७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने नेकपा एमालेको सचिवालय बैठकको निर्णय पुनर्विचार गर्न स्थायी कमिटी सदस्य कर्ण थापाले माग गरेका छन्। उनले विधानलाई छलछाम गरिएको पनि टिप्पणी गरे।
त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीसँग उनको छेडछाड भएको नेताहरू बताउँछन्।
शुक्रबार दिउँसो ३ बजे सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमाथि धारणा राख्ने क्रममा थापासँग ओलीको सवालजवाफ भएको हो।
‘अध्यक्षज्यू, तपाईँहरूले गलत कुरा सम्प्रेषण गरिाख्नुभएको छ भन्दै कर्णजीले तीनवटै विधान देखाउनुभयो,’ एक नेताले नेपालखबरसँग भने, ‘विधानमा व्यवस्था एउटा अनि विधान अर्के छाप्ने गर्न मिल्दैन। मैले गलत गरेको भए मलाई अहिले नै सदस्यताबाट निकालिदिए हुन्छ।’
त्यसपछि ओलीले विधानमा गलत के छ, कहाँ छ? भन्दै प्रश्न गरे।
फेरि थापाले सोधे– विधानको कभर एउटा गुदी अर्काे गर्न मिल्छ?
यो प्रतिप्रश्नले ओली थप चिढिए।
‘विधानभित्रका कन्टेन्ट यताउता पारेको छैन। तपाईँले बाहिर नभन्नुपर्ने कुरा किन भन्नुभयो?’
‘बाहिर त भन्नुपर्ने कारण आयो। किनकि, तपाईँहरूले विधानमै यताउता गरेर होइन होइन भन्न थाल्नुभयो। अनि यथार्थ कुरा पनि गर्न नपाइने?,’ थापाले जवाफ दिए।
ओलीसँग केहीबेर प्रश्नोत्तर चलेको ती नेता बताउँछन्।
थापा पूर्वराष्ट्रपति विद्या भण्डारीका पक्षमा खुलेर लागेका नेता हुन्।
थापाबाहेक शुक्रबारको बैठकमा ६ जना नेताले धारणा राखेको जनसम्पर्क समन्वय इन्चार्ज समेत रहेका नेता भानुभक्त ढकालले जानकारी दिए।
एमालेको पोलिटब्युरो ९९ सदस्यीय छ।
‘एक पोलिटब्युरो सदस्यलाई बोल्न पाँच मिनेट समय दिइएको छ। शुक्रबार भीम आचार्य, किरण गुरुङ, लालबाबु पण्डित, डा राजन भट्टराई, खगराज अधिकारी, शेरधर राई र कर्ण थापा लगायतले बोल्नुभयो,’ ढकालले भने, ‘अध्यक्षले प्रतिवेदनका हाइलाइट्स बताउनुभयो। उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन माथिको प्रस्तावहरू प्रस्तुत गर्नुभयो, महासचिवले संगठनात्मक गतिविधिको रिपोर्ट प्रस्तुत गर्नुभयो, ती प्रतिवेदनमाथि शनिबार पनि छलफल हुन्छ। मूलतः विधानको विषयमाथि छलफल प्रारम्भ भयो। हामी केन्द्रीय समितिसम्म यसैगरी वादेवादे तत्त्वबोध गर्दै पुग्छौँ।’
अर्का पोलिटब्युरो सदस्य विशाल भट्टराईले पनि उमेर हद र दुईकार्यकालका विषयमा कुरा नउठेको बताए।
स्थायी कमिटी सदस्य खगराज अधिकारीले विधान कार्यान्वयनको सम्बन्धमा विगतमा कमीकमजोरी भएको भन्दै अब पूर्ण रुपमा कार्यान्वयन गर्ने गरी जानु पर्ने बताए।
‘विधानलाई समृद्ध बनाउने हिसाबले व्यापक छलफल गरौँ, संगठन प्रमुख हो, त्यो नभई निर्वाचन जित्न सकिदैँन। त्यसकारण संगठनलाई नै बढी ध्यान दिएर लागौँ भन्ने कुरा राख्नुभयो,’ अर्का नेताले भने।
यस्तै, स्थायी कमिटी सदस्य किरण गुरुङले दुई खाले सदस्यता प्रस्ताव आवश्यक नरहेको बताए। ‘एउटै बनाउनुपर्छ। किन दुईवटा? त्यो राम्रो हुन्न,’ उनले भने।
अधिकारी बोल्दाबोल्दै महासचिवले रोके
संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बोल्दै गर्दा महासचिव शंकर पोखरेलले हस्तक्षेप गरे।
‘संगठनको संरचनाअनुसार हाम्रो विभागले जस्तो गर्नुपर्थ्यो, त्यो गर्न अलि सक्या छैन, गर्न नसकेकोमा हामी आत्मलोचना गर्छाैँ,’ अधिकारीले बोल्दै थिए। महासचिव पोखरेलले ‘अहिले यो विषयमा कुरा गर्ने होइन’ भने।
‘उमेर हद र दुई कार्यकालको बारेमा भने शुक्रबार कसैले पनि बोल्नुभएन। अब शनिबारदेखि उठ्न सक्छ,’ ती नेताले थपे।
बिहीबार मध्यरातिसम्म बसेको एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग अध्यक्ष ओलीको भनाभन परेको थियो। यो क्रम पोलिट्ब्युरोसम्मै सरेको छ।
Shares

प्रतिक्रिया