सामाजिक अभियन्ता ई:ले भदौ २४ गते तोडफोड र आगजनी रोक्नका लागि भिडिओ सन्देश जारी गर्न भनेर धेरै जनाले बिहान सबैरै हारगुहार गर्दा पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नमानेको आरोप लगाएका छन्।
अभियन्ता ई:ले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै त्यस दिन सबै ध्वस्त नहुँदासम्म एउटा सानो अपिल पनि किन आएन भनेर मेयर बालेनसँग प्रश्न गरेका छन्।
‘भदौ २४ गते सेप्टेम्बर ९ तारिखको दिन सबेरैदेखि सार्वजनिक, व्यावसायिक र व्यक्तिगत सम्पत्तिको दोहन रोक्न एउटा एक मिनेटको भिडिओ मात्र हाल्नु भनेर पहुँच भएका जति सबैले मुलुकको सर्वोच्च शक्तिशाली नेता तपाईँलाई त्यो दिन कति गुहारे गुहारे, तर मूर्ख अभिमानी प्रधानमन्त्रीको राजीनामा नआएसम्म जसरी सेनाको हेलिकप्टर बालुवाटार पुगेन, त्यसरी नै तपाईँको एउटा सामान्य अपिल पनि सबै सोत्तर नभएसम्म आएन। किन’, उनले लेखेका छन्, ‘यस्ता जवाफदेहिता, पारदर्शिता, वैचारिक र जिम्मेवारी अभाव देखिएका अनेक प्रसंग सर्वविदितै छन्।’
यस्तै ई:ले अहिलेसम्म मेयर बालेनले सहिद र घाइतेका परिवारसँग आँखामा आँखा जुधाएर हेर्न नसकेको आरोप लगाउँदै यसो हुनु बिनाकारण नभएको दाबी गरेका छन्।
उनले लेखेका छन्, ‘अहिलेसम्म सहिद र घाइते परिवारसँग आर्यघाटमा होस् वा अस्पतालमा आँखामा आँखा जुधाउने जुन साहसको अभाव तपाईंमा देखिएको छ, त्यो बिनाकारण होइन, नैतिकताको संकट हो भन्ने विषयमा तपाईँ स्वयंले आफूलाई ढाँट्न सक्नु हुँदैन होला।’
यस्तो छ अभियन्ता ई:को पूरा स्टाटस-
सबैजना एकै छातामुनि आउनैपर्छ भन्ने सोच एकतन्त्रीय हो। जलाउनुपर्छ, गाड्नुपर्छ, समाप्त पार्नुपर्छ भन्ने आवेगात्मक र संवाद, सहअस्तित्व, समावेश हुनुपर्छ भन्ने अहिंस्रक सोच समाजमा प्रवाह गर्ने मानिस वा समूह स्वाभाविक रूपले एक कित्तामा आउन सक्दैनन्। स्वतन्त्रता, उत्पादन, न्याय हेर्ने दृष्टिकोण फरक हुन सक्छन् र हुनु पनि पर्दछ। बालेनजी, तपाईँको/तपाईँ समर्थित नयाँ राजनीतिक दल जनजीविकासम्बन्धी र सैद्धान्तिक सवालमा कहाँ उभिन्छ भनेर हेर्न बाँकी नै छ। अनि राज्य-शक्तिको आफ्नै सान्दर्भिकता भए तापनि सबैजना सत्ताकै राजनीतिमा आउनुपर्छ भन्ने पनि छैन। लोकतन्त्रको सौन्दर्य नै वैचारिक र व्यावहारिक विविधता हो।
भदौ २४ गते, सेप्टेम्बर ९ तारिखको दिन सबेरैदेखि सार्वजनिक, व्यावसायिक, र व्यक्तिगत सम्पत्तिको दोहन रोक्न एउटा एक मिनेटको भिडिओ मात्र हाल्नु भनेर पहुँच भएका जति सबैले मुलुकको सर्वोच्च शक्तिशाली नेता तपाईँलाई त्यो दिन कति गुहारे गुहारे, तर मूर्ख अभिमानी प्रधानमन्त्रीको राजीनामा नआएसम्म जसरी सेनाको हेलिकप्टर बालुवाटार पुगेन, त्यसरी नै तपाईँको एउटा सामान्य अपिल पनि सबै सोत्तर नभएसम्म आएन। किन? यस्ता जवाफदेहिता, पारदर्शिता, वैचारिक र जिम्मेवारी अभाव देखिएका अनेक प्रसंग सर्वविदितै छन्।
त्यसबाहेक सडकमा पहिलोपटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुंगा बर्साउने जुन घृणित कार्य भयो, त्यसको समीक्षा भविष्यमा होला नै। महामेयर सडकमा थिएनन् तर उनका प्रतिनिधिले आन्दोलन कमान्ड गरिरहेका थिए। अवश्य यसमा उनको मात्र दोष छैन। अरू अनेक पक्षले पनि त्यस्तै गरे। तर जे भने पनि मूल दोष त सरकारकै, असान्दर्भिक भइसकेका राजनीतिक पात्रकै हो। सायद सर्वशक्तिमान कवि यो खेलमा एउटा प्यादा मात्र थिए। भूपिले लेखेका थिए नि- एक मनोरञ्जक खेलका सामाग्री।
यद्यपि अहिलेसम्म सहिद र घाइते परिवारसँग आर्यघाटमा होस् वा अस्पतालमा आँखामा आँखा जुधाउने जुन साहसको अभाव तपाईंमा देखिएको छ, त्यो बिनाकारण होइन, नैतिकताको संकट हो भन्ने विषयमा तपाईँ स्वयंले आफूलाई ढाँट्न सक्नु हुँदैन होला। वडाध्यक्ष होडा र मचाराजाले आज बैठकमा दमकल परिचालनबारे 'माथिबाट आदेश छैन' भनेर नगरप्रहरीले दिएको जवाफलगायत अन्य दुःखद् कैफियत औँल्याइहाले। अहिलेलाई सौहार्द र तपाईंको नेतृत्वमा भएको इम्प्रुभ्द डेलिभरीको कदर गर्दै यतिमै सीमित रहेँ। तर सत्य सधैँ ढाकेर ढाकिँदैन।
Shares

प्रतिक्रिया