहरु एकजुट भए, राप्रपा नेपालको पक्षमा मतदान गरे। संविधान सभा निर्वाचन–२०७४ मा राप्रपा नेपालले सफलता हासिल गर्नुको कारण यही थियो। 

खासमा ‘धर्मनिरपेक्ष’ र ‘गणतन्त्र’ सहितको संविधान २०७२ मा जारी हुनबाट रोक्नसक्ने संख्या (सिट) राप्रपा नेपालसँग थिएन। राजावादीहरु भने राप्रपा नेपालको यो सीमा बुझ्ने स्थितिमा थिएनन्। उनीहरुले सत्ताको मोलमोलाइमा थापाले राजतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाको मुद्दा बिक्री गरेको आरोप लगाए। अब थापा राजतन्त्रवादी पंक्तिभित्रै घृणाको पात्र बन्न थाले। उनीमाथि सत्ताका लागि राजनीतिक एजेन्डा र निष्ठा बेचेको आरोप लाग्न थाल्यो। 

यो आरोपलाई आफ्ना व्यवहारबाट गलत साबित गर्ने अवसर उनीसँग थियो। तर, थापा त्यसमा चुके। एमाले अध्यक्ष केपी शर्मा ओलीको मीठो बोलीमा उनी यसरी चिप्लिए कि गणतान्त्रिक संविधान जारी भएलगत्तैको सरकारमा उनी उपप्रधानमन्त्री बन्न पुगे। ओलीपछि पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवाका मन्त्रिमण्डलमा पनि उनी आकर्षक र मालदार मन्त्रालयसहित उपप्रधानमन्त्री बनिरहे। 

सत्ताका लागि एजेन्डा र निष्ठा बेचेको राजावादीहरुको आरोपलाई थापाको आफ्नै सत्ताका लागि मरिहत्ते गर्ने प्रवृत्तिले सही सिद्ध गरिदियो। लोकतन्त्रको सात वर्ष (२०६३–२०७२) को अवधिमा निर्मित ‘निष्ठाका लागि दृढ रहने’ उनको छवि पनि धुलिसात् भयो।  

२०७० को निर्वाचनमा पार्टीलाई २४ सिट जिताएका थापा २०७४ मा पराजित हुनुको कारण यही थियो। कांग्रेसको समर्थनका बाबजुद २०७४ को निर्वाचनमा थापा मकवानपुर–१ बाट पराजित भए। वाम गठबन्धनको सहयोगमा झापा–३ बाट राजेन्द्र लिङ्देनबाहेक राप्रपा नेपालले कुनै सिट जित्न सकेन। तीन प्रतिशत मत प्राप्त गर्न नसक्दा राप्रपा नेपालले राष्ट्रिय दलको हैसियत पनि प्राप्त गरेन।

सत्ताको लोभ थापाका लागि यस्तो महागल्ती साबित भयो, निर्मल निवास नै उनी विरुद्ध लाग्यो। त्यही कारण अघिल्लो मंसिर (२०७८) मा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा थापा महामन्त्री लिङ्देनसँग पराजित भए। गत निर्वाचनमा एमालेको समर्थनका बाबजुद उनी आफ्ना ‘प्रिय भाइ’ एवं राप्रपा उम्मेदवार दीपकबहादुर सिंहबाट मकवानपुर–१ मा पराजित हुन पुगे। 

उता, राप्रपाबाट थापाको बहिर्गमनका बाबजुद लिङ्देन नेतृत्वको राप्रपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ सिटमा विजय हासिल गर्यो। गणतन्त्र स्थापनापछि राप्रपाले प्रत्यक्षतर्फ प्राप्त गरेको यो पहिलो र ठूलो सफलता हो। त्यसबाहेक ‘राष्ट्रिय दल’ को मान्यताका साथ उसले समानुपातिकतर्फ पनि ७ सिट गरी कूल १४ सिट प्राप्त गरेको छ।

लिङ्देनको ‘कमल थापा पथ’
आगामी आम निर्वाचनमा राप्रपाको हैसियत कस्तो होला, त्यसको छिनोफानो पाँच वर्षपछि हुने निर्वाचनले मात्र गर्नेछ। तर, २०७० पछि कमल थापा नेतृत्वको राप्रपा नेपाल र लिङ्देन नेतृत्वको राप्रपाले यसपटक सफलता हासिल गर्नुमा केही समान कारणहरु छन्। तिनै ‘सफलता’ को आडमा निर्वाचनलगत्तै लिङ्देनले पनि थापाजस्तै गल्ती दोहोर्याउन थालिसकेका छन्। 

२०७० को निर्वाचनमा थापाले मूलधारका राजनीतिक दलहरुलाई तारो बनाएका थिए। गणतन्त्रवादी दलहरुको शासनकालमा भ्रष्टाचार मौलाएको आरोप लगाएका थिए। थापासँग अन्य दल तथा नेतामाथि भ्रष्टाचारको आरोप लगाउने नैतिक हैसियत थापासँग थियो। किनभने, उनको राजनीतिक छवि विवादास्पद भएपनि उनी कुनै भ्रष्टाचार काण्डमा मुछिएका थिएनन्। 

थापाले जस्तै लिङ्देनले पनि लगातार भ्रष्टाचारप्रति कटाक्ष गर्दै आएका छन्। सार्वजनिक मञ्चबाटै लिङ्देनले ‘नेताहरुलाई जनताले चोर भनेर सम्बोधन गर्छन्’ भन्ने गरेका छन्, लिङ्देनको यो कटाक्ष लोकतन्त्र–गणतन्त्रकालमा मौलाएको भ्रष्टाचार, बेथितिप्रति लक्षित छ। झापा–३ बाट निर्वाचित भएपछि उनले दुवै पटक (२०७४ र २०७९) ‘भ्रष्टाचार गरी सम्पत्ति कमाउनुलाई आमाको रगत खाए सरह’ हुने बेहोराको शपथमार्फत् भ्रष्टाचारको विरोधमा आफूलाई प्रतिबद्ध देखाउन सके। 

अध्यक्ष लिङ्देनले यो निर्वाचनमा राप्रपालाई जुन सफलता दिलाउन सके, यो सफलतामा २०७० अघि कमल थापाले जस्तै एजेन्डाप्रति निष्ठावान् रहने र युवा पुस्तालाई राजनीतिमा अवसर दिएर अघि बढाउने प्रतिबद्धताको भूमिका थियो। राजतन्त्रप्रतिको उनको ‘निष्ठा’ कै कारण निर्मल निवासले पनि राप्रपा अध्यक्षका रुपमा अघि बढाउन खोजेको हो। राजतन्त्रप्रतिको त्यही निष्ठाकै कारण (२०७० मा राप्रपा नेपाललाई जस्तै) राजतन्त्रवादीहरुले विभाजित नभई लिङ्देन नेतृत्वको राप्रपाको पक्षमा मतदान गरेका हुन्।  

त्यसबाहेक यसपटकको सफलतामा लिङ्देनको ‘भ्रष्टाचार गरी सम्पत्ति कमाउनु आमाको रगत खाए सरह हो’ भन्ने शपथको पनि उत्तिकै भूमिका रह्यो। लिङ्देनको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धताकै कारण राजतन्त्रप्रति निरपेक्ष मतदाताहरु समेत राप्रपाप्रति आकर्षित भए।   

‘राजतन्त्र’ र ‘हिन्दु राष्ट्र पुनर्स्थापना’ प्रति लिङ्देनको ‘निष्ठा’ र भ्रष्टाचारको विरोध सत्तामा पुग्नका लागि मात्र रहेछ भन्ने कुरा यसपटक सरकार निर्माणका क्रममा प्रष्ट हुन पुग्यो। थापा उदाङ्गिन बरु दुई वर्ष लागेको थियो, लिङ्देन उदाङ्गो देखिन दुई महिना पनि कुर्नु परेन।  

तत्कालीन व्यवस्थापिका–संसदमा राप्रपा नेपालको २५ सिटका आधारमा थापा जसरी सत्ताको मोलमोलाइमा लागे र पालैपालो ओली, प्रचण्ड र देउवा नेतृत्वको सरकारमा आकर्षक र ‘मालदार’ मन्त्रालयका साथ उपप्रधानमन्त्री बने, लिङ्देनले पनि त्यही मार्ग पछ्याएका छन्। 

भ्रष्टाचारलाई ‘आमाको रगत खाएसरहको पाप’ का रुपमा परिभाषित गर्ने लिङ्देनको आफ्नै छनोटमा उर्जाजस्तो ‘मालदार’ मन्त्रालय परेको छ। त्यसमाथि गुणस्तरहीन र कमसल ‘सिक्टा सिंचाइ परियोजना’ निर्माण गरेका कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई अर्काे ‘मालदार’ सहरी विकास मन्त्रालय सुम्पेका छन्। गुणस्तरहीन ढंगले निर्माण गरेकोमा पाण्डेमाथि अख्तियारले मुद्दासमेत दायर गरेको थियो। 

विशेष अदालतबाट ठेकेदार पाण्डेले सफाइ पाए पनि त्यहाँ निर्माणमा कति अनियमिता थियो भन्ने कुरा त्यो आयोजनाले भोगिरहेको बिजोग हेर्दा थाहा हुन्छ। विवादास्पद निर्माण कम्पनीका मालिक पाण्डेलाई सहरी विकास मन्त्रालयको चाबी सुम्पेपछि कार्टुनिस्ट रवि मिश्रले लिङ्देनलाई व्यङ्ग्य गर्दै ‘आमाको रगतभन्दा माथि सहरी विकास’ शीर्षकको कार्टुन (नयाँ पत्रिका, ५ माघ २०७९) नै बनाएका छन्।

भर्खरै मन्त्री भएकाले लिङ्देनलाई अझै शंकाको सुविधा दिने ठाउँ छ– उनले आफ्नै नेतृत्वको उर्जा र आफ्ना सहकर्मीले नेतृत्व गरेका अरु मन्त्रालयमा राम्रो गरेर देखाउन सक्नेछन्। तर सरकार गठनका क्रममा उनले जुन जुन मन्त्रालय रोजे र त्यसको नेतृत्वमा जजसलाई मन्त्री बनाए त्यसले राम्रो संकेत गर्दैन। 

लिङ्देनका लागि पनि राजनीतिक एजेन्डाप्रतिको निष्ठाभन्दा अब सत्ता महत्वपूर्ण बनिसकेको छ। लिङ्देनले पनि आफ्नै पथ समातेपछि थापा पनि खुसी देखिन्छन्। त्यसैले, लिङ्देनलाई बधाई दिँदै थापाले बिहीबार (५ माघ) अपराह्न ट्विट गरेका छन्, ‘केही असहमति, मतभिन्नता र केही चित्त दुखाइका बाबजुद मैले धेरै आडभरोसा गरेका राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा खुसी लागेको छ। सहकर्मी मित्रहरु विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान र प्रिय भाइ दीपक सिंह मन्त्री हुनुभएकोमा बधाई र शुभकामना!’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .