राजनीति


शंकर पोखरेललाई ओमप्रकाश अर्यालको चेतावनी: यसरी तथ्यहीन कुरा नगर्नुस् है!

शंकर पोखरेललाई ओमप्रकाश अर्यालको चेतावनी: यसरी तथ्यहीन कुरा नगर्नुस् है!

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १९:२१, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हिंसा, तोडफोड र आगजनीमा संलग्नलाई प्रहरीले कारबाही गर्न खोज्दा रोकेको आरोप लगाएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले 'हावादारी' कुरा नगर्न चेतावनी दिएका छन्।

एमाले महासचिव पोखरेलले फेसबुकमार्फत काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले गृहमन्त्री प्रयोग गरेर विध्वंसमा संलग्नलाई कारबाही गर्न रोकाएको दाबी गरेपछि अर्यालले कमेन्ट लेखेका हुन्।

‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो।दोषी जोसुकै हुन्, कानुनअनुसार कारबाही हुनैपर्छ', महासचिव पोखरेलले लेखेका छन्, 'विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद छ। नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न देऊ। नेकपा एमालेको पूर्ण सहयोग रहनेछ।' 

जवाफमा गृहमन्त्री अर्यालले लेखेका छन्, ‘प्रिय शंकरजी, मेरो कर्तव्य पालनाको विषयमा तपाईं यसरी तथ्यहीन कुरा नगर्नुस् है। मैले सत्यतथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु, तपाईंलाई पनि भनिसकेको छु। अनि फेरि उही झुट किन दोहोर्‍याउनु हुन्छ? पार्टी महासचिवजस्तो जिम्मेवार व्यक्तिले सत्यतथ्य बुझीबुझी फेरि पनि यति धेरै हावादारी नबन्नुहोस्। समाजमा हावादारी/गफाडी भँडुवाहरूको कमी छैन, तपाईंजस्तो जिम्मेवार व्यक्ति किन थपिनुहुन्छ?' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad