नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरेका छन्।
इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची ९(सएससी) मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ।
मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गरे । उनले सङ्घीयताको मर्म र भावना अनुरुप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गरे।
नवनियुक्त पर्यटनमन्त्री तामाङले मन्त्रालयमा पदबहाली लगत्तै हवाई नीति, २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गरे।
अध्ययन समितिको प्रतिवेदनअनुरुप पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने मस्यौदा बनाउने र त्यसलाई सरकारले आवश्यक निर्णय गर्नेगरी मन्त्री तामाङले पहिलो निर्णय गर्नुभएको पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले बताए । पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठिन उक्त समितिले सङ्घीयताको भावना अनुरुप समय सापेक्ष हवाई नीतिको मस्यौदा तयार गर्नेछ।
विसं २०२० मा नुवाकोटको पञ्चकन्यामा आमा श्रीमाया तामाङ र बुबा माइते तामाङको कोखबाट जन्मिएका तामाङ २०६६ सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए । उनी २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य सुदन किराँती मुलुकको ४०औँ पर्यटनमन्त्री बनेका थिए।
मध्यम निम्न वर्गीय किसान परिवारमा जन्मिएका मन्ज्त्री तामाङले नुवाकोटकै अमर ज्योति उच्च मावि खरानीटारमा औपचारिक शिक्षा लिएका हुन्। उनी केही वर्ष अध्यापनमा सक्रिय भएका थिए।
चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय तामाङ २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहे । विसं २०३९ मा अनेरास्ववियु छैटौँको नुवाकोट सचिव भए । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका (संसद् सदस्य) भएका थिए । विसं २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तामाङ विसं २०५८ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेका थिए। रासस
Shares

प्रतिक्रिया