राजनीति


पार्टीमा जेनजी–युवा नेतृत्वबारे यसो भन्छन् युवा क्लस्टरबाट चुनिएका एमालेका केन्द्रीय सदस्य

युवा क्लस्टरबाट चुनिएका १५ जना केन्द्रीय सदस्यमध्ये पाँच जनासँग नेपालखबरको वार्ता
पार्टीमा जेनजी–युवा नेतृत्वबारे यसो भन्छन् युवा क्लस्टरबाट चुनिएका एमालेका केन्द्रीय सदस्य

आयुषा ढकाल
पुस ७, २०८२ सोमबार १४:४४, काठमाडौँ

नेकपा एमालेले एघारौँ महाधिवेशनबाट केन्द्रीय समितिमा १५ जना युवा निर्वाचित गरायो। त्यसका लागि केन्द्रीय समितिमा ५ प्रतिशत क्लस्टर नै छुट्याएको थियो। 

जेनजी आन्दोलनपछि बदलिएको वातावरणमा युवाहरूको प्रतिनिधित्व बढाउनुपर्ने दबाब पार्टीहरूमा छ। सोहीकारण पहिलो पटक सो पार्टीले ४० वर्षमुनिका युवाका लागि क्लस्टर नै छुट्याएको हो।

सात प्रदेशबाट र उपत्यकाबाट एकएक जना गरी आठ जना र खुला कोटाबाट दुई, जनजाति–आदिवासीबाट दुई, मधेसी युवाबाट दुई, दलित युवाबाट एक जना गरी कुल १५ जना निर्वाचित भए। निर्वाचित हुनेहरूमा सुदूरपश्चिमका गोविन्द गिरी, कर्णालीका रुद्रबहादुर शाही, लुम्बिनीका लीलामणि गौतम (निर्विरोध), गण्डकीका नवराज ओझा, बागमतीकी निशा अधिकारी, मधेसका मोबिन आलम, कोसीका क्षितिज थेबे र राजधानीबाट सुनिता डंगोल छन्।

त्यसैगरी, आदिवासी जनजातिबाट मनोज ताम्ली र सम्राट गौचन, मधेसीबाट अमरकुमार यादव र रौनित साह (निर्विरोध), दलितबाट नीता घतानी र खुलाबाट नरेश रोकाया र सुशीलकुमार थापा (निर्विरोध) चुनिएका छन्।

यसरी चुनिएकामध्ये प्रतिनिधिमूलक पाँच जनासँग नेपालखबरले कुरा गरेको छ।

कान्छा केन्द्रीय सदस्य रौनितः म जन्मजात कम्युनिस्ट हुँ
रौनित साह युवा क्लस्टरका सबैभन्दा कान्छा केन्द्रीय सदस्य हुन्। उनी हाल २९ वर्षका भए। उनका बुवा नेकपा एमालेका नेता भएकाले साहले बाल्यकालदेखि नै एमालेका ठूला नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल लगायतसँग भेट्ने तथा कम्युनिस्ट विचार सुन्ने–बुझ्ने अवसर पाए। 

उनी भन्छन्, ‘म त जन्मजात नै कम्युनिस्ट हुँ।’

उनका बुवाले २०४४ सालमै नेकपा एमालेको सदस्यता प्राप्त गरेका थिए। साहका बुवा राजनारायण साह हाल सर्लाही एमालेका अध्यक्ष हुन्। उनले पार्टीमा ठूलो योगदान गरेको रौनित बताउँछन्। 

‘बुवाले सदरमुकाम मलंगवाको आफ्नो महँगो जग्गासमेत पार्टीलाई दिनुभएको छ,’ उनी भन्छन्।

काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट प्लस टु पूरा गरेपछि उच्च शिक्षा हासिल गर्न भारत गएका थिए रौनित। उनी भारतको बैंगलोरस्थित प्रेसिडेन्सी कलेजबाट बीबीए गरेर सन् २०१९ मा नेपाल फर्किएका हुन्।

रौनितले नेकपा एमालेको सदस्यता २०७२ सालमा प्राप्त गरेका थिए। तीन कार्यकाल जिल्ला सचिवालय सदस्यका रूपमा काम गरेको उनको भनाइ छ।

नेकपा एमालेको ११औँ महाधिवेशनमा सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि बनेर रौनित काठमाडौँ आएका थिए। उम्मेदवारी पनि दिए। तर, निर्वाचित हुन्छु भन्ने सोचेका थिएनन्।

‘मैले उम्मेदवारी दिएपछि मेरो विपक्षमा कोही थिएन, त्यसैले म निर्विरोध भएँ। अहिले केन्द्रीय सदस्य भएकोमा आफूलाई भाग्यशाली ठान्छु,’ रौनित भन्छन्।

बाल्यकालदेखि कम्युनिस्ट विचार सुनेको, १५ वर्षको उमेरदेखि पार्टीमा सक्रिय भएको र अहिले केन्द्रीय सदस्य बनेकोमा उनले खुसी व्यक्त गर्दै आगामी निर्वाचनमा युवाको प्रतिनिधित्व गर्दै चुनाव लड्ने इच्छा प्रकट गरे।

रौनित भन्छन्, ‘देशको राजनीतिमा युवाको खाँचो भएकाले युवा आउनैपर्छ। शिक्षित युवा राजनीतिमा आउँदा गुणस्तरीय राजनीति हुन्छ। आगामी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग देशमा युवाको आवश्यकता रहेको कुरा राख्छौँ।’

युवा क्लस्टर पार्टीले दिएको सम्मान हो : निशा अधिकारी
निशा अधिकारीले विसं २०६४ सालमा नेकपा एमालेको संगठित सदस्यका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्। २०६५ सालमा भरतपुरको मैयादेवी कन्या क्याम्पसमा अनेरास्ववियुकी सभापति बनेकी थिइन्।

नीति निर्माण र निर्णायक भूमिकामा युवालाई समान सहभागिता दिलाउने एमालेको सिद्धान्त र विचार मन परेकाले आफू विद्यार्थी जीवनदेखि पार्टीसँग प्रभावित भएको उनको भनाइ छ।

नारायणी अञ्चल इन्चार्ज, केन्द्रीय अनुशासन आयोग अध्यक्ष तथा केन्द्रीय उपाध्यक्षका रूपमा काम गरेपछि उनी अनेरास्ववियुबाट बिदा भएकी थिइन्।

उनी पार्टी संगठनतर्फबाट चितवन जिल्ला कमिटी सदस्य बनेकी थिइन्। अधिकारीले भरतपुर महानगर कमिटी उप–सचिव तथा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्यका रूपमा पनि काम गरिन्।

युवा, किसान र श्रमिकसँगसँगै उभिएर केरुंगा समूहिक खेतीमार्फत सामाजिक सेवासँगै उत्पादनमा आफू संलग्न भएको उनले नेपालखबरलाई बताइन्।

युवालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनी सुनाउँछिन्। 

हाल ३५ वर्ष पुगेकी उनी राजनीतिक यात्रा थालेको १८ वर्षपछि केन्द्रीय सदस्य बन्न सफल भएकी छन्।

युवा क्लस्टर पार्टीले आफूहरूलाई दिएको सम्मान भएको अधिकारीले बताइन्। 

उनी भन्छिन्, ‘यो पार्टीले हामीलाई दिएको सम्मान हो। यसलाई लिएर हामी जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ। म एउटा युवा महिला हुँ। देशमा युवाका धेरै समस्याहरू छन्। सीप, रोजगारी र युवा तथा महिला युवालाई एकसाथ जोड्ने विषयमा सरकारले पहल गर्नुपर्छ।’

अधिकारीले नीति, नेतृत्व र नेतृत्वको निर्णायक भूमिकामा युवाको सहभागिता हुनुपर्ने धारणा व्यक्त गरिन्।

गाँजा तालमा लेख्ने नहुँदैमा एमालेमा युवा छैनन् भन्न मिल्दैन : क्षितिज थेबे
ताप्लेजुङका क्षितिज थेबे बाल्यकालदेखि नै कम्युनिस्ट विचारबाट प्रभावित थिए।

गाउँ र पारिवारिक पृष्ठभूमि नै कम्युनिस्ट र एमालेमय भएकाले आफू यो पार्टीमा लागेको थेबेको भनाइ छ।

‘गाउँमा नेकपा एमालेले धेरै विकास गरेको हुनाले एमालेप्रति सधैँ सकारात्मक धारणा थियो। बुवा पनि नेकपा एमालेमा ताप्लेजुङमा हुनुहुन्थ्यो,’ उनले भने।

१७ वर्षको उमेरमा विद्यार्थी नेताका रूपमा राजनीतिमा प्रवेश गरेका क्षितिज हाल ३८ वर्षका भए।

क्षितिज २०६१ सालमा स्नातक तह अध्ययनका लागि अस्कल क्याम्पसमा भर्ना भएका थिए। बीएससी अध्ययनकै क्रममा उनी अनेरास्ववियुमा लागे। 

२०६६ देखि भने उनी राष्ट्रिय युवा संघमा छन्।

जेनजी आन्दोलनका कारण एमालेले युवा क्लस्टर ल्याएको भन्ने भनाइमा पनि थेबेको असहमती छ।

क्षितिज भन्छन्, ‘एमालेमा पहिलेदेखि नै वडा, गाउँपालिका, जिल्लास्तरमा युवाका लागि क्लस्टर बनाएर सक्रिय सहभागिता सुनिश्चित गरिएको थियो। हाम्रो एमाले पहिलेदेखि नै युवामय थियो र युवालाई क्रमिक रूपमा कोटा दिँदै अघि बढेको थियो। अहिले ११औँ महाधिवेशनमा मात्र युवाको उल्लेख्य संख्या आएको होइन, पहिलेदेखि नै थियो।’

देशप्रेमी, राष्ट्रभक्त, प्रगतिशील, लोकतन्त्रवादी तथा संविधानका रक्षक युवाहरू सबैभन्दा धेरै संख्यामा नेकपा एमालेमै रहेको र रहने विश्वास उनको छ।

‘हाम्रो पार्टीमा गाँजाको तालमा मात्तिएर लेख्ने वा मनपरी बोल्ने युवाहरू नभएकाले एमालेमा युवा छैनन् भन्ने बुझाइ बनेको हो,’ उनको तर्क छ।

अनेरास्ववियुको अध्यक्ष बन्न नपाएका नरेशले केन्द्रीय सदस्य हात पारे
नरेश रोकाया १३ वर्षका थिए, जब उनी विसं २०५६ मा बाजुराको बालविकास माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटीका सचिवका रूपमा संगठित भएका थिए। सुदूरपश्चिमको बाजुरामा जन्मिएका रोकाया पहिलेदेखि नै नेतृत्व लिने स्वभावका थिए। उनी २०६० सालमा अनेरास्ववियु बाजुरा जिल्ला सदस्य बने।

२०६२ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा नरेश अनेरास्ववियु सदस्य बने। त्यसको पाँच वर्षपछि २०६७ सालमा उनी अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने। २०७९ मा आइपुग्दा उनी अनेरास्ववियुको महासचिव बने। आकस्मिक उमेर हद लागेपछि अध्यक्ष बन्न भने पाएनन्।

नरेश आफ्नो २६ वर्ष लामो राजनीतिक यात्रापछि नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ३८ वर्षको उमेरमा निर्विरोध युवा क्लस्टरबाट केन्द्रीय सदस्य बने।

१८ वर्षमै गिरफ्तार भएका लीलामणि गौतम
युवा क्लस्टरमा केन्द्रीय सदस्यका रूपमा निर्विरोध चयन भएका अर्का व्यक्ति हुन् लीलामणि गौतम। रुकुमका गौतम हाल ३८ वर्षका भए। उनले २०५८ सालमा नेकपा एमालेको सदस्यता लिएका थिए। ग्रामीण विकास र जनप्रशासनमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक पनि गरेका छन्।

गौतम विसं २०५६ मा रुक्मिणि माध्यमिक विद्यालय, रुकुमकोटमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए। २०५८ सालमा अनेरास्ववियु जिल्ला कमिटी रुकुमका सदस्य बने। त्यसपछि दुई वर्षमै सदस्यबाट सचिव हुँदै अध्यक्षसम्मको यात्रा पूरा गरे।

गौतम २०६२/६३ को जनआन्दोलनमा महेन्द्र बहुमुखी क्याम्पस, दाङबाट संयुक्त विद्यार्थी मोर्चाका संयोजक पनि थिए। सो जनआन्दोलनमा उनी दामोदर चोक, घोराही (दाङ)बाट गिरफ्तार भई प्रहरी हिरासतमा बस्नुपरेको थियो।

लीलामणिले २०६४ देखि २०६७ सम्म अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा साविक राप्ती अञ्चल इन्चार्ज भएर काम गरे। २०६८ देखि २०७३ सम्म उनी रुकुम–काठमाडौँ सम्पर्क मञ्चमा सक्रिय रहे।

साविक रुकुम जिल्ला विभाजन भएपछि उनी रुकुम पूर्व जिल्ला कमिटी सदस्य बने। पार्टी एकताको समयमा रुकुम पूर्व जिल्ला कमिटी सदस्य रहेका गौतम नेकपा विभाजनपछि एमाले रुकुम पूर्व जिल्ला कमिटी सचिव तथा लुम्बिनी प्रदेश कमिटी सदस्य बने। 

गौतम २०८० चैत्रमा सम्पन्न एमाले रुकुम पूर्वको दसौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad